बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आवेगले निम्त्याएको क्रुर अपराध

आवेगले निम्त्याएको क्रुर अपराध

बालिकाको बिचल्ली


  • तारानाथ आचार्य
  • भाद्र ६ २०७९, सोमबार
आईतबार जिल्ला प्रहरी कार्यालय परिसरमा अभियुक्त कुमारी कामी र मनिषा बिकलाई सार्वजनिक गरिँदै ।

बागलुङ/ रोजगारीका लागि मलेसिया जान तयारी गरेका तुल बहादुर प्रवेशाज्ञा (भीसा) प्राप्त भएको खुसी बोकेर गाउँ फर्किए । गाउँमा रहेको परिवार, साथीभाई र इष्टमित्रलाई यो खुसीको खबर सुनाउन उनी आतुर थिए ।

साउन २५ गते दिउँसो काठमाडौंबाट बागलुङको निसीखोला गाउँपालिका–५ कामीडाँडा नपुग्दै उनले मलेसिया जाने कुरा परिवारलाई सुनाए । घरमा भएकी श्रीमती, छोरी र सालीलाई मात्रै यो खबर सुनाएर उनको मनले मानेनन् । साथीभाईलाई फोन गर्न थाले । बाबुआमा र परिवारका अरु सदस्य भने केही टाढा रहेकाले यो खबर भोलिपल्ट मात्रै जाने योजना थियो ।

समान्य परिवारका तुलबहादुर घर चलाउनकै लागि धेरै ठाउँमा काम गरिसकेका थिए । अब भने मलेसियमा लामो समय काम गरेर घरको समस्या समाधान गर्ने योजना थियो । नजिकै रहेको खाजा पसलमा साथीभाई जम्मा भएर मदिरासँगै खुसी साट्ने योजनामा थिए, तुलबहादुर ।

पहिले उनका साथी विक्रम पसलमा आइपुगे । त्यसपछि एकपछि अर्को गर्दै सात जना साथी जम्मा भए । साँझ अबेरसम्म सँगै मदिरा पिएका साथीभाई रमाइलो गफ गर्दै साँझ घर्किएपछि एकपछि अर्को गर्दै छुटे । अन्तिममा रहेका विक्रम र तुलबहादुर पनि भोलिपल्ट ढोरपाटनमा लाग्ने जनैपूर्णिमा मेला हेर्न सँगै जाने सल्लाह गरेर छुटे । खाजा पसलदेखि उत्तर घरतर्फ विक्रम लागे भने तुलबहादुर दक्षिणमा पर्ने घरतर्फ लागे । साथीसँग साँझको साढे ८ बजे छुटेका तुलबहादुर अब न मलेसिया जान पाउने छन् न ढोरपाटनको मेला हेर्न नै ।

यो साउन २५ गते रातको कुरा हो । मदिराले लठ्ठिएका तुलबहादुरले आफ्नै श्रीमतीको प्रहारबाट मृत्युवरण गर्नुप¥यो । घनले टाउको फुटाएर, खुकुरीले टाउको छेदन गरी बिछिप्त अवस्थामा । तुलबहादुर धेरै केटी साथीहरुसँग विभिन्न सामाजिक सञ्जालमार्फत् कुराकानी गर्ने गरेको तथ्य प्रहरीले फेला परेको छ । घरमा भएकी श्रीमतीलाई राम्रो व्यवहार नगर्ने, परस्त्रीसँग सम्बन्ध राख्ने समस्याका कारण परिवारमा सधैं झैझगडा हुन्थ्यो । त्यही झगडा मृत्युको कारण बनेको प्रहरी उपरीक्षक दयानीधि ज्ञवाली बताउँछन् ।

भदौ १ गते बिहान ११ः१५ बजेको समयमा निसीखोला–४ कालीमाटीस्थित निसीखोलाको किनारमा उनको शव भेटियो । निसीखोला–५ कामीडाँडा बस्ने अन्दाजी २५ वर्षका उनको शव टाउको नभएको अवस्थामा फेला परेको प्रहरी बताउँछ ।

साउन २५ गते घर छोडेर मदिरा पसल पुगेका तुलबहादुरको कसैले खोजी गरेको थिएनन् । न उनी हराएको खबर प्रहरीले पाएको थियो । उनको घरभन्दा सात किलोमिटर टाढा निसीखोलामा माछा मार्नेले शव देखेका थिए । शव भेटिएको केही समयमै उनको हातमा रहेको ट्याटु र अन्य अंगको पहिचान खुलेपछि तुलबहादुर हुन भन्ने खुल्यो । टाउको नभएको, उजुरी नरहेकाले पहिचान गर्न कठिन हुने निचोडमा रहेको प्रहरीले शवको पहिचान त ग¥यो तर घटनामा संलग्नको पहिचान गर्न भने ५२ घण्टा समय लाग्यो ।

प्रहरी उपरीक्षकसहित घटनाको अनुसन्धानमा लागेको प्रहरीले श्रीमतीले नै उनको हत्या गरेको निष्कर्ष निकालेको छ । उनकी २३ वर्षीया श्रीमती कुमारी कामी पक्राउ परेकी छन् । उनीसँगै हत्या हुँदाको
समयमा सोही घरमा रहेकी उनकी बहिनी मनिषा बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

‘मदिराले मातेर आएर छोरीलाई कुटपिट गर्ने, आफूलाई कुटपिट गर्ने गरेको अभियुक्तले बताएकी छन्’, ज्ञवाली भन्छन् ‘छोरी र बहिनीलाई घरको माथिल्लो तल्लामा राखेर, तल्लो तलामा सुतेका उनीहरु शारीरिक सम्पर्कपछि तुलबहादुर निदाए, शारीरिक सम्पर्कका बेला समेत अन्य महिलाको नाम लिएर बर्बराएपछि रिसले आगो भएकी उनले टाउकोमा घनले प्रहार गरी बेहोस बनाएको, त्यसपछि चिर्पटले हानेर हत्या गरेको बताएकी छन् ।’

प्रहरीका अनुसार मृत्युपछि कुमारीले आधा घाँटी रेटेको बताएकी छन् । घरदेखि ३० मिटरको दूरीमा रहेको निसीखोलामा शव बगाउन खोज्दा नबगेपछि बाँकी रहेको घाँटी समेत छिनाएको कुमारीले प्रहरीसँगको बयानमा भनेकी छन् । ‘विहे भएको सात वर्षसम्म हरेक दिन श्रीमतीलाई तनावमा राख्ने, सम्पर्क नगर्ने, अन्य महिलासँग हिँड्ने र खर्च समेत नदिने तर कुटपिट गर्ने गरेको उनले बयानमा बताएकी छन्’, प्रहरी प्रमुख ज्ञवाली भन्छन् ‘लामो समयको दमन क्षणिक आवेगमा आउँदा घटना घटेको देखिन्छ ।’

फोनमा भएको संवादको अनुसन्धान गर्ने क्रममा प्रहरीले श्रीमतीले हत्या गरेको आशंका गरेर खोजी सुरु गरेको थियो । अनुसन्धानकै क्रममा अभियुक्तको व्यवहार, उनले बताए अनुसार प्रयोग भएका हतियार र घटनाको प्रकृति हेरेर उनलाई पक्राउ गरेको ज्ञवालीले बताए । ‘घटना निकै गम्भीर थियो, हामीले निकै मेहेनतपछि शुन्यबाट सयको नजिक पुगेका छौं, यहाँ संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘श्रीमतीको प्रहारकै कारण मृत्यु भएको भए पनि शव व्यवस्थापनमा कसैको सहयोग रहे नरहेको विषयमा खोजी हुँदैछ ।’

बालिकाको बिचल्ली

उनीहरुकी दुई वर्षीया छोरी अहिले आमासँगै हिरासतमा छन् । परिवारका अन्य सदस्यसँग नबस्ने भएकाले नाबालिकालाई समेत प्रहरीले हिरासतमा राखेको छ । नेपालको कानून अनुसार उमेर नपुगेका बालबालिकालाई हिरासत वा कारागारमा राख्न पाइँदैन् । बाबुको मृत्यु र आमालाई हत्याको आरोप लागेपछि बालिकाको भविष्यको बिषयमा समेत चर्चा हुन थालेको छ । ‘बालिकाको विषयमा उपयुक्त व्यवस्थापन गर्नैपर्छ’, एक प्रहरी अधिकृतले भने ‘अनुसन्धान चलिरहेकै छ, निचोडमा पुगेपछि बालिकाको विषयमा पनि केही होला ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->