
बागलुङ/ बडिगाड गाउँपालिका वडा नं. १ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छिन् । यो बर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना उनको छ ।
यहाँकैै गनबहादुर सुनारले ४ हलको मेलोमा मकै लगाउन थालेको बताए । मनकामना जातको मकैबाट यो बर्ष खान पुगेर तीनचार मुरी संकलन केन्द्रमा पठाउने लक्ष्य उनले बनाएका छन् । दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ बितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना सहकारीका अध्यक्ष भीमसेन वनले बताए ।
यसरी जोगाएको मकै गाउँमा बनेको भण्डारन केन्द्रमा संकलन गर्न थालिएको छ । भण्डारन केन्द्रमा राखेर बजार पठाउने गरी यो बर्ष यहाँ भवन बनेको छ । मकै बजारमा बीउको रुपमा बिक्री गर्ने लक्ष्यले भवन निर्माण बनाइएको हो । किसानले नगदै संकलन गरेर ६ लाख रुपैयाँ पु¥याएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३० लाख लगानी गरेको हो ।
स्थानीयले खोजेको २ रोपनी २ आना जमिनमा परियोजनाको ३० लाख बजेट बिनियोजन भएपछि भन्डारन केन्द्र बनाइएको वनले बताए । उक्त भण्डारन केन्द्रमा २२ टन मकैको बीउ सुरक्षित गर्न सकिने व्यवस्था छ । दगातुम्डाँडा कृषि सहकारी संस्थाका २ सय बढी किसानले व्यवसायिक रुपमा मकै खेती गर्दै आएका छन् । उनीहरुले सामुहिक भण्डारन गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताए । ‘भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले यो बर्ष मकै जोगिने भयो’ भुजेलले भने, ‘अर्को बर्ष दोब्बर उत्पादन समेत गर्ने योजना छ ।’ किसानले मनकामना ३ जातको मकै लगाएको उनले बताए ।
यो वडा समुन्द्री सतहदेखि १ हजार २ सयदेखि २ हजार मीटरसम्मको उचाइमा छ । त्यसैले मकैको उत्पादन अत्याधिक हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । भवनसंगै यहाँ कृषि उपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञानकेन्द्र र स्थानीयको श्रमदानसमेत गरी १५ लाखको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट स्थानीय रुपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा अर्डर अनुसार ढुवानी गरेर पठाउने योजना वनले सुनाए ।
उत्पादन बढाउन यो बर्षदेखि यहाँका किसानले देउती र सितला जातको मकै पनि ल्याएका छन् । दगा, तुम्डाँडा, गहते, सिमलचौर लगायतका बस्तीमा पनि मकै खेती बिस्तार गरिएको छ । गतबर्ष गलकोट नगरपालिकाले खरिद गर्न बिनियोजन गरेको बजेट बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण थालेका हुन् । ‘पाँचसय केजी मकैको बीउ खरिद गर्न नपाएर बजेट फ्रिज भयो’ कृषि शाखाकी प्रमुख रमा शर्माले भनिन्, ‘कृषि ज्ञान केन्द्रले पनि बीउ खोजेर पठाउन सकेन ।’ चालु बर्ष भने केन्द्रको अगुवाइमा बागलुङ नगरपालिका वडा न.ं ४ को कुँडुलेमा समेत बीउ उत्पादन शुरु भएको भट्टराइले बताए । ‘हामीले मकै पकेट बनाएर बीउका लागि नै छुट्टाएका छौं’ ज्ञान केन्द्र प्रमुख भट्टराइले भने, ‘अर्को बर्षदेखि अभाव हुन दिंदैनौं ।’ हाइब्रिड जातको लगाउने चलनले बीउ मासिन थालेको उनले बताए ।
ताराखोला गाउँपालिकाले पनि १२ लाख बजेट बिनियाजन गरेर मकै संरक्षणको अभियान थालेको छ । त्यसका लागि ग्रामीण बस्तीमा बचेखुचेका बीउ खरिद गरेर उत्पादन बढाउने लक्ष रहेको कृषि शाखाका प्रमुख कर्णखर भट्टराइले बताए । बागलुङमा २० हजार ५ सय हेक्टरमा मकै उत्पादन हुने गरेको छ । उक्त जमिमा उन्नत जातको लगाउन सकेमा ६५ हजार १ सय ६३ मेट्रिकटन उत्पादन हुन्छ । उत्पादन बढाउन अझै धेरै जमिनमा मकै लगाउनुपर्ने बालीबिकास अधिकृत दिनेश पाठकले सुझाए ।





