पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने १८ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने भएको छ ।
पोखरा २७ तालचोक डाँडाकोनाक स्थित खुल्ला चौरमा महोत्सव हुन लागेको हो । महोत्वसबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले सुन्तला प्रदर्शनीबाट सुरुवात भएको महोत्सवले निकै चर्चा पाएको सुनाए ।
औद्योगिक तथा घरेलु उत्पादनलाई जोड दिदैँ मौलिक सांस्कृतिकको समेत जगेणा गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
महोत्सवमा ३ सय ३७ स्टल राखिने छ । उक्त स्टलमा आम्दानी मुखी नभई घरेलु उत्पादनलाई जोड् दिदै निःशुल्क रुपमा घरेलु उत्पादनका सामग्री प्रदर्शनी तथा विक्रिका लागि समेत राखिने उनको भनाइ छ ।
महोत्सवमा साहित्यक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी,
विभिन्न जातजातिको लोप हुने लागेको कलासंस्कृति, झाँकी प्रदर्शनी, लगायत राष्ट्रिय कलाकारहरुको सांगीतिक कार्यक्रम हुने उनले जानकारी दिए ।
सोही क्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले महोत्सव रमाइलोका लागि मात्रै नभई उपलब्धि मुलक हुनेमा आशावादी रहेको बताए ।
उनले आफुहरले महोत्सवको आकर्षणलाई वृद्धि गर्नका लागि उमेर अनुसारका कार्यक्रमलाई जोड दिदैँ ग्रामिण तथा घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिएको सुनाए ।
पुस ७ गतेदेखी १८ गतेसम्म हुने महोत्वसमा करिब ९५ लाख आम्दानी तथा ८५ लाख खर्च हुने अनुमान गरिएको छ । यस्तै महोत्सवबाट १० लाख रुपैयाँ बचत हुने अनुमान लिएको उनले बताए ।





