पोखरा/ २०७४ सालमा झण्डै १४ हजारको मतान्तरले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गर्दै संसद छिरेका खगराज अधिकारीलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाएनन् । स्वास्थ्यमन्त्री भइसकेका अधिकारी एमाले संसदीय दलको प्रमुख सचेतकमा चित्त बुझाउन बाध्य बने ।
तर, प्रधानमन्त्री ओलीले दोस्रोपटकको संसद विघटनपछि २०७८ जेठ २७ गते ‘प्यारा’ अधिकारीलाई गृहमन्त्री बनाए । ओलीसँगै जेल जीवन बिताएका अधिकारी सर्वोच्चको आदेशपछि १३ दिनमै पदबाट हट्न बाध्य भए । उनका शुभेच्छुकहरुले धक फुकाएर ‘पूर्वगृहमन्त्री’को संवोधन गर्न पाएनन् । पूर्वस्वास्थ्यमन्त्रीमै चित्त बुझाउन बाध्य बने ।
खासमा, खगराज २०७४ सालमा संघीय संसद हैन, गण्डकी प्रदेशसभा झर्न चाहन्थे । उनले पत्रकार सम्मेलनमार्फत् आफू गण्डकीको मुख्यमन्त्री बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । तर, उनको चाहना पूरा भएन । उनलाई कास्की क्षेत्र नम्बर १ बाट संघीय सांसदको उम्मेदवार बनाइयो ।
२०७९ को चुनावमा भने उनले सोचेजस्तै भयो । प्रदेशको मुख्यमन्त्री हुने लक्ष्यसहित लमजुङको ‘ख’ बाट उम्मेदवारी दिन चाहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संघतर्फ पठाइयो । यता, खगराज कास्की क्षेत्र नम्बर १ को ‘क’ बाट उम्मेदवार बने । खगराजले प्रतिस्पर्धी माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९९६ को फराकिलो मतान्तरले पराजित गर्दै प्रदेशसभाको यात्रा तय गरेका छन् । खगराजले १५हजार ६२३ मत ल्याउँदा दीपकले ११ हजार ६२७ मत ल्याएका छन् ।
अधिकारी गण्डकी प्रदेशसभामा एमाले संसदीय दलको नेता बन्ने पक्कापक्की छ । तर, मुख्यमन्त्री नै बन्ने उनको ‘धोको’मा संसदीय अंकगणित बाधक देखिएको छ । ६० सदस्यीय गण्डकी संसदको लागि हालसम्म सार्वजनिक भएको परिणाम अनुसार प्रत्यक्षतर्फ कांग्रेसले १६ सिट जितेको छ । एमालेको भागमा १२, माओवादी ४ र नेपाल समाजवादी पार्टी अनि स्वतन्त्रले १–१ सिट जितेका छन् । स्याङ्जा २ मा मतगणना हुन सकेको छैन । समानुपातिकमा एमाले अगाडि छ तर एक्लै सरकार बनाउन सम्भव छैन ।
अहिलेको ५ दलीय गठबन्धन टुटेमामात्र उनी मुख्यमन्त्री बन्ने ढोका खुल्नेछ । तर, २०४८ सालको निर्वाचनदेखि हालसम्म ३ पटक जित र त्यति नै पटक हार व्यहोरेका एमाले संगठन विभाग प्रमुख खगराज गण्डकी प्रदेशसभाको आकर्षणको केन्द्र बन्नेमा भने द्धिविधा छैन । २०७० सालमा भने उनले टिकट नै पाएका थिएनन् ।





