शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कैदीबन्दीलाई एउटैमात्र तालिम, बाँसको मुडा बनाउने बस्ने

कैदीबन्दीलाई एउटैमात्र तालिम, बाँसको मुडा बनाउने बस्ने


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७९, बिहिबार

पोखरा/ कारागारमा बन्द कैदीबन्दीहरुले सीपमूलक तालिमको नाममा आफूहलाई “बाँसको मुडा बनाउने तालिम” मात्र दिने गरिएको बताएका छन । गण्डकीका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोल नेतृत्वको मुख्य न्यायधिवक्ताको कार्यालयले प्रदेश भित्र रहेका हिरासत थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदी उपर मानवोचित ब्यवहार भए नभएको सम्बन्धमा निरीक्षण गरेको थियो । निरिक्षणपश्चात कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख भएअनुसार सबै कारागारका कैदीबन्दीको साझा समस्याको रुपमा सीपमूलक तालिमको विषयलाई समावेश गरिएको छ ।

“कैदीबन्दीलाई मुढा बुन्ने बाहेक अन्य सीपमूलक तालिमको उचित व्यवस्था नभएको” प्रतिवेदनमा साझा समस्याको रुपमा लेखिएको छ ।
यो प्रतिवेदन मुख्य न्याधिवक्ता बास्तोलाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुझाएका छन । मुद्दाको अवस्था, पेसी र फैसलाको जानकारी समयमा प्राप्त नहुने, समयानुकूल सीधा खर्च नभएको, कारागार कार्यालयमा सवारी अभाव, क्षमताभन्दा बढि कैदी लगायतका विषय साझा समस्याको रुपमा उल्लेख गरिएको छ ।

कारागार क्षेत्रको आर्थिक विकास गर्न राज्यको लगानी वृद्धि गर्नुपर्ने, कारागारलाई सुधार गृहको रूपमा बिकास गर्न नीतिगत व्यवस्था गर्ने, कैदी बन्दीको सङ्ख्या र कारागार क्षमता बिचको तालमेल मिलाउने, कारागार भित्र मानवअधिकारको पूर्ण सुरक्षित गर्नुपर्ने, महिला बन्दीहरूको मातृत्वको अधिकार सुनिश्चत गर्नुपर्ने, कारागार सञ्चालन र ब्यवस्थापनमा प्रदेशको क्षेत्राधिकार प्रष्ट गर्नुपर्ने सुझाव प्रतिवेदनमा औँल्याइएको छ ।

न्याधिवक्ता बास्तोला नेतृत्वको टोलीले कास्की, बागलुङ, गोरखा, तनहुँ, लमजुङ, म्याग्दी र मुस्ताङ कारागारको अनुमगन तथा निरिक्षण गरेको थियो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार कारागारमा क्षमताभन्दा दोब्बर संख्यामा कैदीबन्दी छ । मुस्ताङमा मात्रै क्षमताभन्दा चारजना कम कैदीबन्दी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तनहुँ :
हिरासत कक्षः हिरासत कक्षमा रहेका १३ जना थुनुवामध्ये १२ जना पुरुष र १ जना महिला रहेका छन् । हिरासत कक्ष साँघुरो र सरसफाईको अवस्था सामान्य रहेको, हिरासतभित्र कुनै पनि प्रकारको यातना नदिएको, आधुनिक सुविधा सम्पन्न हिरासत भवन निर्माण भइरहेको, बेलचौतारा इलाका प्रहरी कार्यालयका थुनुवा समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाउने गरेको ।

कारागार कार्यालय, तनहुँ ६ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कारागार परिसरमा प्रशासनिक भवन समेत गरी ६ वटा भवन छन् । भवनको अवस्था राम्रो नै देखिन्छ । २० जना महिला र ११५ जना पुरुष गरी जम्मा १३५ जना कैदीबन्दीको क्षमता भएको कारागारमा हाल १२ जना महिला र २४५ जना पुरुष गरी २५७ जना कैदीबन्दी रहेका छन् । क्षमता भन्दा करिव दोब्बर सङ्ख्यामा कैदीबन्दी रहेको भए तापनि सुत्न बस्नको लागि त्यति असहज भने देखिएन । शौचलय, खानेपानी र सरसफाईको अवस्था सामान्य रहेको छ । आँबुखैरेनी गाउँपालिका लगायत जिल्लाका सबै स्थानीय तह र टिम नेपो नामक गैरसरकारी संस्थाको सहयोगमा कैदीबन्दीहरूलाई सुत्ने बेडहरूको व्यवस्था भएको पाइयो। कारागार प्रशासनसँग कैदीबन्दीहरूको कुनै पनि गुनासो नरहेको पाइयो।

कारागार कार्यालय, लमजुङः ४ रोपनी जग्गामा फैलिएको कारागार परिसरमा ३ वटा भवन रहेका छन् । ३ वटै भवन ज्यादै पुराना, जीर्ण र साँघुरा देखिन्छन् । १० जना महिला र २५ जना पुरुष गरी जम्मा ३५ जना कैदीबन्दीको क्षमता भएको भवनमा ७ जना महिला र १०० जना पुरुष गरी १०७ जना कैदीबन्दीहरू रहेका छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका कारण बस्न, सुत्न लगायतका विविध समस्याहरू देखिन्छन् । औषधि उपाचारको अवस्था राम्रो रहेको पाइयो ।

कारागार कार्यालय, म्याग्दीः ९–१३–२–० क्षेत्रफलमा फैलिएको कारागार परिसरमा प्रशासनिक भवन लगायत ६ वटा भवन रहेका छन् । बेनीबजार खानेपानी उपभोक्ता समिति तथा भसभसे सामुदायिक वनसँगको समन्वयमा खानेपानीको व्यवस्था गरिएको छ । शौचालयको सङ्ख्या ११ रहेको छ । खानेपानी, शौचालय तथा सरसफाईको अवस्था राम्रो भएको देखियो । ७ जना महिला र २५ जना पुरुष गरी जम्मा ३२ जनाको क्षमता भएको कारागारमा हाल महिला ३ जना र पुरुष ८० जना गरी जम्मा ८३ जना कैदीबन्दी रहेका छन् । खेलकुद, मनोरञ्जन, पत्रपत्रिका तथा पुस्तकालयको व्यवस्था रहेको देखियो । सिप विकासको लागि मुढा तथा फर्निचर सञ्चालनमा रहेको देखियो । तुलनात्मक रूपमा म्याग्दी कारागारको अवस्था राम्रो रहेको देखिन्छ ।

कारागार कार्यालय, मुस्ताङः १५ जना कैदीबन्दी राख्न सक्ने क्षमता भएको ढुङ्गा माटोले बनेको पुरानो र जीर्ण कारागार भवनमा हाल ११ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->