शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

धौलागिरी अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

धौलागिरी अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७९, शुक्रबार

बागलुङ/ एम्बुलेन्सको अभाव खेपिरहेको धौलागिरी अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियमा रहेका नेपालीहरुले स्वस्फुर्त संकलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो ।

फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहिबार धौलागिरी अस्पताल परिसरमा आईपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए । सुविधा सम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाई छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएको थियो ।

एम्बुलेन्स खरिदका लागि अस्पतालले ५८ लाख रुपैयाँ खर्चेको हो । अष्टे«लियमा रहेका नेपालीले ४८ लाख रुपैयाँ र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै ३२ लाख रुपैयाँ सहयोग गरेका थिए । एम्बुन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तरा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्था लगायतका सुविधा रहेको न्यूरेले बताए ।

‘अझै केही उपकरण थप्नुपर्ने छ, त्यसको लागि अस्पतालले आफ्नो स्रोत प्रयोग गर्छ’ न्यूरेले भने ‘हामीले तत्कालै सबै व्यवस्थापन गरेर सञ्चालनमा ल्याउँछौं ।’ यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गिकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो ।

बिरामीको चाप हुने अस्पतालले पोखरा काठमाण्डौँ लगायतका शहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो । ‘मार्सल जीपलाई एम्बुलेन्सको रुपमा सञ्चालन गरिएको थियो, एउटा मात्रै एम्बुलेन्स हुँदा अस्पतालले बिरामीलाई सुविधा दिन सकेको थिएन्’ न्यूरेले भने ‘अब सुविधा सम्पन्न एम्बुलेन्स अस्पतालले पाएको छ, यो सबैका लागि खुसीको कुरा हो ।’

एम्बुलेन्स खरिदका लागि गत बैशाख महिनामा नै टेण्डर गरिएको थियो । असारमा सम्झौता भएको भएपनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आर्थिक वर्षमा एम्बुलेन्स उपलव्ध गराएको थिएन् । कोरोना महामारीको समयमा एम्बुलेन्स खरिद प्रक्रिया थालेको अस्पतालले सरकारी मापण्डका कारण समयमा एम्बुलेन्स खरिद प्रक्रियाअघि बढाउन सकेको थिएन् । कहिले बजेटको अभाव त कहिले मापदण्ड अनुसारको खरिद प्रक्रिया नमिल्ने झण्झट व्यहोरेको अस्पतालले अन्ततः एम्बुलेन्स पाएको छ । पछिल्लो समय धौलागिरी अस्पतालमा सघन उपचार कक्षा, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->