बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडाबासीलाई कार्यालय पुग्नै सास्ती

वडाबासीलाई कार्यालय पुग्नै सास्ती


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७९, शुक्रबार

बागलुङ/मतदान स्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका वडा नं.१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समय पछि बुधबार वडा कार्यालयमा पुगिन् । उनलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुईघण्टा समय लाग्यो ।

सवारीको प्रबन्ध नभएकाले उनी पैदलनै हिँडेर त्यहाँ पुगेकी थिईन् । उनीसँगै सोही गाउँका अन्य महिलाहरु पनि आयोजित एकीकृत शिविरमा वडा कार्यालय पुगेका थिए । वडा कार्यालय पुगेका टाकुरीबासीलाई वडाको मुकाम भन्दा नगरपालिकाको मुकाम नजिक पर्छ । बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भएकाले उनीहरु पालिका मुकाम ४५ मिनेटमानै पु्ग्छन् । तर सबै काम वडा कार्यालयसँग जोडिने भएकाले उकालो नहिँडेर सुख छैन् ।

साविक अमलाचौर गाउँबिकास समितिको वडा नं. २, ८ र ९ का गाउँहरुका लागि वडा कार्यालय अपायकमा पर्छ । अपायकमा वडा कार्यालय हुँदा आँफुहरुले सास्ती खेप्नुपरेको पौडेलले बताईन् । टाकुरी, सरंगे लगायतका गाउँकालागि वडा कार्यालयले सेवा केन्द्र सञ्चालन गरेरै भएपनि नजिकैबाट सेवा दिनुपर्ने उनीहरुको माग छ । ‘अहिलेको जमानामा पनि सजिलो सडक छैन्, पैदल हिँडेर यतीका लामो सयमा वडा कार्यालय पुगिन्छ’ पौडेल भन्छिन् ‘हामीलाई बरु वडा नं. १४ नजिक पर्छ, जैमिनी नगरपालिकाका वडा कार्यालयहरु भन्दा हाम्रो वडा कार्यालय पुग्न समय धेरै लाग्छ ।’

बागलुङ नगरपालिकाले आयोजना गरेको एकिकृत सेवा प्रवाह शिविरमा गाउँको योजना सम्झौताका लागि उनीहरु त्यहाँ पुगेका थिए । तर शिविरमा पुगेर योजना सम्झौता गर्दा भन्दा नगरपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्न सहज रहेको उनीहरुले बताए । ‘हामीलाई सेवा लिन सदरमुकाम पुग्न बरु सडक र सवारी दुवै हिसावले सहज छ’ सरंगेकी सरस्वती पौडेलले भनिन् ‘वडा कार्यालय नआई सिधै नगरपालिका गएर मात्रै काम बन्दैन्, हरेक काममा वडाको सिफारीस चाहिन्छ ।’

राज्यको पुनः संरचना गर्ने बेला भुगोलको अबस्था हेरेर पुन संरचना हुन नसकेका कारण टाकुरी र सरंगे लगायतका गाउँका सर्वसाधारणले दुःख पाउनु परेको स्थानीय यदुनाथ पौडेलले बताए । त्यहाँका सर्वसाधारणले वडा कार्यालय पुग्नकालागि सिधा सडक सञ्जाल सहज नभएकाले वडा नं. १३ को पैञ्युपाटा वा जैमिनी नगरपालिकाको कुश्मीशेराहुँदै घुम्नुपर्ने बाध्यता छ । घुमेरै वडा कार्यालय पुग्न समेत रिजर्भ नगरेसम्म सवारी नपाईने पौडेल बताउँछन् ।

स–साना सिफारीसका काम, योजनाका काम र वडास्तरमा हुने बिभिन्न शिवर तथा कार्यक्रमहरुमा सहभागी हुन समेत पछि पर्नु परेको महिलाहरुको गुनासो थियो । ‘आज नगरले शिविर चलाएको छ, कसैको स्वास्थ्य परीक्षण भएको छ, कसैले योजना सम्झौता गरेका छन्, तर हाम्रो गाउँबाट हामी बाहेक कोही आएनन्’ जुनादेवी भन्छिन् ‘एकसरो महिला यहाँ आए घर डुव्छ, घरैबसे यहाँ छुट्छ ।’

वडा कार्यालयले भने तत्कालै सेवा केन्द्र सञ्चालनको बिषयमा कुनै योजना नरहेको जनाएको छ । ‘उहाँहरुलाई अपायक भएको कुरा जायज हो, समस्याहरु धेरै छन्’ वडा अध्यक्ष कोपिलामणी शर्माले भने ‘म जनताको गुनासो कार्यपालिकामा राख्छु, अन्य वडाहरुमा पनि यस्ता समस्या छन्, सम्बोधन भयो भने निकै सजिलो हुन्छ ।’ आधारभुत तहको सेवाका लागि समेत घण्टौं लगाएर वडा कार्यालय पुग्नुपर्दा जेष्ठनागरिक र अपांगता भएकाहरु बढी प्रभावित हुने गरेका छन् । राज्य पुनसंरचनापछि अपायक क्षेत्रहरु जोडेर सहज बनाउने नीति भएपछि व्यवहारमा भने कार्यान्वयन भएको छैन । त्यसैले केही वडा टुक्राएपनि कतिपय स्थानमा अझै समस्या छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->