शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

राजनीति गर्ने थलो बन्दै बलेवा विमानस्थल

राजनीति गर्ने थलो बन्दै बलेवा विमानस्थल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७९, मंगलबार

बागलुङ/उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ बागलुङको बलेवा । २०४८ साल पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाण्डौ र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा बिमानस्थल देशभर बागलुङबासीलाई जोड्ने माध्याम थियो । २०४८ सालमा पोखरा बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएन् ।

३१ वर्षयता यहाँ रहेको बिमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगबिहिन बिमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरु भैरहे । तर बिमानस्थल न त उपयोग भएको छ न प्रयोग । बिमानस्थलको झन्डै ७ सय मिटर लामो धावनमार्ग पछिल्लो समय कालोपत्रे गरिएको छ । २४ मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमा छ ।

यो बिमानस्थलको धावनमार्ग ८ करोड बढी खर्चेर बनेको हो । निर्माणका बेला हतार हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन् । ‘हिजो गौचरण रहेको बिमानस्थल अहिले टल्किने भएको छ, अब जहाज चलाउनुपर्छ’ बागलुङ क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक भन्छन् ‘बिमान चल्न यात्रु चाहिन्छन्, सडक राम्रो नहुँदा यात्रुको समस्या भएको हो ।’ पाठकले कालीगण्डकी करिडोरको मालढुंगा बलेवा खण्ड कालोपत्रे हुँदा दक्षिण बागलुङमा सडकको सहजता र बिमानस्थल सञ्चालन एकैपटक हुने बताए ।

नागरिक उड्डयन प्राधिकरण, बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको बिमानस्थलको सदुपयोगबारे चासो राख्नुपर्ने स्थानीय बताउँछन् । प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले कालोपत्र पश्चात तत्कालै जहाज सञ्चालन गर्ने बताउँदै आएका थिए । तर, गत बैशाख जेठमै विमानस्थलको धावनमार्ग लगायतका संरचना तयार भएका भएपनि सहज सञ्चालनमा आउन सकेको छैन् ।

बिमानस्थलबाट जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । मालढुंगादेखि १० किमी दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन् । तर, तीन वर्षदेखि खसेको पहिरोले दुवै सडक अवरुद्ध बनाउने गरेको छ । वर्षाका ३ महिना सडक ठप्पप्रायः हुन्छ  । पहिरो पन्छाउने र सडक चलाउन नसक्दा यात्रीले पैदल हिँड्नुपर्ने बाध्यता छ । ‘बर्षाको समयमा सवारी चढेर सदरमुकाम पुग्नै कठिन छ, यहाँ जहाज चल्ने कुरामा कसरी विश्वास गरौं’ बलेवा पैञ्युपाटाका भवानी रिजालले भने ‘पहिले सडक मजबुद बनाउन लाग्नु पर्छ, जहाज नचलाएर त सुख होला र ?’ सडकको पहुँच नभएसम्म जहाज चलाएर पनि यात्री लैजान नसकिने नरहेको उनको भनाई छ ।

सरकारले मालढुंगादेखि बलेवासम्मको कालीगण्डकी करिडोरको १० किमी खण्ड कालोपत्रे गर्न ठेक्का लगाएको छ । तर, यो सडक कहिले कालोपत्रे बन्छ भन्ने यकिन छैन् । असोज १३ गते यो सडक कालोपत्रेका लागि ठेक्का खुलेको भएपनि प्रक्रियागत कामहरु बाँकी रहेको भन्दै करिडोर आयोजना कार्यालय पाल्पाले निर्माण व्यवसायीसँग चुनावपछि मात्रै सम्झौता गर्ने योजना बनाएको छ ।

‘दशैंमा खुलेको बागलुङ कुश्मीशेरा सडक तिहारमा खुल्छ की खुल्दैन थाहा छैन्’ जैमिनी नगरपालिका–४ सर्कुवाका तेजेन्द्र नेपाली भन्छन् ‘गाडीका पट्टा भाँचिने सडकहुँदै जहाज चड्न यात्रु जाँदैनन् ।’ काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी’ ले गत वर्ष ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रे गरेको हो ।

विमानस्थलमा ६ सय २० मिटर लामो पक्की नाली, १ हजार ५ सय मिटर लामो घेराबार र एउटा मुख्य तथा अर्को आपतकालीन गेट बनेको छ । मैदानको सबै भाग १ किमी दूरीको छ । तर हाल झन्डै ७ सय मिटर कालोपत्रे गरिएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->