
पोखरा/ नेपालको संविधान भाग १४ धारा १७५ मा उल्लेख गरिएको छ, “प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनिनेछ ।” संविधानको त्यही धारा अनुसार गण्डकीमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरि कुल ६० जना प्रदेश व्यवस्थापिका सदस्य रहन्छन ।
समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइनसकेका कारण २४ जना सांसदहरुको टुंगो नलागेतापनि प्रत्यक्षतर्फको निर्वाचन प्रणालीबाट चुनिने ३६ ल मेकरहरु भने निर्वाचित भइसकेका छन । शनिबार साँझ स्याङजा २ का (ख) मा कांग्रेसका महेश भट्टराई विजयी भएसँगै गण्डकीका प्रत्यक्ष निर्वाचित सबै सांसदहरुको टुंगो लागिसकेको छ ।
गण्डकीका ११ जिल्लाका ३६ निर्वाचन क्षेत्रको मतपरिणाम अनुसार कांग्रेसले एक्लै १८ वटा सिटमा जित निकाल्दै प्रत्यक्षतर्फ ५० प्रतिशत क्षेत्र जितेर पहिलो पार्टी बन्न सफल भएको छ । त्यस्तै एमालेले १२, माओवादीले ५ (एक नेपाल समाजवादीका सांसद समेत समावेश) र मनाङ (ख) बाट युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) स्वतन्त्र उमेदवार बनि निर्विरोध बन्न सफल भए ।





