बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धानको गाँज मर्न थालेपछि किसानलाई चिन्ता

धानको गाँज मर्न थालेपछि किसानलाई चिन्ता

बालीहरुमा नाईट्रोजनको कमीले पनि बिरुवा मर्ने समस्या देखिने भएकाले समयमानै कृषि प्राबिधिकहरुको सल्लाहमा उपचार र निदान खोज्न कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले आग्रह गरे ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७९, शुक्रबार

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठ ताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकको भन्दा कम भएको व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।

उनले पहिले पहिले खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिंचाई नभएको ठाउँमा मात्रै होईन प्रसस्त सिंचाई भएको खेतमा समेत धानका गाँज मरेका छन् । मकै बालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हालेनन् । घरमै उत्पादन हुने प्राङ्गारिक मल र गोबर मलको भरमा उनले खेतबारीबाट राम्रै उत्पादन लिन्थे । पछिल्ला केही वर्ष यता बालीमा हुने संक्रमणका कारण पौडेल जस्तै गाउँभरिका किसान मर्कामा पर्ने गरेका छन् ।

अमलाचौरकै बाँसचौरका लिलाधर बिकको पनि समस्या उस्तै छ । घर नजिकैको करेसामा लगाएका तरकारीका बिरुवा समेत मर्न थालेकाले उनी पनि चिन्तित छन् । वर्षौंदेखी खेतबारीमा काम गरेका पौडेल र बिक जस्तै अमलाचौरका अधिकांश किसानले नत खेतीमा देखिएको रोग किराको संक्रमणको बिषयमा जानेकालाई बताए न त आफ्नो माटोको उर्वराशक्ति खोजे ।

तर हिउँदे र बर्षेबाली दुवैमा रोग किराको संक्रमण देखिन थालेपछि भने किसानहरु कृषि प्राबिधिकहरुको खोजी गर्न थालेका छन् । ‘खेतमा धान मरेको छ, बारीको कोदो पनि जोगिएन्’ पौडेल भन्छन् ‘किसानलाई हरेक हिसाबले मार परेको छ ।’ बाली पहेँलो हुने, सुक्ने र कुहिने गर्ने गरेको पौडेलले गुनासो गरे ।

बालीमा क्षति हुने देखेपछि अमलाचौरका अधिकांस किसानले आफ्नो खेतबारीको माटोको उत्पादन क्षमताको बिषयमा जानकारी लिएका छन् । तर माटोको उर्वराशक्ति भन्दा माटोको खनजोत र व्यवस्थापनले रोग किराको संक्रमण बढी हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

‘हिउँदमा लगाएको मकै बाली भित्राएपछि राम्रोसँग खनजोत गरेर माटो नसुकाउँदा मकैको डाँठहरुमा हुने किराहरु माटोमा लुकेर बसेका हुन्छन्, तीनै किराले धानबालीमा आक्रमण गर्दा गाँज मर्ने हुन्छ’ भट्टराई भन्छन् ‘पर्याप्त पानी नहुने, धमिरा, खुम्रे किराको आक्रमण लगायतका कारुणले पनि धान, मकै तथा कोदोबाली मर्ने समस्या आउने गरेको छ ।’

रोग किराको संक्रमणबाट बच्नका लागि बाली लगाउनुपूर्व साबधानी अपनाउने र रोग लागेपछि उपचार गर्ने गर्नुपर्ने भट्टराईले बताए । बालीहरुमा नाईट्रोजनको कमीले पनि बिरुवा मर्ने समस्या देखिने भएकाले समयमानै कृषि प्राबिधिकहरुको सल्लाहमा उपचार र निदान खोज्न भट्टराईले आग्रह गरे ।

माटोमा अम्लियपन

अमलाचारको अधिकांश खेतीयोग्य जमिनको माटो अम्लिय रहेको पाईएको छ । बागलुङ नगरपालिकाको कृषि शाखाले अमलाचौर नै पुगेर गरेको माटो परीक्षणमा अधिकांश माटोमा पिएचमान ६.५ देखिएको कृषि प्राबिधिक राहुल केसीले बताए । अमलाचौरको ३ सय ५० रोपनी क्षेत्रफलमध्ये ६७ वटा माटोको नमुना लिएर परीक्षण गरिएको थियो । ‘अधिकांश माटोमा अम्लियपन देखिएको छ, यो सुधार गर्न सकिने विषय हो’ केसीले भने ‘हामीले कृषि चुनको प्रयोगका लागि किसानलाई सुझाएका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->