बागलुङ/ जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्यांक यस वर्ष घटेको हो । जिल्लाभर ७७ लाख ५६ हजार वार्षिक अण्डा उत्पादन भैरहेको तथ्यांक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्यांक गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो ।
उत्पादित अण्डाले जिल्लाभर रहेको जनसंख्यालाई भाग गर्दा प्रतिव्यक्ति वार्षिक दुई वटा अण्डा अझै अपुग रहेको केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए । विश्व खाद्य संगठनको मापदण्ड अनुसार एक जना व्यक्तिका लागि वार्षिक ४८ वटा अण्डाको आवश्यकता हुन्छ । तर बागलुङमा उत्पादित अण्डाले हरेक व्यक्तिलाई वार्षिक ४६ वटा मात्रै पुग्ने गरेको छ ।
बाहिरी जिल्लाबाट आउने अण्डासँग प्रतिस्पर्धा गर्न नसकेका कारण व्यवसायीहरुले अण्डा उत्पादन कम गरेका हुन् । दानाको मुल्यवृद्धि हुने र अण्डाको मुल्य घट्ने गरेका कारण घाटा सहन गर्न नसकेर अण्डाको उत्पादन कम गर्नुपरेको केसी एकीकृत पशु विकास विडर्स फार्म बागलुङका सञ्चालक खड्क बहादुर केसीले बताए । केसीले पाँच करोड लगानी गरेर पाँच वर्षदेखि अण्डा उत्पादन गर्दै आएका छन् ।
‘एकातिर ठुलो मात्रामा उत्पादन गर्ने तराईका कम्पनीहरुले बजारमा निकै सस्तो मुल्यमा अण्डा पठाउँदा हाम्रो अण्डाले बजार पाउँदैन्, अर्कोतर्फ उत्पादन लागत ह्वात्तै बढेको छ’ केसीले भने ‘उत्पादन लागत र बजार मुल्यकै कारण अण्डाको व्यवसाय गर्न नसकिने अवस्थामा पुग्यो ।’ उनले अहिलेकै अवस्था रहे अण्डाको उत्पादन घट्ने नभएर सुन्यमा पुग्ने चेतावनी समेत दिए । अण्डाको उत्पादन लागतका आधारमा आधार मुल्य तोक्ने र सोही अनुसारको बजार व्यवस्थापन नगरे व्यवसायी बिस्थापन हुने अवस्थामा पुग्ने उनले बताए । ‘दानाको मुल्य दुई हजार हुँदा एक पेटी अण्डको मुल्य २७ सयदेखि ३ हजार थियो’ केसी भन्छन् ‘अहिले दानाको मुल्य बढेर ३ हजार ७ सय पुग्यो अण्डाको मुल्य घटेर २ हजार ५ सय रुपैयाँ पेटीमा झरेको छ ।’
बागलुङमा उत्पादित अण्डा व्यवसायीले समान्य नाफा मात्रै लिँदा २ हजार ८ सय रुपैयाँ प्रतिपेटी पर्ने गरेको छभने बाहिरी जिल्लाबाट २ हजार ३ सयदेखि २ हजार ५ सय सम्ममा प्रतिपेटी अण्डा आयात हुने गरेको छ । जिल्लाभर घरायशी प्रयोजनका लागि उत्पादन हुने बाहेक ३० वटा मात्रै फार्मले अण्डाको उत्पादन गर्छन् । तीमध्ये अधिकांश फार्महरुले दैनिक एक हजारभन्दा कम अण्डा उत्पादन गर्ने गरेको तथ्यांक छ ।
‘पहिले एक हजारमाथि उत्पादन गर्ने किसानहरुले पनि पछिल्लो समय व्यवसायबाट हात झिके’ विज्ञ केन्द्रका प्राबिधिक अधिकृत केशव शर्माले भने ‘हामी आत्मानिर्भरको बाटोमा थियौं, तर बाहिरी बजारले हाम्रा किसानलाई किच्यो ।’ घरायसी प्रयोजनका लागि पालिने स्थानीय जातको कुखुराले वार्षिक ४० देखि ५० वटा मात्रै अण्डा दिने र व्यवसायिक रुपमा अण्डा उत्पादनका लागि पालिने कुखुरा कमी आएकाले आवश्यकता अनुसारको उत्पादन नभएको उनले बताए । सरकारले अण्डा उत्पादक किसानहरुलाई प्रोत्साहनका कार्यक्रम ल्याएको भएपनि अपर्याप्त रहेको किसानहरुको गुनासो छ ।





