बागलुङ/गण्डकी प्रदेश सरकारले तयार गरेको युवा नीतिको मस्यौदामाथी सुझाव संकलन सुरु गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका सबै जिल्लामा पुगेर युवा तथा सरोकारवाला निकायका बीचमा अन्तरक्रियात्मक कार्यक्रम गर्दै युवा नीति तयार गर्नका लागि छलफल थालेको हो ।
मन्त्रालयले सोमबार बागलुङमा आयोजना गरेको कार्यक्रममा युवाहरुले देशमा उपलव्ध स्रोत साधनको प्रयोग गरेर उत्पादन र रोजागरीसँग जोडिने गरी युवाहरुको विकास गर्ने खालको नीति तयार हुनुपर्नेमा जोड दिए । ‘जल, जमिन र जंगलको प्रयोग गरेर उत्पादनसँग जोड्न युवाहरुलाई प्रेरित गर्ने खालको प्रदेशको नीति बन्न आवश्यक छ’ नेपाल बिद्यार्थी संघका नेता श्रीकृष्ण पौडेलले भने ‘हामीसँग स्रोत साधन प्रसस्त छन्, कानुनी अड्चनहरु देखाएर युवाहरुलाई प्रयोग गर्न दिईँदैन्, यस्तो व्यवस्थाको अन्त्य हुने युवा नीतिको खाँचो छ ।’
विकासमा युवा सहभागिता र राजनीतिमा युवाको नेतृत्व, विकास निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्ने खालको नीति आवश्यक रहेको युवाहरुले औंल्याए । युवाभन्दा बित्तिकै खेलकुदसँगै जोडेर आउने र खेलकुदकै गतिबिधि मात्रै देखाएर युवाको लागि राज्यको दायित्व पुरा भएको मान्ने व्यवस्थाको अन्त्य हुनुपर्नेमा युवाहरुको जोड थियो ।
‘वैज्ञानिक शिक्षामा युवाहरुलाई सहभागि बनाउने कार्यक्रम बन्ने खालको नीति आवश्यक छ’ अनेरास्ववियु क्रान्तिकारीका कार्यवहाक जिल्ला अध्यक्ष प्रबिण सापकोटाले भने ‘कला र युवाको बौद्धिकताको संरक्षण र प्रयोग अहिलेको आवश्यकता हो ।’ वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई देशमै उद्यम गर्ने वातावरण सिर्जनाका लागि सरकारी निकायका कार्यक्रम हुनुपर्नेमा युवाहरुको जोड थियो ।
‘शैक्षिक योग्यताका प्रमणपत्र राखेर ऋण दिने नीति ल्याएको सरकारले कार्यान्वयन गर्न नसक्दा युवा व्यवसायी मर्कामा छन्’ पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर बिक भन्छन् ‘नीति बनेर मात्रै भएन्, कार्यान्वयन हुने खालको नीति र त्यो नीतिमा टेकेर बनेका कार्यक्रम हुनुपर्यो ।’
युवाहरुका लागि आउने सरकारी कार्यक्रमको कार्यान्वयनका लागि युवाहरुकै सहभागिता रहेको सांगठनिक संरचना तयार गर्ने नीति, जेष्ठ नागरिक र बालबालिकाको संरक्षक युवा हुने नीति आवश्यक रहेको अन्तरक्रियामा सहभागिको जोड थियो ।
‘खेलकुदका कार्यक्रम युवासँग जोडिन्छन्, त्यहीं खेलकुदका लागि संरचना निर्माण कुरा लुकेर आउँछ’ बागलुङका युवा नारायण कार्कीले भने ‘सहासिक खेलमा युवाहरुको सहभागिता र त्यो सँग जोडिएको आर्थिक पाटोमा पनि नीतिमा केही उल्लेख होस् ।’
अन्तरक्रियामा मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले सबै जिल्लाबाट आएका सुझावका आधारमा गण्डकी प्रदेश सरकारको युवा नीति २०७९ तयार हुने बताए । उनले नीति नै पूर्ण कार्यक्रम नभएको भन्दै नीतिका आधारमा ऐन, कानून र कार्यक्रम तयार हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद गौतम, बागलुङ नगरपालिकाका शिक्षा अधिकारी धनप्रसाद पोखरेल, जिल्ला युवा समितिका संयोजक सुमन बोहरा लगायतले सुझाव राखेका थिए ।





