बागलुङ/नक्कली कागजात बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेकै व्यक्तिलाई बागलुङ नगरपालिकाले कर्मचारीमा सिफारिस गरेको छ । बागलुङ नगरपालिकामा सञ्चालित सुरक्षित आप्रबासन परियोजना (आप्रबासी स्रोत केन्द्र) परामर्शकर्तामा नगरपालिकाले अख्तियारी दुरुपयोगको आरोप लागेका व्यक्तिलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
नगरपालिकाले वडा नं. ७ की निर्मला कुमारी शर्मा गौतमलाई परामर्शकर्तामा छनोट गरेको छ । यसअघि सेवा प्रदायक संस्था बिवाईसी बागलुङमार्फत सञ्चालन हुँदै आएको परियोजनामा गौतम सोही पदमा गत असार १ गते नियुक्त भएकी थिईन् । सोही समयमा नक्कली कागजात बनाई पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको थियो । असार मसान्तपछि नगरपालिका आँफैले परियोजना सञ्चालन गर्नेगरी सेवा प्रदायकसँगको सम्झौता रद्ध गरेको थियो ।
नगरपालिकाले सूचना प्रकाशन गरेर कर्मचारी मागेपछि गौतमले पुनः फाराम भरेकी थिईन् । गौतमले बिवाईसीमार्फत परियोजनामा काम गर्ने बेलामा नै बागलुङकै अर्को गैह्रसरकारी संस्था सिवाईसीमा काम गरेको नक्की अनुभवका प्रमाणपत्र बनाएको आरोप अख्तियारको छ । फेन्सी व्यवसाय गरेर बसेकी व्यवसायीलाई सिवाईसीमा सामाजिक परिचालकको रुपमा काम गरेको अनुभवका प्रमाणपत्र प्रमाणित गरि नियुक्त गरिएको भन्दै उजुरी परेको थियो ।
आयोगको गत साउन २६ गतेको बैठकले उनी बिरुद्धको उजुरीमा छानविन तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । तर भदौ ४ गते भएको छनोट परीक्षामा सहभागी बनाएर भदौ ९ गते नतिजा प्रकाशन गरी नगरपालिकाले गौतमलाई सिफारिस गरेको हो ।
उजुरीमा जिल्ला प्रशासन कार्यालय बागलुङमा अधिकृत तहमा कार्यरत उनका श्रीमान तेजप्रसाद गौतमले उनको उमेर घटाएर नागरिकता निकाली दिएको समेत उल्लेख गरिएको छ । गौतम पहिलो पटक छनोट भएको एक महिनामा नै बागलुङ नगरपालिकाले परियोजनाको अपनत्व ल्याउँदा कर्मचारीको अपनत्व भने अस्वीकार गरि पुनःविज्ञापन खुलाईएको थियो ।
बागलुङ नगरपालिकाले अपनत्व लिएपछि कार्यक्रम सांयोजक १, सामाजिक परिचालन अधिकृत १, आप्रवासी श्रोत केन्द्र परामर्शकर्ता २, मनोसामाजिक परामर्शकर्ता १, बित्तीय साक्षरताकर्ता १, रिटनिस स्वयमसेवक ३ जना कर्मचारी छनोट गरेको छ । त्यहिं क्रममा गौतम दोस्रो पटक छनोट भएकी थिईन् ।
कर्मचारी छनोटमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल विज्ञका रुपमा सहभागी भएका थिए । उनले अख्तियारमा उजुरी परेको भए पनि दोषी प्रमाणित नहुँदासम्म योग्य भए जागिर खान सक्ने बताए । उनले यस विषयमा छानबिन गर्नुपर्ने र दोषी प्रमाणित भए कार्वाही गर्ने बताए ।
बागलुङ नगरपालिकाले भने नक्कली कागजातको बिषयमा जानकारी नभएको जनाएको छ । ‘अख्तियारले छानविन गरेको बिषय पनि हामीलाई जानकारी छैन्, कागजातको बिषय पनि थाहा भएन्’ बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले भने ‘त्यसबारे हल्ला सुनेपनि प्रमाणित नहुँदासम्म हामीले केही गर्न मिल्ने कुरा भएन् ।’
गौतमले भने आँफुले सक्कलै कागजात पेश गरेको बताईन् । ‘म बाहिर छु, अहिले के के डकुमेण्ट पेश गरेँ भनेर हेर्नै पर्छ’ ढोरपाटनसँगको टेलिफोन संवादमा शर्माले भनिन् ‘नक्कली डकुमेण्ट पेश गरेको होईन् ।’





