शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

समाचार टिप्प्णी : ‘हेबीवेट’को हाउगुजी

समाचार टिप्प्णी : ‘हेबीवेट’को हाउगुजी


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७९, शुक्रबार

बागलुङ/ पछिल्लो समय ठूलो नेताको आर्शिवादबाट पदमा पुग्ने कार्यकर्तामा लहर चलेको छ । राजनीतिक रुपमा निष्ठा र त्याग गरेकालाई टिकट नदिने राजनीतिक दलको प्रवृत्तिले गुटबन्दी गर्ने र ठूला नेता समातेर जिल्ला, पालिका र वडा तहसम्म राजनीति गर्ने प्रवृत्ति फस्टाएको छ ।

आसन्न निर्वाचनमा पनि यो क्रम देखिने भएको छ । हेबीवेटका नेताको भजन गाउने, उनीहरुको नाम देखाएर आफ्नो क्षेत्र दलको पकडमा राख्ने तथा नेताको वारेस बसेर नजिक बन्न खोज्ने प्रवृत्ति मौलाएको छ । निर्वाचनका लागि उमेदवार छनौट गर्ने क्रममा बागलुङमा यस्तो चाकरी प्रथा बढी नै देखिएको हो । बिशेषगरी गठबन्धन दलबीच यस्तो रस्साकस्सी बढी छ । हेबीवेट नेता देखाएपछि आफ्नो दलले निर्वाचन क्षेत्र पाउँछ भन्ने समेत उनीहरुमा भ्रम छ । गठबन्धनमध्ये बागलुङमा कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी र नेकपा एसले संघ र प्रदेश क्षेत्रको उमेदवारी पाउन हेबीवेट देखाएका हुन् ।

यो मामिलामा राष्ट्रिय जनमोर्चा पहिलो नम्बरमा छ । ५ बर्ष अघिकै निर्वाचनमा बुढो भएँ भन्दै पछि सरेका चित्रबहादुर केसीले आफ्नै अध्यक्षताको बैठकले बागलुङ क्षेत्र नं. १ मा उमेदवार बन्ने निर्णय गरे । त्यसको पछि कांग्रेस देखिएको थियो । कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणालाई बागलुङ क्षेत्र नं. २ बाट पहिलो नम्बरमा उमेदवार सिफारिस गरेको थियो ।
प्रत्यक्षतर्फ १० जना उमेदवार आकांक्षीको नामाबली संकलन गर्दा राणालाई पहिलो नम्बरमा राखेर अरु नेता क्रमशः राखिएको थियो । पूर्व क्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले राणा सहितको नामाबली सिफारिस गरी पठाएको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

केसी यसअघि २०५४ र २०६४ सालमा प्रत्यक्ष र २०७० सालमा समानुपातिक सांसद बनेका थिए । २०७४ सालमा बुढो भएकोले उमेदवार नबन्ने भन्दै पछि सरेका केसी फेरी गठबन्धनबाट जित्ने निश्चित भएपछि उमेदवारको रुपमा अगाडि आएका हुन् । राजमोले केसीलाई अगाडि सार्दा बागलुङ क्षेत्र नं. १ सुरक्षित हुने दाउ रोजेको टिप्प्णी भएको छ । ‘बसाइ सरेर बुटवल गैसकेका छन्, अघिल्लो पटककै संसदीय निर्वाचन क्षेत्रको बजेट समेत उतै खर्चेका थिए’ कांग्रेसका एक नेताले भने, ‘अहिले गठबन्धनमा भाग खोज्न हेबीवेट देखाएर क्षेत्र कब्जा गर्न खोजिएको छ ।’ केसी अगाडि सरेपछि क्षेत्र नं. १ मा कांग्रेस पछि पर्ने संभावना छ ।

नेकपा माओवादीले क्षेत्र नं. २ मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम अगाडि सारेको छ । पार्टीको बैठकले दाहाललाई निर्वाचन लड्न निम्तो दिने निर्णय गरेको जिल्ला संयोजक राजिब घिमिरेले बताए । माओवादीले गत निर्वाचनमा एमालेको सहकार्यमा पार्टी सचिव देवेन्द्र पौडेललाई यो क्षेत्रबाट जिताएको थियो । शिक्षामन्त्री भैसकेका पौडेल फेरी पनि गठबन्धनको आडमा चुनाव जित्ने दाउमा छन् ।

माओवादीले पनि यो क्षेत्र आफ्नो दलका लागि सुनिश्चित बनाउन हेबीवेटको कार्ड प्रयोग गरेको कांग्रेस क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले बताए । ‘युवाहरु अगाडि बढाऔं, जनताको मतको कदर गरौं भन्ने हैन, हेबीवेट नेता देखाएर दलको कब्जामा राख्ने काम भयो’ शर्माले भने, ‘जुनसुकै दलका नेताको चाकरी गर्नेले यस्तो काम गरेका छन् ।’ राणाको नाम राख्ने कांग्रेस, केसीको नाम राख्ने राजमो वा दाहालको नाम राख्ने माओवादीमा चाकरी प्रथा बढी देखिएको उनले टिप्प्णी गरे ।

नेकपा एकीकृत समाजवादीले पनि बागलुङकै एक क्षेत्र दाबी गर्दै आएको छ । प्रतिनिधि सभा सदस्य पाएमा पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्मालाई उठाउने, प्रदेश पाएपनि नछाड्ने गरी तयारी गरेको एक नेताले बताए । २ वटा संघ र ४ प्रदेशमध्ये सबैभन्दा धेरै बाँडीचुँडी खाने बागलुङ बन्न लागेको भन्दै जनमतको कदर गर्ने काम नहुनु दुर्भाग्य हुने कांग्रेसका महाधिवेसन प्रतिनिधि डिल्लीराम सुवेदीले बताए ।
‘यो निर्वाचन मुख्य दलहरुका लागि अग्रगामी बन्ने की परम्पराबादी बन्ने संघारमा छ’ सुवेदीले भने, ‘यो पटक पनि युवा आउन सकेनन् भने अर्को निर्वाचनमा मुख्य दल भनेर मैदानमा जाने अवस्था समाप्त हुन्छ ।’ युवा र केही काम गरौं भन्नेलाई उमेदवार बनाउन छाडेर दलहरुले हेबीवेटको हाउगुजी देखाएको उनले टिप्प्णी गरे ।

एमालेले स्थानीय निर्वाचनमा असन्तुष्ट भएर कांग्रेसबाट प्रवेश गरेकी मञ्जु शर्मा चालिसेलाई क्षेत्र नं. २ बाट सिफारिस गरेको छ । क्षेत्र नं. १ मा भने पुरानै नेताहरु सिफारिसमा परेका छन् । हेबीवेटकै रुपमा देखिएका पोलिटव्युरो सदस्य लिलबहादुर थापा, गोबिन्द बहादुर नेपाली लगायतका दर्जन नेता भने समानुपातिकमा बसेका छन् ।

गत स्थानीय निर्वाचनमा दलबिरुद्ध स्वतन्त्र उमेदवार बनेकाहरुले जिल्लाका धेरै पालिका र वडामा निर्वाचन परिणाम ल्याउन कठिन भएको थियो । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसले ३५ हजार, एमालेले ३० हजार, राजमोले १५ हजार र माओवादीले १४ हजार मत पाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->