पोखरा/ मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामसम्बन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
तालिम पोखरा महानगरपालिका वडा कार्यालय ५ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा सम्पन्न भएको थियो । पहिलो चरणमा पोखरा वडा नं. ५ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि, विद्यालयका प्रतिनिधिलगाएत ४५ जना तालिममा सहभागि रहेका कोशिशले जनाएको छ ।
तालिम मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या हुन सक्ने सम्भाव्यताको अध्ययन गर्दै यसको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको थियो । तालिममा मुख्य प्रशिक्षक कोशिशका विनय पाण्डेले प्रशिक्षण गराएका थिए भने कार्यक्रम संयोजक कोशिशका सुदिप घिमिरे, मानव अधिकारकर्मी खिमलाल सुवेदी, शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी र कोशिशकी नविना आचार्यले सहजीकरण गरेका थिए । औपचारिक कार्यक्रम पोखरा वडा नं. ५का वडाध्यक्ष विष्णुप्रसाद बरालको प्रमुख आतिथ्यता र वडा ५ कै जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीले अध्यक्षता गरेकी थिइन् ।





