बागलुङ/ स्थानीय तह गठनपछि विद्यालय क्षेत्र हेर्ने अधिकार पालिकामा गएको छ । महिला, बालबालिका र जेष्ठ नागरिकको अवस्था हेर्न महिला विकास शाखा पनि छ । तर पछिल्लो समय जतासुकै देखिएको बाल विवाहबारे तथ्यांक राख्ने निकाय भने भेटिएको छैन ।
दश वर्षअघिको जस्तो बालविवाह तुलनात्मक घटिरहेको छ । तर, कानूनले २० वर्षमुनि विवाह गर्न नपाउने प्रावधानले फेरि बालविवाह बढाएको छ । छिटफुट घटनामा उजुरी आएपनि समग्रतामा के कति बाल बिबाह भैरहेको छ भन्ने तथ्यांक कतै भेटिदैन ।
अभिभावक सचेत नभएको स्थानमा बालबिबाह बढी भएका छन् । घुम्ती बसाईँ भएका स्थानदेखि ग्रामीण बस्ती र शिक्षाको अवसर नपाएका स्थानमा बढी बालविवाह अझै देखिन्छ । आइतबार प्रहरीले सार्वजनिक गरेको एक हत्याको घटनाका मृतक र पक्राउ परेकी पत्नीको बिबाह भएको उमेरले पनि सानै उमेरमा विवाह भएको, बालबच्चा जन्मेको र विवाह गर्ने उमेर पुग्दा स्वार्थ र विचार नमिल्दा हत्या वा सम्बन्ध विच्छेद भएका घटना धेरै भएको प्रष्ट हुन्छ ।
बालविवाह बढी भएकोले केही स्थानमा सचेतना अभियान पनि चलेका छन् । तमानखोलाले कारवाही नै गरेपनि निमिठ्यान्न पार्न सकेन । ढोरपाटन नगरपालिका वडा नं. ७ ले तीन वर्षअघि नै बालविवाह गरेमा परिवारलाई समेत सेवा सुविधा नदिने निर्णय गरेको निवर्तमान अध्यक्ष नन्दे सुनारले बताए । वडाको निर्णयपछि अभिभावक केही सचेत बनेर सानो उमेरको बिबाह घटेको छ । तर, सोचेजति कम नभएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा बताउँछन् ।
‘विद्यालयमै धेरै बिबाहित बालबालिका देखिन्थे, अहिले छैनन्’, ज्ञानोदय माबि बोबाङका प्रअ यामबहादुर कायतले भने, ‘अहिले त एकादुइ मात्रै बिबाहित भेटिन्छन्, उनीहरु पनि खुलेर बिबाहित भन्न सक्दैनन् ।’ छिटफुट विवाह गरेकाहरुले पनि २० बर्ष काटेपछि मात्रै दर्ता गरेका छन् । उनले पुरानो चलन फेर्न धेरै मेहेनत गर्नुपरेको अनुभव सुनाए ।
मुलुकी देवानी तथा फौजदारी संहिता आएपछि २० वर्षे प्रावधान राखिँदा बालविवाहको तथ्यांक बढेको हो । तर, यकिन तथ्यांक राख्ने चलन भने हटेको हो । ‘हामीले समन्वयमात्रै गर्छांै, शिक्षा शाखाले खोजे पनि हुने हो’, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कुश्मराज उपाध्यायले भने, ‘महिला विकास शाखाले पनि खोजी गर्न सक्छ कि ?’ तर, महिला विकास शाखामा एकदुई जना मात्रै कर्मचारी हुँदा तोकिएका अन्य काम पनि नभ्याएको कर्मचारीले बताए ।
स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले सानो उमेरमा बिबाह गरेकाहरुमा पाठेघरको समस्या देखिएको बताइन् । ‘विभिन्न स्थानमा हामीले पाठेघरको क्यान्सर परीक्षण शिविर गर्दा समस्या भेटिनेमा बालविवाह गरेकाहरु पनि छन्’ शर्माले भनिन्, ‘बिवसित नभएको यौनांग र पाठेघरमा घाउ बन्दा क्यान्सरको समस्या भएको देखिन्छ ।’
तमानखोला–५ की त्रिसना सिर्पालीले केही समयदेखि बालविवाह घटेको बताइन् । स्नातक अध्ययनरत उनका धेरै साथीले एसइईको समयमा विवाह गरेका थिए । ‘अभिभावक सचेत भएको परिवारमा बिबाह भएको छैन, बाबुआमाले वास्ता नगर्दा छिटफुट विवाह भैरहेका छन्’, उनले भनिन्, ‘गाउँपालिकाले ल्याएको अभियानले पनि बालविवाह घटाउन सहयोग पुगेको हो ।’
जिल्ला अदालत बागलुङमा आएका मुद्दामध्ये ९ जना बालबालिका थुनुवा छन् । उनीहरुमध्ये अधिकांश बालविवाहकै हुन् । मुद्दामा जवरजस्ती करणी, अपहरण जस्ता विषय राखेर आएपनि सानो उमेरमा विवाह गरेकोले मुद्दा परेको देखिएको अधिवक्ता गीता श्रीषले बताइन् । ‘केही त घटना भएका होलान, तर सानो उमेरमा विवाह गरेपछि केटी पक्षले मुद्दा गरेको देखिन्छ’, श्रीषले भनिन्, ‘बालविवाह भनेर आउनुपर्ने मुद्दाहरु अपराध बनेर निस्केका छन् ।’
दलित समुदायको केटा र अन्य समुदायको केटीको विवाह भएमा बालविवाह र जवरजस्ती करणी जस्ता मुद्दा आउने गरेका हुन् । ती मुद्दामा १८ देखि २० वर्षका किशोर तथा युवा थुनामा परेका छन् । बालविवाहबारे पनि जिल्लामा यकिन तथ्यांक भने छैन ।





