आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

अन्तर्राष्ट्रिय विमानस्थल बन्दैमा आउँदैनन् विदेशी पर्यटक

अन्तर्राष्ट्रिय विमानस्थल बन्दैमा आउँदैनन् विदेशी पर्यटक

‘विमानस्थल नचले लगानी पनि डुब्छ’


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७९, बुधबार

पोखरा/ गण्डकी प्रदेशका मन्त्रीहरुसहित सरकारी अधिकारी र पोखराका पर्यटन व्यवसायी मंगलबार लावालस्कर लगाएर विमानस्थल पुगे । हवाइजहाजमार्फत् पोखरा झरेका पर्यटकलाई उनीहरुले बाजा बजाएर स्वागत गरे ।

पर्यटकलाई स्वागत गर्न गएको जम्बो टोलीको तुलनामा पर्यटकको संख्या अत्यन्त न्युन थियो । उनीहरुले ३ जना विदेशी पर्यटकलाई मात्र स्वागत गर्न पाए । गण्डकीका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विमानस्थलमा ओर्लने वित्तिकै भारतीय पर्यटक भारती पाण्डे र स्पेनका पर्यटकद्धय इर्न अर्टिज रोवियो र जेन्से कार्कोसलाई स्वागत गर्न पाए ।

कोभिड–१९ अघिजस्तो नेपालमा नेपालमा पर्यटक अझै आएका छैनन् । नेपाली पर्यटन बजारमा सबैभन्दा उत्कृष्ठ सिजन सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मानिन्छ । यस सिजन पदयात्रा र हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ ।

कोभिड–१९ अघि नेपालमा आएका झण्डै १२ लाख पर्यटकमध्ये आधाजसो पोखरा आउँथे । अहिले नेपालमै पर्यटक कम आएको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लब पौडेलले बताए ।

‘पुरानो तरिकाले अब पर्यटन प्रवद्र्धन गर्न सकिँदैन, हामीले नयाँ प्रडक्ट दिन सक्नुपर्छ,’ पौडेलले भने, ‘सरकारले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नयाँ योजनासहित प्रवद्र्धन गर्न आवश्यक भइसकेको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पर्यटक सोझै पोखरा आउन सक्ने ढोका खुल्दैछ । आगामी जनवरी १ अर्थात पुक्ष्स १७ गते विमानस्थल संचालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ । विमास्थल संचालनमा आएपछि पर्यटकको आगमन बढ्ने भन्दै पोखराका व्यवसायी आशावादी छन् ।

तर, विमानस्थलको प्रवद्र्धनमा सरकारले अझै चासो दिएको छैन । अन्तर्राष्ट्रिय पर्यटन बजारमा सिधै पोखरा जान सकिन्छ भनेर जानकारी हुनुपर्ने पर्यटन व्यवसायी पौडेलले बताए । ‘हामी निजी क्षेत्रले पर्यटकीय पूर्वाधार बनाउने हो, सेवा दिने हो, हामीले त्यो काम गरिराखेका छौं,’ उनले भने, ‘एयरपोर्ट चलाउन सरकारले गर्नुपर्ने प्रवद्र्धन अझै गरेको छैन ।’

अन्तर्राष्ट्रिय विमानस्थल संचालन समितिका संयोजक विक्रम गौतमले विमानस्थल निर्माणका काम ९८ प्रतिशत पूरा भएको बताए । तोकिएकै मितिमा विमानस्थल संचालनम ल्याउन प्राधिकरण लागिपरेको भन्दै तीनै तहका सरकार र निजी क्षेत्रले विमानस्थलको प्रवद्र्धन गर्न सक्नुपर्ने उनको भनाइ छ ।

‘विमानस्थल बनेरमात्र पर्यटक आउँदैनन्, हामीले विमानस्थल बनाइसकेका छौं, छिट्टै संचालनमा आउँदैछ,’ उनले भने, ‘नियमित विमानस्थल चलाउन गण्डकीका पर्यटन विश्वबजारमा पुग्नुपर्छ, पर्यटक किन सोझै पोखरा आउने भनेर विश्वास दिलाउन सक्नुपर्छ ।’

विमानस्थल पूर्वका रिठ्ठेपानी डाँडाकटानको काम सुरु भइसकेको गौतमले बताए । यस्तै, पोखरा महानगरका मेयर धनराज आचार्यले विमानस्थल संचालनमा अवरोध पुग्ने ल्याण्डफिल साइट छिट्टै परिवर्तन गर्ने बताए ।

विमानस्थल संचालनमा आएपनि पर्याप्त यात्रु नभएसम्म एयरलायन्स कम्पनीहरुले उडान भर्न नसक्ने कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । बोर्ड अफ एयरलायन्स रिप्रिजेन्टेटिभ अफ नेपाल (बान) का उपाध्यक्ष भोलाविक्रम थापाले पनि सरकारले आवश्यक मात्रामा एयरपोर्टको प्रवद्र्धन गर्न नसकेको बताए ।

गण्डकी सरकार, पर्यटन बोर्ड र व्यवसायीले पोखरा विमानस्थलमा स्वागत गरेर विभिन्न एयरलायन्स कम्पनीका प्रतिनिधीलाई अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गराउन लगेका थिए । नेपालमा अहिले रहेका अन्य विमानस्थलभन्दा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उत्कृष्ठ बनेको एयरलायन्स कम्पनीका प्रतिनिधिहरुले बताएका छन् ।

विमानस्थल जति राम्रो भएपनि यात्रु नहुँदासम्म एयरलान्यस कम्पनीहरुले उडान भर्न नसक्ने बानका उपाध्यक्ष थापाले बताए । ‘एयरलायन्स कम्पनीहरुले व्यापार हेरेर उडान भर्छन्,’ उनले भने, ‘एयरपोर्ट बन्दैमा यात्रु भएनन् भने विमान चल्दैनन् ।’

भैरहवामा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलायन्सले मात्र अन्तर्राट्रिय उडान भरिराखेको छ । खाडी मुलुकमा जाने नेपाली कामदारलाई ल्याउने र लैजानेमा मात्र उक्त उडान सिमित छ । पोखरा विमानस्थलले भने पर्यटकलाई लक्षित गरेर प्रवद्र्धन गर्न सक्नुपर्ने उनले बताए ।

उनका अनुसार विदेशबाट अउने जहाज काठमाडौं आउन भन्दा पोखरा आउन महँगो पर्नेछ ।
‘काठमाडौंमा भन्दा महँगो टिकट काटेर पर्यटक किन पोखरा आउने भनेर सरकारले जवाफ दिन सक्नुपर्छ,’ उनले भने, ‘विमानस्थलको प्रवद्र्धन गर्न सरकारका विभिन्न निकाय र निजी क्षेत्र मिलेर प्रवद्र्धन नगरेसम्म अन्तर्राष्ट्रिय उडान गर्न गाह्रो छ ।’

पोखराले साहासिक पर्यटनलाई केन्द्रीत गरेर प्रवद्र्धन गर्न सक्ने उनको सुुझाव छ । ‘अन्नपूर्ण क्षेत्र पदयात्राका लागि चर्चित छ, यसलाई अब नयाँ तरिकाले अघि बढाउनुपर्छ’ उनले भने ।
चीन सरकारसँग २२ अर्ब रुपैया ऋण लिएर बनाएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनिया विदेशमन्त्री वाङ यीले गत चैत १२ गते नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । विमानस्थलमा आवश्यक संरचना तयार भइसकेका छन् भने उपकरण जडानको काम पनि सकिएको विमानस्थलले जनाएको छ ।

सरकारले रिठ्ेपानीडाँडा कटान र पोखरा महानगरले ल्याण्डफिल साइट सार्न ढिलाई गरेकाले विमानस्थल संचालनमा ढिलाई भइरहेको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

विमानस्थल संचालन हुन नसके सरकारले चीनसँग लिएको २२ अर्ब ऋणको बोझ थपिने भन्दै उनले अहिले पोखरा आइरहेका विदेशी पर्यटक विमानबाट आउने अवस्था निर्माण गर्न जरुरी भएको बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुँदा सिङ्गो गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान हुने बताए । उनले विमानस्थलसँगसँगै व्यवसायीले पोखरा र आसपासमा पर्यटन पूर्वाधारमा लगानी बढाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->