शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सिक्लेसी ‘चिबा’को सिंहदरबार यात्रा

सिक्लेसी ‘चिबा’को सिंहदरबार यात्रा


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७९, शनिबार

पोखरा/ कास्कीको उत्तरपूवी गाउँ सिक्लेसका बासिन्दाहरु आफूलाई देशकै ठूलो गुरुङ गाउँको बासिन्दा भएको जिकिर गर्छन् । झण्डै ७ सय घरधुरी रहेको सुन्दर सिक्लेसमा बाक्लो गुरुङ बस्ती छ । र, त्यो गाउँका मुखिया हुन्, मनबहादुर गुरुङ । देशमा ‘मुखिया प्रथा’ छैन तर सिक्लेसीले लोकतन्त्रपछि पनि मनबहादुरलाई ‘चिबा’अर्थात् मुखियाको पगडी गुथाइदिए ।

तत्कालीन पार्चे गाविसको अध्यक्षदेखि अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सिक्लेसमा उनले लामो समयसम्म संरक्षण क्षेत्र व्यवस्थापन समितिको अध्यक्षको भूमिका निभाएका ‘चिबा’लाई २०७४ सालको चुनावमा उनकै क्षेत्रबाट प्रदेशसभाको टिकट दिइयो । एमालेबाट कास्की क्षेत्र नम्बर १ को ‘ख’मा उम्मेदवार बनेका मनबहादुरले नेपाली कांग्रेसका सभापति कृष्ण केसीलाई ४ हजार १४७ मतले पराजित गरे । मनबहादुरले १७ हजार २४९ मत ल्याउँदा कृष्णले १३ हजार १०२ मत ल्याएका थिए ।

प्रदेश सांसदको रुपमा उनी कास्कीको उत्तरपूर्वी क्षेत्रको विकासका एजेण्डा उठाउँथे । संसद नहुँदा गाउँ पुग्थे र स्थानीयका समस्याहरुको सुनुवाइ गर्थे । एमालेको दशौं महाधिवेशनमा उनी अध्यक्षका प्रत्यासी बने । देशैभर सर्वसम्मत नेतृत्व चयन हुँदा कास्की एमाले चुनावमा गएको थियो । एमाले कास्कीका नेता खगराज अधिकारी समूहको आड पाएका अर्का नेता दामोदर पौडेल ‘बैरागी’ मैदानमा थिए । तर,एमाले नेता तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समूहका मनबहादुरले बाजी मारे ।

उनी अध्यक्ष चुनिए । स्थानीय चुनावमा मनबहादुर पोखराको मेयरका आकांक्षी थिए । तर, उनलाई टिकट दिइएन । उनै मनबहादुरलाई यो आमनिर्वाचनमा भने संघीय सांसद बन्ने अवसर प्राप्त भयो । कास्की क्षेत्र नम्बर १ बाट सांसद रहेका खगराज अधिकारीले प्रदेशसभा रोजेपछि मनबहादुरले सहजै टिकट पाएका थिए । २ हजार ५१९ मतले ५ दलीय गबठन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई पराजित गर्दै उनले सिंहदरबार यात्रा तय गरे ।

मनबहादुरले २५ हजार ७०८ र किशोरदत्तले २३ हजार १८९ मत प्राप्त गरे । संयोग कस्तो भने, एमाले कास्कीको दशौं महाधिवेशनमा मनबहादुरले जो सँग प्रतिस्पर्धा गरे, अहिले उनी पनि कास्की क्षेत्र नम्बर ३ बाट विजयी बनेर सिंहदरबार यात्राका सहयात्री बनेका छन् । स्थानीयस्तरम भिजेका मनबहादुरलाई राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका प्रदर्शन गर्ने अवसर मिलेको छ । यो अवसरलाई कसरी उपयोग गर्छन्, त्यसले नै उनको बाँकी राजनीतिक यात्रा तय गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->