बागलुङ/ बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरकी २४ बर्षिय सपना परियारले गाउँमा आएको टोलीमा परिचयपत्र बनाइन् ।
उमेर २४ भएपनि काखमा राख्नुपर्ने बाध्यता छ उनलाई । सानो शरीर, बहुअपांगता भएकोले उनको स्याारसुसार बाबुआमाले गरिदिनुपर्छ । वडा तहमै पुगेर अपांग परिचयपत्र वितरण गर्न आएको बागलुङ नगरपालिकाको टोलीले उनलाई रातो परिचयपत्र दियो । यो परिचयपत्र पाएपछि उनको परिवार खुसी भएको छ ।
२४ वर्षको भएपनि सात÷आठ वर्षको जस्तो देखिने परियारलाई आमा कुमारी परियारले वडा कार्यालय लगेर परिचय पत्र बनाइन् । बहुअपांग भएकोले उनले रातो परिचयपत्र बनाइन् । ‘बजार गएर परिचयपत्र बनाउन सकिएको थिएन, अहिले वडामा आएर पायौं’ कुमारीले भनिन्, ‘अब त छोरीको भत्ता पनि पाइन्छ ।’
जानकारी नभएका र आर्थिक अवस्था कमजोर भएकोले सदरमुकाम पुग्न नसक्दा परिचयपत्र नबनाएकालाई वडामै सेवा दिन पाएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘पीडितले वडामा सेवा पाउन सकुन भनेर वडा तहमा शिविर चलाएका हौं’ श्रेष्ठले भने, ‘उपभोक्ताले समयमा काम थाल्न वडामै योजना सम्झौता गरेका छौं ।’
अमलाचौरकै दुवै खुट्टा नचल्ने, खुट्टा घिसारेर हातको सहायताले हिंड्नुपर्ने ३० वर्षिय कुमारी बिकले पनि गाउँमा परिचयपत्र बनाउन पाइन् । अपांगता भएकै कारण घर छाडेर बाहिर जाने अवसर नपाएकाले नगरपालिकाको शिविरमा परिचयपत्र पाएका हुन् । अपांग भएकै कारण पढ्ने अवसर नपाएकाहरुलाई परिचयपत्र दिंदा अभिभावक पनि खुसी छन् । अर्काको सहायतामा बाँच्नुपरेपछि उनीहरुले चाहेर पनि पढ्ने र काम गर्ने संभव छैन । बाबु सखराम र आमा टिकाले स्याहारेर बाँचेकी कुमारीले परिचयपत्र पाएपछि सामाजिक सुरक्षा भत्तासमेत पाउने भएकी छिन् ।
२ छोरा र २ छोरीका अभिभावक सखरामले ज्यालामजदुरी गरेर कमाएको दुइचार पैसाले परिवार पाल्न बाध्य छन् । ‘जग्गा जमिन छैन, काम गरेकै भरमा परिवार पाल्नुपर्छ’ सखरामले भने, ‘कतै जानु परे छोरीलाई नाम्लो लगाएर लैजाने हो, हैरानी पनि छ, पीडा पनि छ ।’ उनले अहिलेसम्म छोरीको परिचयपत्र समेत बनाएका थिएनन् । शुरुवातमा परिचयपत्र बनाएर राज्यबाट सामाजिक सुरक्षा भत्ता पाइन्छ भन्ने समेत उनले थाहा पाएनन् ।
अहिलेसम्म नगरपालिकाले बलेवाका ३ र रायडाँडा तथा भकुण्डे गरी ५ वटा वडामा शिविर सम्पन्न गरिसकेको छ । उक्त शिविरबाट हरेक वडामा १७ देखि ३५ जनासम्म अपांग परिचयपत्र वितरण भएका छन् । नगरपालिकाले धौलागिरी अस्पतालका डाक्टर सहितको स्वास्थ्य शिविर पनि संचालन गरेको थियो । डाक्टरले गरेको स्वास्थ्य परीक्षणमा अपांगलाई ‘क’ वर्गको रातो, ‘ख’ वर्गको निलो सहितका परिचयपत्र दिन सकिएको महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताइन् ।
रातो परिचयपत्र पाएका अपांगले मासिक २ हजार भत्ता समेत पाउने व्यवस्था छ । आर्थिक अवस्था कमजोर भएकोले घरमा बसेर आयआर्जन गर्न सक्ने कुनै पेशा नभएका अपांगलाई उक्त रकम पनि महत्वपूर्ण भएको रेग्मीको भनाई छ ।





