पोखरा/ एकमात्र प्रतिनिधिसभा निर्वाचन रहेको लमजुङमा गठबन्धन र एमाले दुवैका हेभिवेट उम्मेदवार मैदानमा थिए । एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई मैदानमा उतारेको थियो भने प्रतिस्पर्धामा थिए माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ । देवलाई कांग्रेससहितका गठबन्धनका दलको साथ थियो । एक्लो एमालेलाई गठबन्धनका उम्मेदवार हाबी थिए ।
तर, जसै चुनावी अभियान सुरु भयो, देवलाई टुरिष्ट उम्मेदवारको ट्याग लाग्यो । मनाङ छाडेर लमजुङ आएको भन्ने आरोप लाग्यो । चुनावमा विपक्षीले आरोप लगाउनु स्वभाविक नै भएतापनि ०७४ मा नै देव लमजुङबाटै प्रतिनिधिसभामा विजयी भएका थिए । अहिलेका प्रतिस्पर्धी पृथ्वीसुब्बा नै त्यतिबेला वाम गठबन्धनका देवलाई जिताउन लागेका थिए ।
त्यतिबेलाको गठबन्धन भत्कियो । वाम गठबन्धन लोकतान्त्रिक वाम गठबन्धन बन्न पुग्यो । त्यो गठबन्धनसँग एमालेको भन्दा बढी मत थियो । त्यैपनि परिणाम देवको पक्षमा आएन । गोरखाबाट उनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतान्तरले चुनाव जित्दा प्रचण्डपछिको कार्यकारी भूमिका रहेका देव चाहिँ पराजित हुन पुगे । उता बागलुङबाट माओवादीका सचिव देवेन्द्र पौडेल विजयी बने । कास्की ३ मा माओवादी केन्द्रीय सदस्य रामजीप्रसाद बराल जीवन पराजित बने ।
०७४ मा बाम गठबन्धनबाट प्रतिनिधिसभामा तीन सिट सुरक्षित गरेको माओवादीले यो गठबन्धनबाट चाहिँ चार सिट पाएकोमा आधामात्र जित्न सक्यो । ०७४ मा माओवादीबाट हार्ने उमेदवार गोरखा २ मा नारायणकाजी श्रेष्ठमात्रै थिए । यसपटक भने माओवादीले थप एक सिट गुमाउँदै दुई सिटमा सुरक्षित हुन पुग्यो ।
गठबन्धनले सबैभन्दा ठूलो धक्का भने एमालेलाई लागेको छ । ०७४ मा गण्डकीका १८ मध्ये १४ सिट लिएर बाम गठबन्धनबाट चुनावमा होमिएको एमालेले १३ सिट जितेको थियो । नवलपुर १ मा कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले एमालेका भविश्वर पराजुलीलाई हराएर गण्डकीमा नै कांग्रेसको साख जोगाएका थिए ।
यसपटक भने गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवारी दिएको एमालेले १७ सिटको मतपरिणाम आउँदा पाँच सिटमा खुम्चिएको छ । अघिल्लोपटक मुस्ताङ, म्याग्दी, बागलुङ जितेको एमालेले यसपटक त्यहाँ आफ्नो सिट गुमायो । कास्कीमा भने ०७४ मा झैँ प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा एमाले सफल रह्यो । त्यसबाहेक पर्वत र लमजुङमा एमालेले थप एकएक सिट जित्यो ।
तनहुँ, मनाङ, नवलपुर २, स्याङजा १ एमालेले गुमाएको छ ।
अघिल्लोपटक कांग्रेसँगको तालमेलमा गोरखा २ मा विजयी भएका तत्कालीन नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराइले उक्त स्थान पुष्पकमल दाहाल प्रचण्डका लागि छाडिदिए । उनले उमेदवारी नदिएपछि गोरखा २ मा प्रचण्ड र १ मा कांग्रेसको उदय भयो ।
प्रतिनिधिसभामा अघिल्लोपटक १ सिटमा खुम्चिएको कांग्रेस भने यसपटक स्याङजा २ लाई छाड्दा ९ सिटसहित पहिलो पार्टी बन्न सफल भएको छ ।
अघिल्लोपटक चुनावमा हारेको मुस्ताङ, म्याग्दी, तनहुँका दुई क्षेत्र, मनाङ, गोरखा १, नवलपुरका दुई क्षेत्र र स्याङजा १ मा कांग्रेस उमेदवारले जितेका छन । राष्ट्रिय जनमोर्चाले बागलुङ २ मा जितेको छ ।





