पोखरा/स्याङजाका २ प्रदेशसभा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । एमाले उमेदवारले लगाएको बुथ कब्जा गरेको भन्ने आरोपका कारण त्यहाँको मतगणनाको लागि निर्वाचन आयोगको टोली नै अनुसन्धानका लागि स्याङजा आएको छ । छानविनपश्चात प्रतिवेदन तयार गर्ने र मतगणना थाल्ने वा पुन मतदान गर्ने भन्ने निर्णय आयोगले गरेपििछ मात्र स्याङजा २ प्रतिनिधीसभा र उक्त क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रको बारेमा निर्णय होला ।
प्रदेशसभाका प्रत्यक्षतर्फका ३६ मध्ये स्याङजा २ का (क) र (ख) बाहेकका ३४ वटा क्षेत्रको मतपरिणाम आइसकेको छ । शुक्रबार दिउँसो आएको स्याङजा १ (ख) को मतपरिणाम हालसम्म सार्वजनिक भएकामध्येकै रोचक बन्न पुग्यो । गठबन्धनबाट उमेदवार बनेका बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित हुन पुगे । ०७९ को निर्वाचनमै हालसम्म सबैभन्दा कम मतान्तरले पराजित हुने उमेदवार नै राना बन्न पुगे ।
उनलाई एमालेका सुधीर पौडेलले हराएका हुन । सुधिरले १७ हजार ४४१ मत ल्याए भने रानाले १७ हजार ४३५ मत ल्याएर पराजित हुन पुगे ।
कांग्रेसले जित्न सक्ने सूचीमा राखेको यो क्षेत्र सहित एमालेले गण्डकीमा हालसम्म कुल १२ सिट जितेको छ । अघिल्लो पटकको निर्वाचनमा प्रत्यक्षमा १८ सिटमा उमेदवारी दिएर एमालेले १७ सिट जितेको थियो । अहिले एमालेले प्रदेशसभामा ५ सिट गुमाउन पुगेको छ । गण्डकीमा एमाले मात्रै होइन, कुनै पनि पार्टीको मिलीजुली सरकार बन्ने देखिँदैन । गण्डकी प्रदेशका ३६ प्रत्यक्ष निर्वाचन क्षेत्रमा नेकपा एमालेले सबैभन्दा बढी ३४ ठाउँमा उम्मेदवारी दिएको थियो । मनाङ १ (ख) मा एमालेसहित ठूला दलले उम्मेदवार उठाएनन् भने एमालेले बागलुङ २ (१) मा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको थियो ।
०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण गण्डकीमा कांग्रेस प्रत्यक्षमा ६ सिटमा खुम्चिन बाध्य भयो । तर, अहिले गठबन्धन गर्दा कांग्रेसले हालसम्म १६ सिट जितिसकेको छ । प्रत्यक्षमा ०७४ मा ९ सिटमा चुनाव जितेको माओवादी केन्द्र भने अहिले ५ सिटमा खुम्चिएको छ । ५ मध्येमा पनि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीका एक जना उम्मेदवार पनि समावेश छन । हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव जितेका कारण माओवादीले उक्त सिटलाई पनि आफ्नो सांसद भनेर गनेको छ ।
मनाङ (ख) बाट चाहिँ स्वतन्त्र उमेदवार गण्डकीका खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) सबैभन्दा पहिले निर्विरोध भएका थिए ।
यो त भयो, हालसम्मको सार्वजनिक परिणाम ।
समानुपातिकतर्फको हिसाब गर्ने हो भने, ०७४ मा गण्डकीमा सबैभन्दा बढि मत एमालेले ल्याएको थियो । यसपटक पनि हालसम्म गणना भएको समानुपातिकतर्फको मत हेर्दा एमाले नै पहिलो बन्ने छ । अघिल्लोपटक २४ समानुपातिक सांसदमध्ये एमालेबाट १०, कांग्रेसबाट ९, माओवादी केन्द्र ३, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टीबाट १÷१ सांसद बनेका थिए ।
कांग्रेसले २१, माओवादी केन्द्रले १२, नेसपा र एकीकृत समाजवादीले एक–एक सिट पाएका थिए । कांग्रेसले पाएका २१ मध्ये ३ सिट गुमाइसकेको छ । कांग्रेसका उम्मेदवार भएको दुई ठाउँको नतिजा आउन बाँकी छ । दुइवटै सिट जित्दा कांग्रेसको कुल १८ जना हुन्छन । समानुपातिकमा यसअघि कांग्रेसले ९ सिट पाएको थियो । यसपटक पनि ९ सिट पाउँदा २७ हुन्छ र कांग्रेसको पनि एकल बहुमत पुग्दैन ।
अहिले नयाँशक्ति पार्टी भने छैन । हँसिया हथौडा चुनाव चिन्ह लिएर बाबुरामले आफ्ना उमेदवार चुनावमा उठाएपछि समानुपातितर्फ माओवादीको मत बढ्ने देखिन्छ । अघिल्लोपटक राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक सांसद जितेको थियो । अहिलेको मतपरिणाम हेर्दा जनमोर्चा भन्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढि देखिएको छ । यद्यपी गणना भने सकिइसकेको छैन । हालसम्मको मतपरिणाम हेर्दा चौथो नम्बरमा रहेको राप्रपा समानुपातिकबाट गण्डकी प्रदेशमा इन्ट्रीको सम्भावना देखिएको छ ।
निर्वाचन आयोगको वेवसाइटमा उल्लेखित विवरण अनुसार राप्रपाले हालसम्म समानुपातिकमा ३६ हजार ६१५ मत पाइसकेको छ । पहिलो एमालेले दुई लाख ४९ हजार ३६९, कांग्रेसको दुई लाख २४ हजार २१ र माओवादी केन्द्रले ९९ हजार १४१ मत पाएको छ ।
सरकार सम्भावना : माओवादी र कांग्रेस कि माओवादी र एमाले ।
०७४ मा बाम गठबन्धनबाट तत्कालीन नेकपाले प्रत्यक्ष र समानुपातिक गरि ४१ सिट जित्न सफल भएको थियो । एमाले प्रत्यक्ष १७ र समानुपातिक १० गरि २७ तथा माओवादी केन्द्र प्रत्यक्ष ९ र समानुपातिक ३ गरि ४१ जनाको बहुमत नेकपासँग थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको उक्त सरकारलाई प्रारम्भमा तीन जना सांसद भएको जनमोर्चाले पनि समर्थन ग¥यो ।
एकचौथाई (१५) मा खुम्चिएको कांग्रेस र २ सिट रहेको नयाँशक्ति प्रतिपक्षमा बसे ।
तर, केन्द्रको राजनीतिक किचलोको बाछिटा स्वरुप एमालेको सरकार सबैभन्दा पहिले गण्डकीमा नै ढल्यो । १५ सिटको कांग्रेस ११ सिटको माओवादी (सभामुख बाहेक), २ सिटको नयाँशक्ति (पछि जसपा), २ सिटको जनमोर्चा (पार्टीको निर्देशन नमानेका कारण एकजना कारवाहीमा परेका) र स्वतन्त्र दीपक मनाङे गरि कुल ३१ सांसदसहित कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्यो । जुन अहिलेसम्म कायम छ तर, पहिला जस्तो एकता भने छैन, झनै तिक्तता बढेको छ ।
लमजुङबाट प्रतिनिधीसभामा पराजित माओवादी महासचिव देव गुरुङले चुनाव हार्नासाथ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै बाम एकताको पहल गर्न भनेका छन । माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच पनि फोनसंवाद भइसकेको छ ।
यिनै परिघटनाका बिच पुनः एमाले र माओवादीबीचको सरकार बन्ने हो कि भन्ने चर्चा व्यापक छ ।
तर, पहिलो पार्टी बन्ने भएका कारण सुरुमा सरकार बनाउनको लागि प्रदेश प्रमुखले ठुलो दललाई आह्वान गर्ने संवैधानिक व्यवस्था छ । कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना नभएमा मात्र दोश्रो विकल्पको रुपमा एमाले माओवादी सरकारको सम्भावना रहन्छ ।
एमालेले जितेको १२ र माओवादीले जितेको ५ सहित प्रत्यक्षमा १७ जना सांसदले मात्रै सरकार बन्दैन । बाँकी १४ जना चाहिँ समानुपातिकबाट आउनुपर्ने हुन्छ । अघिल्लो निर्वाचनमा पाएको समानुपातिक मतकै हाराहारी आएमा मात्रै सरकार बन्न सम्भव छ ।
कांग्रेस र माओवादीको गठबन्धन सरकार
अहिले गण्डकी सरकारको नेतृत्व कांग्रेस कृष्णचन्द्र नेपाली पोखरेलले गरेका छन । उनका अर्थमन्त्री रामजी बराल, हटाइएका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, हटाइएका उर्जामन्त्री हरिशरण आचार्यको बेमेलले गण्डकी सरकारको बद्नाम भयो । पोखरेलले आफ्नै पार्टीका र सरकार बनाउन मुख्य भूमिकामा रहेका कुमार खड्कालाई चुनावको सम्मुखमा हटाइदिए ।
अर्थमन्त्री बराल र मुख्यमन्त्रीको बजेट द्वन्द्व त बालुवाट हुँदै खुमलटारसम्म पुग्यो । बजेटमा मन्त्रिपरिषदको निर्णय उल्लंघनदेखि मनपरि करवृद्धिका कारणले आलोचित अर्थमन्त्रीसँग पनि मुख्यमन्त्रीको सम्बन्ध सुमधुर छैन । वास्तवमा भन्ने हो भने गठबन्धनको सरकार भएका कारण मन्त्री पद जोगिएका छन, गण्डकी सरकारमा एकता होइन, तिक्तता र अनेकतामात्रै छ ।
यही तिक्तताले गर्दा माओवादी सरकारमा जान मान्छ वा मान्दैन भन्नेमा पनि शंका छ । अर्कातर्फ माओवादीको प्रारम्भिक समिक्षा बैठकमा पनि कांग्रेससँगको गठबन्धन उपयुक्त नभएको निर्णय भएको छ ।
तर, तत्कालै गठबन्धन छाड्ने भनेर निर्णय गरिनसकेको र पहिलो ठुलो पार्टी बन्ने क्रममा रहेको कांग्रेसले नै सरकार बनाउन पहल गर्ने भएका कारण माओवादीलाई साथ लिएर गण्डकीमा कांग्रेसको सरकार बन्न सक्ने सम्भावना छ ।
यसरी हेर्दा गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्नेछ । माओवादी जता मिल्छ, उसैको सरकार बन्ने देखिन्छ । माओवादीले हालसम्म चार सिट जितेको छ र समानुपातिकमा यसअघिको जस्तै ३ सिट ल्याए सात हुन्छ ।
कहाँ कसले जिते ?
कास्की १ (१) – खगराज अधिकारी, एमाले
कास्की १ (२) – वेदबहादुर गुरुङ, एमाले
कास्की २ (१) – भिम कार्की, एमाले
कास्की २ (२) – विन्दुकुमार थापा, कांग्रेस
कास्की ३ (१) – गणेशमान गुरुङ, एमाले
कास्की ३ (२) – प्रकाशल बराल, कांग्रेस
तनहुँ १ (१) – अशोककुमार श्रेष्ठ, कांग्रेस
तनहुँ १ (२) – हरिबहादुर चुमान, माओवादी केन्द्र
तनहुँ २ (१) – श्यामराजा महत, एमाले
तनहुँ २ (२) – जीतप्रकाश आले, कांग्रेस
लमजुङ १ – डा. टकराज गुरुङ, कांग्रेस
लमजुङ २ – भेषबहादुर पौडेल, कांग्रेस
मनाङ १ – मुनिन्द्र गुरुङ, कांग्रेस
मनाङ २ – राजीव गुरुङ (निर्विरोध निर्वाचित)
मुस्ताङ १ – नाम्डु गुरुङ, कांग्रेस
मुस्ताङ २ – विकल शेरचन, कांग्रेस
म्याग्दी १ – हरि भण्डारी, माओवादी केन्द्र
म्याग्दी २ – रमेश जुग्जाली, माओवादी केन्द्र
बागलुङ १ (१) – दीपेन्द्रबहादुर थापा, कांग्रेस
बागलुङ १ (२) – डिल्लीराम सुवेदी, कांग्रेस
बागलुङ २ (१) – जित शेरचन, कांग्रेस
बागलुङ २ (२) – द्रोण कुँवर, कांग्रेस
पर्वत १ – भक्त कुँवर, एमाले
पर्वत २ – मित्रलाल बस्याल, एमाले
स्याङ्जा १ (१) – सीता सुन्दास, एमाले
स्याङ्जा १ (२) – सुधिर पौडेल, कांग्रेसको अग्रता
स्याङ्जा २ (१) – मतगणना अनिश्चित
स्याङ्जा २ (२) – मतगणना अनिश्चित
नवलपरासी पूर्व १ (१) – महेन्द्रध्वज जिसी, कांग्रेस
नवलपरासी पूर्व १ (२) – रोशन गाहा, एमाले
नवलपरासी पूर्व २ (१) – पद्या जिसी श्रेष्ठ, एमाले
नवलपरासी पूर्व २ (२) – लक्ष्मण पाण्डे, एमाले
गोरखा १ (१) – कृष्ण धिताल, नेकपा माओवादी केन्द्र
गोरखा १ (२) – नन्दप्रसाद न्यौपाने, कांग्रेस
गोरखा २ (१) – फणिन्द्र देवकोटा, नेपाल समाजवादी पार्टी
गोरखा २ (२) – सुरेन्द्रराज पाण्डे, कांग्रेस





