पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियम विपरीत तलब भत्ता प्रदान गरिएको छ । मेयरका स्वकीय सचिव रहेका खेमराजले द्धितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि मेयरले छैठौं अर्थात अधिकृतसरहको सेवा सुविधा दिएका हुन् । पोखरा महानगरपालिकाका एक कर्मचारीका अनुसार मेयरका स्वकीय सचिव द्धितीय श्रेणी तहको हुनुपर्ने भएपनि उनलाई छैठौं अर्थात अधिकृतस्तरको सेवा सुविधा प्रदान गरिएको हो ।
विगत चार महिनादेखि मेयरका स्वकीय सचिव खेमराज आचार्यलाई आवश्यकभन्दा बढी सेवा प्रदान भइरहेको कर्मचारीको भनाइ छ । पोखरा महानगरपालिकाको मिति २०७९ साउन १९ गते चलानी नं. ५ सय ८९ को पत्र अनुसार खेमराज आचार्यलाई अधिकृत छैठौं तह प्रदान गरी सेवा सुविधा प्रदान गरिएको छ । तर, प्रदेश राजपत्रमा उल्लेख भएअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुखले राख्न पाउने स्वकीय सचिव द्धितीय वा सो सरहको हुनेछ भनी उल्लेख गरेको छ ।
‘महानगरपालिकाको उपप्रमुख तथा नगरपालिकाको प्रमुखले आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी राजपत्र अनङ्कित द्वित्तीय श्रेणी वा सो सरहको स्वकीय सचिव राख्न पाउनेछन्’, राजपत्रमा किटानकासाथ भनिएको छ । उता स्थानीय सरकार संचालन ऐनले पनि कर्मचारीको तलबको बारेमा स्थानीय सेवाका कर्मचारीको तलब स्केल प्रदेश सरकारले तोके बमोजिम हुनेछ र त्यसरी प्रदेश सरकारले नतोकेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछन भनि स्पष्ट उल्लेख गरेको छ । तर,मेयरले यी दुवै व्यवस्था मानेका छैनन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको हस्ताक्षर भएको पत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा तपाईलाई (खेमराज आचार्य) यसै साथ संलग्न सेवा करार सम्झौतामा रहेका सेवा शर्त लागू हुने गरी २०७९ श्रावण ०१ गते देखि २०७९ पौष मसान्त सम्मका लागि सेवा करार गरिएको छ । तोकिएको कार्य शर्त अनुरुप आफ्नो महाशाखा ÷ शाखा प्रमुखको निर्देशनमा रही निजले दिएको कार्य विवरण बमोजिम वा तोकिएको काम ईमान्दारीपूर्वक र व्यावसायिक मूल्य मान्यता बमोजिम गर्नु होला ।’ उक्त पत्र बोधार्थको रुपमा वित्त व्यवस्थापन (आ.प्र) महाशाखा ः तलब भत्ता उपलब्ध गराउने भनि समावेश समेत गरिएको छ ।





