बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

निगालोको कागियो बुन्दै ७३ बर्षिय वृद्व भन्छन्– ‘हामी मरेपछि सिप पनि मर्ने भयो’

निगालोको कागियो बुन्दै ७३ बर्षिय वृद्व भन्छन्– ‘हामी मरेपछि सिप पनि मर्ने भयो’


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७९, शुक्रबार

बागलुङ/ कुनै समय थियो, बालबालिका, युवा र बुढाबुढीलाई समेत जुम्राले सताउथ्यो । सजिलै लिखा जुम्रा निकाल्नकालागि बनाइने बासको कागियो लोप हुने अवस्थामा छ ।

चाहेर पनि पुराना मौलिक कलाका सामान किन्न समेत नपाइने अवस्थामा यहाँका एक वृद्धले भने पुरानो कला जोगाउने अभियानमा लागेका छन् । ताराखोला गाउँपालिका–५ घर भई बागलुङ नगरपालिका–१ मालढुंगामा बस्दै आएका ७३ वर्षिय कर्णबहादुर रोकाले बाँसको कागियो बनाएका हुन् ।

१८ बर्षदेखि मालढुंगामा बसेर बंगुरपालन गरेका रोकाले पछिल्लो तीन वर्षको दैनिकी भने कागियो बनाएर कटाएका छन् । गाउँबाट निगालो काटेर ल्याएपछि काटेर दिनभर कागियो बनाउने गर्छन् । बाबुबाजेले सिकाएको सीप उनले बिर्सेका छैनन् । यो काम गर्न कठिन छ । दिनभरी काम गर्दा २ देखि ३ वटा मात्रै बनाउन सकिन्छ । धेरै मेहेनत गरेर पनि बनाउन नसकिने सीप उनले धानेर बसेका हुन् । ‘काम गर्न धेरै गाह्रो, काम गरेर फाइदा छैन, तर बुढापाकाले खोज्छन् त्यसका लागि बुन्छु’ रोकाले भने, ‘पुरानो सीप सिक्ने कोही छैनन्, हामी मरेपछि सिप पनि मर्ने भयो ।’

एउटा कागियोको १ सय ५० रुपैयाँमा बेचेर उनले कमाई गर्न सकेका छैनन् । माग गर्नेलाई मात्र पु¥याउन सकेका उनले युवा पुस्ताले सिकेमा सीप हस्तान्तरण हुने बताए । उनको उत्पादन ग्रामीण क्षेत्रमा मात्रै बिक्री हुने गरेको हो । ‘आजकलका मानिसको जुम्रा लिखा पर्दैनन्, त्यसैले कांगियो खोज्दैनन्’ उनले भने, ‘सरसफाइले बढ्यो, पुरानो सीप हरायो ।’ नियमित उपयोगका लागि पनि उपयोगी हुने र आर्कषक हुने गरी रोकाले रंगीन कागियो बनाउन थालेका छन् । निगालो काटेर दाँती बनाएपछि रंगपानीमा पकाएर सुकाउँदा रंगिन कागियो बन्छ । ‘धेरैजसो रातो र पहेलो रंगमा बनाएको छु’ उनले भने, ‘आवस्यक पर्दा जुनसुकै रंगको पनि बनाउन सकिन्छ ।’ बजार क्षेत्रमा पनि केही सामान बिक्री भएको उनले बताए ।

पुरानो सामान संरक्षण गर्ने उद्देश्यले भएपनि केही कागियो किनेर राखेको बानपा–२ की सुनिता श्रेष्ठले बताइन् । ‘मैले त धेरै पहिलादेखि उहाँलाई चिनेको भएर किनेर राख्ने गरेकी छु’ उनले भनिन्, ‘यो मौलिक कला बचाएर राख्नु पर्छ, सबैले साथ दिनुपर्छ ।’ युवाहरुलाई यो सीप सिकाउनु पर्ने उनले सुझाइन् । बुढापाका मरेपछि सीप पनि मर्ने उनको चिन्ता थियो ।

यस्ता मौलिक कला र संस्कृती संरक्षणमा उद्योग बाणिज्य संघ, नगरपालिका र अन्य संस्थाले साथ दिनुपर्ने रोकाको भनाई छ । युवाहरु जम्मा गरेर तालिम दियो भने रोजगारीका लागि पनि कतिपय युवाले काम गर्न सक्ने उनको भनाई छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आगामी सिप विकासका काममा उहाँको सीपलाई उपयोग गर्ने बताए । ‘मौलिक कला संरक्षणमा हाम्रो चासो छ, युवामा सीप हस्तान्तान्तरण गर्ने अभियानमा हामीले पुराना विषय जोड्छौं’ खड्काले भने, ‘पुराना र ऐतिहासिक पात्र भेटिंदा नगरपालिका र जनप्रतिनिधिलाई सबैले जानकारी दिनुपर्छ ।’ मौलिक संस्कृतीकै लागि पुराना मठमन्दिरमा मेला आयोजना गर्नेदेखि पर्यटकीय क्षेत्रको संरक्षणमा पनि नगरले चासो बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->