पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ तर्फको गणना चल्दै थियो । एमालेको तर्फबाट गण्डकी प्रदेशसभाका निवर्तमान सांसद राजीव पहारी र भर्खरै जागिरे जीवनबाट अवकाश लिएका कांग्रेसका प्रकाश बराल मैदानमा थिए । युवा संघका केन्द्र्रीय अध्यक्ष भइसकेका राजीवले अग्रता लिँदै थिए । गठबन्धनको तर्फबाट संघीय सांसदको उम्मेदवार बनेका माओवादी केन्द्रका रामजीप्रसाद बरालको स्थिति झन नाजुक थियो । एकपछि अर्को गर्दै एमालेका उम्मेदवारहर विजयी बनिरहँदा कास्कीबाट प्रकाश पनि बढारिने आशंकालाई बल पु¥याउन राजीवको अग्रता नै काफी थियो । एमालेको गढ मानिएको पोखराको वडा नम्बर ५ र आफ्नै वडाबाट राजीवले झन ठूलो अग्रता लिने अनुमान थियो ।
ती वडामा राजीवले अग्रता त लिए तर सोचेजस्तो मत आएन । लगत्तै फेवाताल पारि अर्थात् प्रकाशको जन्मथलोको गणना सुरु भयो । अनि त के थियो ! प्रकाशलाई भोट बर्सन थाल्यो । गाउँलेले प्रकाशलाई २ हजार ८१४ मत खन्याइदिएका रहेछन् भने राजीवको पक्षमा १ हजार १११ मत खसेको रहेछ । राप्रपालाई १८३ मत जाँदा त्यहाँ खसेका १३९ मत बदर भयो । पछाडि परेका प्रकाशले एकाएक अग्रता लिए ।
त्यही अग्रताका बलमा उनी राजीवलाई ४ सय ६५ मतले पछि पारे र गण्डकी प्रदेशसभा यात्रा तय गरे । २८ हजार ७८९ मत खसेको सो क्षेत्रमा प्रकाशले १२ हजार ३६७ राजीवले ११ हजार ९०२ मत ल्याए ।
सांसद भइसकेका राजीवको पराजयका अनेकौं कारण होलान् । आफ्नैमाथि अन्तरघात र असहयोगका आरोपहरु लाग्लान् तर प्रकाशको विजयको कारण प्रष्ट छ,उनलाई गाउँलले माया र भरोशा गरे । प्रकाशको वडा कांग्रेसको ‘गढ’ पनि हैन । कांग्रेसका पुराना नेता मिनबहादुर गुरुङ तथा त्यागी नेता खेमराज पौडेलको जन्मथलो भए पनि गएका दुई स्थानीय चुनावमा त्यहाँ काग्रेसले जितेन ।
२०७४ सालको स्थानीय चुनावमा एमालेका मित्रलाल बरालले बाजी मारे । कांग्रेसका उम्मेदवार अशोक गुरुङ झिनो मतले पराजित भए । अशोकको पराजयमा कांग्रेसबाटै घात भएको आरोप चाहिँ लागेको थियो । २०७९ को चुनावमा त्यहाँ स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी बने । हिमलाललाई कांग्रेस र माओवादीको समर्थन थियो । हिमलालले १ हजार ८७२ मत पाउँदा एमालेका प्रकाशचन्द्र गुरुङले १ हजार ७५२ मत ल्याएका थिए ।
चुनावअघिसम्म प्रकाश खेलकुदका हाकिमको परिचय बोकेर हिँड्थे । कांग्रेस भएकै कारण जागिर खोसुवामा परेका उनी मुद्दा लडेर पुनर्वहाली भएका थिए । २६ वर्ष नायवसुब्बाको जागिर खाने उपक्रममै उनले कांग्रेस पुम्दीभुम्दी गाउँ समितिको सचिव,कांग्रेसको १२ र १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिसँगै क्षेत्रीय सचिव एवं १४ औं अधिवेशनपछि कांग्रेस गण्डकीको कार्यालय सचिवको जिम्मेवारी लिइसकेका थिए । मावली पर्वत ग्यादीको पूणेश्वर माविमा पढ्दै नेपाल विद्यार्थी संघमा लागेका उनी पोखराको जनप्रिय क्याम्पस इकाइ सभापति र नेवि संघ कास्की कोषाध्यक्षजस्ता पदमा रहँदै गर्दा उनले कांग्रेसको आँत र कमजोरी छामेका थिए । चुनावको उपक्रममा उनले कांग्रेसको कमजोरीलाई सक्दो टाले । आफू–आफूबीचको मनोमालिन्यलाई मिलाए ।
तीनतिर फर्केको कांग्रेससँग प्रदेशमा अर्को विकल्प थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीको हावा त्यहाँ चल्ने कुरै रहेन । युवा र मिलनसार हुनु उनको अर्को विशेषता थियो । भनिन्छ,‘कर्मचारीले मान्छे चिनेको हुन्छ,राजनीतिक आस्था र विचार बुझेको हुन्छ ।’ उनको हकमा ठ्याक्कै त्यही लागू भयो । बोल्न जानेका राजीवलाई उनले नबालेरै पाखा लगाए । भनिन्छ,‘प्रकाशले छिटो अवसर पाए ।’ देखिन्छ पनि त्यस्तै । मै हुँ भन्ने दावेदारको बीचबाट टिकट पाउनुमा कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा र नयाँ अनुहार खोजिरहेका महामन्त्री गगन थापाको भूमिका त होला तर राजीवलाई हराएपछि उनी आफैं शक्तिकेन्द्र बनेर उदाएका छन् । बाँकी त कर्ममा भर पर्ने न हो !





