बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौँ : शिक्षामन्त्री पौडेल

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौँ : शिक्षामन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७९, मंगलबार

बागलुङ/शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथी उठेर सबै दल देशको विकासमा लाग्नुपर्ने बताएका छन् । आस्था र विचारको पछि लागेर मात्रै व्यवहारिक विकास नभएको र जनताले सुविधा नपाएको उनको भनाई थियो ।

उनले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापन लगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने बताए । समुदायको तत्परता बिना विकास निर्माण सम्भव नरहेको भन्दै मन्त्री पौडेलले त्यस्ता कामहरुमा राजनीतिक आस्था र विचारको पछि लाग्न नहुने टिप्पणी गरे ।

मन्त्री पौडेलको गृह नगर बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थानमा प्रथम हरेलो मेलाको उद्घाटन गर्दै कला, संकृतिको संरक्षण र पर्यटनको विकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले बलेवा क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्नु बताए । ‘बागलुङका मान्छेहरु मेहनती छन्, जहाँ पुगेका छन् त्यहाँ आफ्नै पौरखले प्रगति गरेको हामिले देखेका छौं’ पौडेलले भने ‘अब आफ्नै गाउँमा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकासका लागि पनि एक मन एकताका साथ लागौं ।’

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले धार्मिक पर्यटन र उत्पादनलाई सँगै लैजाने गरी नगरले काम गर्ने बताए । पूर्वाधार विकासका कामसँगै आर्थिक र सामाजिक विकासको क्षेत्रलाई पनि नगरपालिकाले साथै लैजाने उनको धारणा थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, बागलुङ नगरपालिका वडा नं. १० का अध्यक्ष तिल बहादुर थापा, १३ का अध्यक्ष नारायण शर्मा पौडेल, १४ का अध्यक्ष चक्रबहादुर खत्री लगायतले बोलेका थिए ।

मेलामा भजन प्रस्तुती, पञ्चेवाजा प्रस्तुती, तीजगीत, छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
मेलामा तारानाथ आचार्य, इश्वर सिंह लगायतका कलाकारले प्रस्तुती दिए । सोमबार र मंगलबार दुई दिन सञ्चालन भएको मेला सकिएको छ । स्थानीय झाँकी तथा स्थानीय उत्पादनको प्रदर्शनी मेलामा गरिएको थियो ।

कार्यक्रम मेला व्यवस्थापन समितिका अध्यक्ष कमल हमाल (राजु)को अध्यक्षता, बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष कोपिलामणी शर्माको स्वागत र सचिव भीमनाथ शर्मा, कलाकार तथा सञ्चारकर्मी कृष्ण अँखेलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्यांग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको छ ।

यो पर्वको अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दसैंको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणी शर्माले बताए । मंगलबार हजारौं भक्तजनले भैरवको दर्शन गरेका छन् । देशभरबाट भक्तजनको मेलामा उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->