बागलुङ/ बागलुङ नगरपालिकाले एक सय दिनमा गरेका कामका उपलव्धी सार्वजनिक गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरेर नगरपालिकाले पहिलो एक सय दिनका कार्यउपलव्धी सार्वजनिक गरेको हो ।
एक सय दिनमा सबैभन्दा धेरै पारदर्शीता र सुशासन प्रवद्र्धनका काम गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाका निर्णयहरु कानूनबमोजिम बेवसाइटडमार्फत् सार्वजनिक गर्नुलाई नगरपालिकाले पहिलो पारदर्शी काम भनेको छ । एक सय दिनको अवधिमा ८ पटक कार्यपालिका बैठक बसेको र ६४ वटा महत्वपूर्ण निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले संघीय सरकारका योजना समयमा काम थाल्न गरेको पहलदेखि उपभोक्ता समितिले गरेका मेलाहरुलाई समेत नगरको महत्वपूर्ण कामको रुपमा लिएको छ । सेवा प्रवाह शिविर सञ्चालन, वडा तहबाटै योजना अनुगमनलाई महत्वपूर्ण उपलव्धीको रुपमा लिइएको छ ।
नगरले नगरप्रमुखसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखहरुले उपलब्धी सूचकसहितको कार्यसम्पादन सम्झौता गरी कार्य सम्पादन गर्ने पद्धतिको सुरुवात गरिएको जनाएको छ । योजनाहरुको रातो किताब अघिल्लो आर्थिक वर्षमा नै तयार गरेर योजना कार्यान्वयनमा लाग्नु आफ्नो कार्यकालको पहिलो एक सय दिनको मत्वपूर्ण उपलव्धी भएको श्रेष्ठले जिकिर गरे ।
स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हाँसिल गर्ने उद्देश्यले २०७९ मंसिर मसान्तभित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरिएको नगरले जनाएको छ । ३२ बुँदामा समेटिएको कार्यउपलव्धीहरुमध्ये अधिकांश काम संघीय तथा प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा पहल तथा समन्वय गरेका विषय समेटिएका छन् । नगरले यो बीचमा २ वटा निर्देशिका, २ वटा कार्यविधि गरी जम्मा ४ वटा कानून निर्माण गरेको जनाएको छ ।
नगरप्रमुख श्रेष्ठले पदभार ग्रहणका बेला घोषणा गरेको बालमैत्री नगर घोषणा कार्यक्रम कार्यान्वयनका लागि भएका प्रयासलाई पनि उपलव्धी भनेको छ । अमलाचौर लिफ्टिङ खानेपानी योजनाको सेवा क्षेत्र वडा नं. ८, ९, १० र ११ समेतमा विस्तार गरी तत्काल कार्यान्वयनमा लैजान खानेपानी तथा ढल व्यवस्थापन विभागसंग अनुरोध गरेको बिषय उपलव्धीमा समावेश छ ।





