शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पद्म नर्सिङ कलेजका शिक्षकले तलब नपाउँदा विद्यार्थीको भविश्य अनिश्चित

पद्म नर्सिङ कलेजका शिक्षकले तलब नपाउँदा विद्यार्थीको भविश्य अनिश्चित


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७९, शनिबार

पोखरा/पोखरास्थित पद्म नर्सिङ होम स्कुल अफ नर्सिङका शिक्षक र कर्मचारीले तलब नपाउँदा विद्यार्थीको पढाइ पनि अनिश्चित बनेको छ । कलेका प्रशासक भोविन्द्र गिरीका अनुसार कर्मचारी र शिक्षकले २० महिनायता तलब पाएका छैनन् । जसका कारण कलेजमा पढाई हुन सकेको छैन भने विद्यार्थीले फर्म समेत भर्न पाएका छैनन् ।

पोखराको पद्या नर्सिङ अस्पतालसँग मिलेर खुलेको नर्सिङ कलेजमा ३० जना विद्यार्थी अध्यनरत छन् । विद्यार्थीले अध्ययन शुल्क वार्षिक १ लाख ४५ हजार रुपैया बुझाइसकेका छन् । कलेजमा अध्यनरत एक विद्यार्थीले शुल्क बुझाउन एक दिन ढिला हुँदा कलेजले ५०० रुपैया जरिवानासमेत लिएको थियो ।

कलेजले विद्यार्थीसँग शौक्षिक वर्षको सुरुमै शुल्क लिए पनि भदौयता राम्ररी पढाइ हुन नसकेको उनीहरुले बताएका छन् । अहिले तेस्रो बर्षमा अध्यनरत उनीहरुको कोर्स पूरा भएको छैन भने प्रयोगात्मक अभ्यास पनि बाँकी रहेको बताएका छन् ।

शिक्षकले तलब नपाएकै कारण कोर्स र प्रयोगात्मक अभ्यास हुन नसकेको प्रशासक गिरीले बताए । विद्यार्थीले भर्नुपर्ने परिक्षा फर्मसमेत यही कारण भर्न सकेका छैनन् । शिक्षकले आन्तरिक मुल्याङ्कनबाट विद्यार्थीलाई दिनुपर्ने अंक नदिएका कारण विद्यार्थीले अनलाइन फर्म भर्न नपाएको गिरीले बताए ।

‘शिक्षकले अंक नदिँदा हामीले फर्मसमेत भर्न पाएनौं,’ एक विद्यार्थीले भनिन्, ‘नर्सिङ कलेजले हाम्रो भविश्य नै अनिश्चित पारिदियो ।’
पोखराको न्युरोडबाट पद्या नर्सिङ होम अस्पताल नदिपुर सरेपछि कलेजले तीन बर्षयता नयाँ विद्यार्थी भर्नासमेत लिन पाएका छैनन् । नर्सिङ कलेज चलाउन आवश्यक १०० शैय्या नहुनु लगायत मापदण्ड पूरा नभएका कारण कलेजले नयाँ विद्यार्थी भर्ना गर्न नपाएका हुन् । अस्पतालका डाक्टर र संचालकवीच विवाद बढेपछि त्यसको असर नर्सिङ कलेजमा पनि परेको केही संचालकहरुले बताएका छन् । अस्पतालका संचालकसँग शेयरका विषयमा विवाद भएपछि डाक्टरहरुको समुहले न्यूरोडमै २५ शैयाको पद्म श्री अस्पताल संचालन गरेका छन् ।

पद्म नर्सिङ होमसँग मिलेर नर्सिङ कलेज संचालन गरिरहेका संचालकहरुवीच पनि अहिले विवाद बढेको जनाएको छ । अस्पतालले नर्सिङ कलेज आफैले चलाउने बताएका छन् भने नर्सिङ कलेजका संचालकहरुले आफ्नो लगानी फिर्ता पाउनुपर्ने माग राखेको अस्पतालका एक कर्मचारीले जानकारी दिए । उक्त विवादले पनि नर्सिङ कलेज संचालनमा समस्या परेको ती कर्मचारीको दाबी छ ।
नर्सिङ कलेजमा हाल अध्यन गरिरहेका विद्यार्थीसमेत अन्य कलेजको प्रवेश परिक्षा पास भएका विद्यार्थी हुन् । अन्य कलेजमा नाम निकाले पनि भर्ना हुन नसकेका विद्यार्थी पद्या नर्सिङ होम स्कुल अफ नर्सिङले भर्ना गरेका थिए । २ वर्षयता प्राविधिक तथा व्यवसायिक तालिम केन्द्र र नेपाल नर्सिङ काउन्सिलले उक्त कलेजमा यसरी विद्यार्थी भर्ना गर्न नदिएको प्रशासक गिरीले बताए ।

यता, पद्या नर्सिङ होम अस्पतालका प्रवन्ध निर्देशक नरेन्द्र बास्तोलाले शिक्षक र कर्मचारीले २० तलब नपाएको कुरा १ महिनाअघि मात्र थाहा पाएको बताए । नर्सिङ कलेजले आम्दानी र खर्चका विवरण ४ वर्षदेखि अस्पताललाई नबुझाएको भन्दै उनले हिसाब शिक्षक र कर्मचारीले तलब नपाएको विवरण मागेको जानकारी दिए ।

‘हामीले ४ बर्षदेखि नर्सिङ कलेजको आम्दानी र खर्च विवरण पाएका छैनौं,’ उनले भने ‘तलब नपाएको विवरण बुझाउन भनेका छौं, त्यो आएपछि हामी शिक्षक र कर्मचारीका तलब भुक्तानी प्रक्रिया थाल्छौं ।’
नर्सिङ कलेजका अध्यक्ष रोषबहादुर गुरुङ र प्रिन्सिपल इन्दु थापासँग कलेजका आम्दानी, खर्च लगायतका विवरण मागेको निर्देशक बास्तोलाले बताए । कलेजका अध्यक्ष र प्रिन्सिपलले विद्यार्थीलाई वार्षिक शुल्कसमेत व्यक्तिगत खातामा जम्मा गर्न लगाएको उनले बताए । कलेजको आम्दानी व्यक्तिगत खातामा राखेर शिक्षक र कर्मचारीलाई तलब नदिएको विषयमा खोजविन भइरहेको उनको भनाई छ ।

नर्सिङ कलेज अस्पताल मातहत आइसकेको दाबी गर्दै बास्तोलाले विद्यार्थीको पढाई सुचारु गर्न, शिक्षक र कर्मचारीलाई तलब खुवाउन आफुले प्राथमिकता दिएको बताए । ‘एक साताभित्र कर्मचारीलाई तलब दिन सुरु गर्छौ, पहिलो प्राथमिकता पढाई हुनुपर्छ,’ उनले भने, ‘नर्सिङ कलेजको सम्पूर्ण विवरण अस्पताललाई हस्तान्तरण हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->