बागलुङ/ १ लाख ५० हजार रुपैया मात्र बिनियोजन भएको अमलाचौर स्थित माझीगाउँ सिंचाइ कुलो तथा बाटो निर्माण योजनाको सम्झौता गर्न सदरमुकाम जानु परेको भए उपभोक्ताको हजारौं खर्च लाग्थ्यो ।
उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गएर बैंक खाता खोल्ने, योजना सम्झौता गर्न गाडि भाडानै महंगो पर्छ । योजना सम्झौता मात्र हैन, फरफारक गर्नपनि नगरपालिका नपुगी भएन । पटक पटक नगरपालिका धाउँदा योजनाको रकम खर्चने की आफ्नो ? आफ्नो बाट खर्चेर कति पुग्छ, उपभोत्ता समितिमा बस्ने पनि पाइदैन, योजनाकै रकम खर्च गरेर काम बन्दैन । यो समस्या ग्रामीण क्षेत्रका वडामा बढी छ ।
यस्तै समस्या बागलुङ नगरपालिका १२ अमलाचौरकी सरस्वती पौडेललाई पनि परेको थियो । माझीगाउँ सिंचाइ कुलो तथा बाटो निर्माण योजनाको उनी अध्यक्ष हुन् । सदरमुकाम गएर काम गर्दा समय, पैसाको खर्च, दुःख समेत हुन्थयो । अहिले भने उनलाई हाइ सन्चो भयो । बागलङ नगरपालिकाले वडामै योजना सम्झौताको शिविर संचालन गरिदियो । त्यो पनि भदौकै दिनमा । यस अघि मंसिर देखि चैत बैसाख सम्म उपभोक्ता समिति गठन गर्ने, योजनाको स्टिमेट गर्ने र सम्झौतामा जाने काम हुन्थयो । ढीला गरी काम गर्दा फरफारक समस्या पनि हुने गरेका थिए । गत असारमा पनि नगरपालिकाको डेढसय बढी योजना अन्तिम दिन चेक काट्न नसकेर फिर्ता भएका थिए । अत्यावस्यक योजना फिर्ता भएर जनताले दुःख समेत पाएका थिए ।
यो पटक भने असार मसान्तमा रातो किताब सार्वजनिक गरेको नगरपालिकाले केही वडामा योजना सम्झौता सकिसकेको छ । रायडाँडा र भकुण्डेमा एकीकृत सेवा सहितको शिविर ंचालन पछि अमलाचौरमा बुधवार शिविर गरिएको हो । बिहिवार पैयुपाटा र शुक्रवार नारायणस्थानमा पनि शिविर संचालन गर्ने नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘जनताको घरदैलोमा पुग्दा अन्य समस्या पनि बुझ्न पाइन्छ, योजना सम्झौतामा पनि उपभोक्तालाई राहत भयो’ श्रेष्ठले भने, ‘बजारका ४ वटा वडा बाहेक सबै वडामा पुगेर सेवा दिंदैछौं ।’ नगरपालिकाले संचालन गरेको शिविरमा बिकास निर्माणको योजना मात्र सम्झौता भएका छैनन् ।
यहाँ अपांगता भएकाहरुको परिचयपत्र बितरण, माटो परीक्षण, स्वास्थ्य परीक्षण, पाठेघरको समस्या भएकालाई उपचार सेवा, आँखा उपचार सेवा र बित्तिय साक्षरता मार्फत उपभोक्ता समितिका पदाधिकारीको खाता खोल्ने काम पनि भएको हो । बालमैत्री नगर बनाउने अभियानमा वडा भरका सबै प्रअलाई प्रशिक्षण र सरोकारवालाको अन्तरक्रिया पनि सम्पन्न भएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
शिविरमा ५ सय बढीले स्वास्थ्य परीक्षण सेवा पाएका थिए भने डेढ दर्जन योजना सम्झौता, २ दर्जनबढी अपांगता परिचयपत्र बितरण, ५० बढी किसानको माटो परीक्षण समेत भएको हो । ३५ जना महिलाले पाठेघरको परीक्षण गराएका थिए । गाउँमा योजना सम्झौता गर्दा खर्च र समयको बचत भएको स्थानीय बरडाँडा गणेश मन्दिर देखि छिपछिपे सडक योजनाका अध्यक्ष घनराज शर्माले बताए । उनले छिटै योजना सम्झौता गरेकोले समयमा काम गरेर सक्न लक्ष बनाएको समेत बताए । यो अभियानकालागि नगरपालिकाको योजना, कृषि, महिला तथा बालबालिका, स्वास्थ्य लगायतका शाखाबाट कर्मचारी गाउँम पुगेर योजना सम्झौतामा साथ दिएका छन् ।
बुधवार आयोजित योजना सम्झौता कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा लगायतले घुम्ती शिविर बारे जानकारी गराएका थिए । वडा अध्यक्ष कोपिलामणी शर्माको अध्यक्षता, योजना अधिकृत युक्तप्रसाद सुवेदीको संचालन र वडा सदस्य माया नेपालीको स्वगतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले अपांगता परिचयपत्र बितरण गरेर अभियान थालिएको बताएका थिए ।





