पेखरा/ गण्डकी प्रदेशबाट कांग्रेसबाट सांसद बन्न आकांक्षीको लिष्ट बोकेर कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा भदौ पहिलो साता काठमाण्डौ पुगे । पार्टी हाइकमाण्डलाई सूची बुझाउँदै गर्दा शर्माले आफ्नो नाम समानुपातिकको एक नम्बरमा पार्न सफल भए । प्रदेश समानुपातिकतर्फ खसआर्य क्लष्टरबाट एक नम्बरमा आफ्नो नाम राखेर उनी पोखरा फर्के । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ९ सिट जितेको कांग्रेसमा खसआर्यबाट दुइजना पुरुष सांसद बनेका थिए ।
एक नम्बरमा नै नाम राखेपछि आफू सांसद बन्नेमा विश्वस्त रहेका शर्मा मुख्यमन्त्रीका दाबेदार समेत थिए ।
तर, गण्डकीमा कांग्रेसले स्याङजाका दुइवटा क्षेत्र छाड्दा पनि १६ सिट प्रत्यक्षमा जितिसकेको छ । स्याङजाका दुइवटै क्षेत्र जितेको खण्डमा प्रत्यक्षमा ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा कांग्रेस एक्लैले ५० प्रतिशत अर्थात १८ सांसद जित्नेछ ।
०७४ मा प्रत्यक्षमा ६ सिटमा खुम्चिएको कांग्रेसले अहिले उत्कृष्ट पुनरागमन गर्दा प्रदेश सभापति शर्माको सांसद बन्ने सम्भावना भने लगभग सकिएको छ । कारण निर्वाचित सबं सांसदहरु पुरुष हुन ।
हालसम्म १६ सिट जितेको कांग्रेसबाट ९ जना समानुपातिक सांसद बनेको खण्डमा कांग्रेसबाट सांसद बन्नेको संख्या २५ पुग्छ । २५ जना सासद बनेको खण्डमा ३३ प्रतिशत महिलाको ल्याउँदा समानुपातिकका सबै सिट खपत हुन्छन । अर्कातर्फ स्याङजाका दुवै क्षेत्र हारेको खण्डमा र समानुपातिकमा १० सिट पाएको खण्डमा मात्र पुरुष सांसद बन्न सक्ने सम्भावना रहन्छ ।
तर, हालसम्मको समानुपातिक मतपरिणाम हेर्दा कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा कम मत पाएको छ । जसका कारण समानुपातिकको सिट संख्या बढ्नेभन्दा पनि घट्ने सम्भावना अधिक छ ।स्याङजाबाट प्रदेश सभाका उम्मेदवार दुवैजना पुरुष नै छन् । ती २ मध्ये एकमा मात्र कांग्रेसले जित्यो भने समानुपातिक सूचीबाट पुरुष सांसद बन्ने सम्भावना शून्य हुन्छ ।
प्रदेश सभामा कम्तीमा ३३ प्रतिशत महिला सांसद पु¥याउनै पर्ने संवैधानिक बाध्यताका कारण २५ जना मात्रै प्रदेश सभा सदस्य भए पनि
त्यसको ३३ प्रतिशत पु¥याउन कांग्रेसले सबै ९ जना महिलालाई नै समानुपातिक सांसद पठाउनु पर्नेछ । यसो गर्दा एकजना पुुरुष पनि
समानुपातिकबाट सांसद बन्न पाउने छैनन । यस्तो अवस्थामा शर्मा सांसद नहुने सम्भावना देखिन्छ ।
नेपालको संविधानको भाग १४ मा प्रदेश सभा सम्बन्धी व्यवस्था छ । धारा १७६ मा प्रदेश सभा गठनबारे उल्लेख छ । उक्त धाराको उपधारा ९ मा प्रष्ट भनिएको छ—प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको एक तिहाइ सदस्य महिला हुनु पर्नेछ ।
१२ सिट जितेको एमालेबाट भने दुइजना महिला प्रत्यक्ष निर्वाचित भइसकेका छन । समानुपातिकतर्फको सार्वजनिक मतपरिणाम अनुसार एमाले गण्डकीमा अगाडि छ । एमालेबाट महिला पनि निर्वाचित भइसकेको र समानुपातितर्फ पनि सबैभन्दा बढि सिट जित्ने भएका कारण दुइदेखि तीन जनासम्म पुरुष सांसद पर्नसक्ने सम्भावना छ । गत निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ १० जना सांसद जितेको थियो ।
स्याङ्जा १ (क) बाट सीता सुन्दास र नवलपुर २ (क) बाट पद्मा जिसी विजयी भएकी छन । एमालेले अहिलेसम्म १२ सिट प्रत्यक्षमा जितेको छ । समानुपातिकबाट ९ वा १० जना पाउँदा २१ वा २२ को ३३ प्रतिशत ७ जना महिला पु¥याउँदा हुन्छ ।
समानुपातिकबाट प्रदेश सभा सदस्य बनाउनका लागि कुनै पनि दलले खसेको कूल मतको १ दशमलव ५ प्रतिशत प्राप्त गर्नुपर्छ । त्यति मत नल्याएका दलको मत स्वतः खेर जान्छ । बाँकी मतका आधारमा मात्रै अरु दललाई सिट बाँडफाँट गरिन्छ ।
अहिलेसम्म गण्डकीमा समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा ठूलो दल छ । उसले ३ लाख ४० हजार ५ सय ३३ मत पाएको छ । कांग्रेसले ३ लाख १७ हजार ५ सय ९६ मत ल्याएको छ । तेस्रोमा माओवादी छ । उसले १ लाख १५ हजार ३ सय ६६ मत ल्याएको छ । गण्डकी प्रदेशमा चौथो दल राप्रपा देखिएको छ । समानुपातिकमा राप्रपाले ५७ हजार १ सय १६ मत पाएको छ ।





