
बागलुङ/ निर्वाचनको मुखैमा सडक विभागले यहाँस्थित सडक डिभिजन कार्यालय बागलुङले काम गर्दै आएको सडकको अख्तियारी खोसेको छ । विगत तीन बर्षदेखि काम गरिरहेको सडकको कामलाई विभागले हस्तक्षेप गरेको हो ।
बागलुङ डिभिजनले हेरिरहेको पर्वतको जलजला गाउँपालिका–२ को मल्लाजदेखि म्याग्दीको नागी पुग्ने सडक आयोजना फिर्ता गरेर पोखरा पु¥याइएको हो । चालु आर्थिक वर्षको अख्तियारी आएर कामको अनुगमन मूल्यांकन भैरहेकै बेला विभागले फिर्ता गर्दा काम गरिरहेका प्राविधिक, निर्माण कम्पनी र उपभोक्ता अन्यौलमा छन् ।
आयोजना स्थल बागलुङ सदरमुकामदेखि १५ किमी उत्तरमा पर्छ । उक्त स्थानदेखि म्याग्दी जोड्ने यो सडक डिभिजन कार्यालय बागलुङकै कार्यक्षेत्र हो । पोखरादेखि आयोजना स्थल आउनुपरेमा ९० किमी यात्रा तय गर्नुपर्ने हुन्छ । ४० करोड लागतको यो सडक चालु वर्ष स्तरोन्नती गर्ने कार्यक्रम थियो । यो सडक ग्राभेल गर्दा म्याग्दीको बेनीदेखि नागी पुग्ने अहिलेको सडकभन्दा एकडेढ घण्टा छोटो हुन्थ्यो ।
डिभिजन कार्यालयका एक इन्जिनियरले पर्वतका साना आयोजनाको काम आँफूले हेरिरहेको बताए । ठूलो आयोजना र धेरै उपभोक्ताको चासो भएको सडक आयोजना पोखरा पठाउँदा आफ्नो कार्यक्षमतालाई नजरअन्दाज गरिएको बताए । ‘हामीले काम गरिरहेका थियौं, अहिले पनि राम्रो प्रगती भएको छ, तर एकाएक हाम्रौ अधिकारक्षेत्रबाट हटाइयो’, ती इन्जिनियरले भने, ‘छानेर साना काम हामीले गर्नुपर्ने, ठूला काम पोखरालाई दिंदा बिभेद देखियो ।’
कास्की डिभिजनले हेर्दा सामान्य बाढी पहिरोले सडक अबरुद्ध भएमा पोखरादेखि आउनुपर्ने हुन्छ । त्यस्तो भएमा आफ्नो गाउँपालिका बढी मारमा पर्ने पर्वतको जलजला गाउँपालिकाका सदस्यको गुनासो थियो । आयोजना स्थलबाट ८० देखि ९० किमी परबाट मर्मत र नियमित अनुगमन पनि संभव नभएको उनले बताए । एक डिभिजनबाट अर्कोमा सरुवा भएर जाने अवस्था भएपनि ठूलो क्षेत्रमा बस्नेले माथिको सम्झने दब्बले यस्तो समस्या आएको उनले बताए ।
सडकले सबै आयोजनाहरु ठेकेदारमार्फत गर्ने भएकोले जनतालाई समस्या नपर्ने थापाको भनाई छ । ‘मर्मत संभारको हकमा आवस्यक बजेट र उपकरण तथा जनशक्तीको व्यवस्थापन नजिककै डिभिजनबाट हुन्छ’ थापाले भने, ‘कतिपय आयोजना विभागले आफ्नो मातहतमा राखेर पनि काम गरेको छ ।’ राष्ट्रिय गौरवको आयोजना भए छुट्टै परियोजना मार्फत काम हुने उनको भनाइ छ । नियमित मर्मतका लागि डिभिजनले चिन्ता लिन नपर्ने उनले बताए ।





