बागलुङ/गण्डकी प्रदेश स्तरीय स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद औषधालयहरुको वार्षिक समीक्षा शुरु भएको छ । शुक्रबारदेखि बागलुङमा सुरु भएको समीक्षा शनिबारसम्म चल्नेछ ।
समीक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले स्वास्थ्य क्षेत्रमा सुधारको आवस्यकता रहेको बताइन् । उनले आम नागरिकले सहज स्वास्थ्य सेवा पाउनुपर्ने धारणा समेत राखिन् । ‘वर्तमान सरकारले जनताको स्वास्थ्य सेवा प्रभावकारी बनाउन लागिरहेको छ’ उनले भनिन्,,‘हरेक अस्पताल सुविधा सम्पन्न बन्नुपर्छ भन्ने मान्यता पनि छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्माले ग्रामीण क्षेत्रका जनताले समयमा उपचार पाउने व्यवस्था चाहिएको भन्दै ग्रामीण क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नु पर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा खड्काले गण्डकीको स्वास्थ्य अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । त्यसबाहेक हरेक जिल्लाको स्वास्थ्य र अस्पताल तथा आयुर्वेद औषधालयको प्रगती तथा तथ्यांकगत अवस्था प्रस्तुत गरिएको थियो ।
सो अवसरमा धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले धौलागिरि अस्पतालको प्रस्तुतीकरण गरेका थिए । अस्पताललाई ५० बेडबाट बढाएर २ सय बेड बनाउने अभियान चलिरहेपनि सी ब्लक भवन बनिनसक्दा समस्या भएको बताए । उनले दक्ष जनशक्तिसमेत अभाव भएको भन्दै भएको जनशक्तीले अपरेशनलगायत अंग प्रत्यारोपण सेवा दिएको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटा र धौलागिरि आर्युेवेद औषधालयका प्रमुख डा. सरोजकुमार रायसमेतले प्रस्तुतिकरण गरेका थिए । उनीहरुले सबै क्षेत्रमा जनशक्ति बढाएमा पूर्ण काम गर्न सक्ने धारणा राखे ।
अस्पतालमा बर्षमा ३१ हजारले सेवा लिएको तथ्यांक छ भने ओसिएमसीबाट हिंसा पीडित महिलाहरुले सेवा पाएको बताइएको थियो । औषधालयले पनि आफ्नै प्रयासमा आयुर्वेद औषधी उत्पादन गरेर बितरण गरेको बताइएको थियो । समीक्षाका लागि गण्डकी प्रदेशका सबै जिल्लाका स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु, अस्पतालका प्रतिनिधि तथा मन्त्रालयका पदाधिकारी, निर्देशनालयका चिकित्सक र पदाधिकारी सहभागी थिए ।
अधिकांस प्रस्तुतीकरणमा जिल्ला र प्रदेश तहबाट भएका स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रमबारे प्रस्तुत भएको थियो । महिला स्वास्थ्यको सुधारमा सबैले खेल्नुपर्ने भूमिकाबारे पनि सहभागीले छलफल गरेका थिए ।
जनस्वास्थ्यका लागि बालबालिकाको स्वास्थ्य, आमाको सुरक्षा, कोरोना लगायतका खोप व्यवस्थापन, महिला स्वास्थ्य स्वयंसेविकालाई दक्ष बनाएर अझै सशक्त बनाउनु पर्ने विषयमा पनि समीक्षा भएको थियो । आम नागरिकको स्वास्थ्य सुरक्षामा वडा र टोलदेखिनै गरिने सही तथ्यांक संकलन र समयमा उद्दारले जनस्वास्थ्य सुधार हुने सहभागिको निष्कर्ष थियो । त्यसका लागि सबैको साझा पहल आवश्यक भएको सहभागीले जोड दिए ।





