बागलुङ – नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बागलुङबाट चुनाव लड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिएको छ ।
बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा गण्डकी प्रदेश सचिवालय सदस्य राजिव घिमिरेले वताए ।
पार्टीको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ख को समन्वय समिति बुर्तिबाङ क्षेत्रको आइतवार वसेको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई निर्वाचन लड्न अनुरोध गर्ने सर्वसम्मत निर्णय भएको माओवादीका केन्द्रिय सदस्य कृष्ण केसीले वताए ।
‘हामीले प्रदेशको निर्वाचनमा धेरै ब्यक्तिहरुको वारेमा छलफल गर्यौ’, माओवादी जिल्ला संयोजक घिमिरेले भने, ‘प्रतिनिधीसभामा भने पार्टी अध्यक्ष प्रचण्डलाई निर्वाचन लड्नका लागि अनुरोध गर्ने निर्णय सर्वसम्मत भयो ।’
केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलावती शर्माको प्रमुख आतिथ्यमा पार्टीको बुर्तिबाङ क्षेत्रका संयोजक प्रेम घर्तिको अध्यक्षतामा आइतवार वसेको बैठकमा सर्वसम्मत निर्णय भएको हो । यो निर्णयलाई क्षेत्र, जिल्ला, प्रदेशमार्फत केन्द्रिय समितिमा पुराईने छ ।
प्रदेशको ‘ख’ क्षेत्रको समन्वय समितिबाट अध्यक्ष प्रचण्डलाई निर्वाचन क्षेत्र नं. २ बाट प्रतिस्पर्धा गर्न सुझाव आएको गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले वताए । उनका अनुसार पार्टीको सोमवार वस्ने गण्डकी प्रदेश कमिटीको बैठकले सवै उम्मेदवारको अन्तिम टुंगो लगाउने छ ।
शनिवार मात्रै नेपाली कांग्रेसले यस क्षेत्रबाट प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी आरजु राणा देउवालाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सिफारिश गरेको थियो ।





