पोखरा/ पोखराको बाटुलेचौरमा किरियापुत्रीमाथि जातीय विभेदमा संलग्न तीन जनालाई जिल्ला अदालत कास्कीले सजाय तोकेको छ । जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही १ वर्ष कैद र ५० हजार जरिवानाका साथै एकमुष्ट १ लाख रुपैया क्षेतिपूर्ति तिराउने गरी फैसला गरेको अदालतका सुचना अधिकारी निलप्रसाद पनेरुले बताए ।
उनका अनुसार किरियापुत्रीलाई जातीय विभेद गरेको आरोपित देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीले उक्त सजाय पाएका छन् । उनीहरुरुले बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न दलितलाई नदिने भन्दै स्थानीय मोहन सुनारलाई रोक लगाएका थिए ।
मोहनका भाइ सम्मरबहादुर सुनार २०७६ चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भएका थिए । उनको किरिया बस्न मोहनले बाटुलेचौरको सरकारी जमिनमा बनेको र पोखरा महानगरको समेत लगानी भएको किरियापुत्री भवनको चाबी मागेका थिए । दलितलाई किरियापुत्री बस्न नदिने भन्दै देवबहादुर, रामबहादुर र जनकले हप्काउनुका साथै धम्कीसमेत दिएका थिए ।
कोभिड–१९ महामारी रोकथाम गर्न लकडाउन भएको समयमा सम्मरको शव ल्याउन नसकेपछि दुबइमै उनको दाहसंकार गरिएको थियो । सम्मरका भाइ र माइला छोरा दुबईमै रहेकाले उनीहरुले दाहसंकार गरेर उतै किरिया बसेका थिए ।
१५ वर्षदेखि दुबइ रहेका सम्मरका जेठा छोरा फ्रान्समा, श्रीमती, कान्छा छोरा र दाजु मोहन भने पोखरा थिए । पोखरामा दाजु मोहन, सम्मरका श्रीमती र कान्छा छोरा किरिया बस्न खोज्दा उनीहरुले किरियापुत्री भवन पाएका थिएनन् ।
घरबाट ५ मिनेटमा पुगिने बाटोमा किरियापुत्री भवन प्रयोग गर्न नपाएपछि उनीहरुले आधा घण्टा बढी समय लाग्ने काली खोला जान बाध्य भएका थिए ।
जिल्ला न्यायाधीश भट्टराईले जातीय भेदभावको उक्त घटनालाई कसुर ठहर गर्दै जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन २०६८ अनुसार सँजाय तोकेका हुन् । जिल्ला अदालतबाट फैसला आएपछि न्यायको महशुष भएको पीडित मोहन सुनारले बताए ।
‘न्याय मरेको रहेनछ, न्याय पाइने रहेछ,’ फैसला आएपछि उनले सेतोपाटीलाई भने, ‘तीन बर्ष लडियो, मैले मात्र होइन, जातीय विभेद विरुद्ध लाग्ने सबैले न्याय पाए ।’
छुवाछुत तथा जातीय विभेद कसुरमा अदालतले सँजाय सुनाएका व्यक्तिले पनि यसलाई न्यायका रुपमा लिनुपर्ने उनले बताए । ‘गलत काम गर्दा सजाय पाइन्छ भनेर उहाँहरुले पनि महशुस गर्नुपर्छ,’ उनले भने ।
बाटुलेचौरमा किरियापुत्री भवनमा बस्न नदिएपछि मोहनलाई त्यतिबेला आरोपी युवाका समुहले घर घेर्नेदेखि आक्रमणका धम्की दिएका थिए । त्यसका विरुद्ध उनले २०७७ बैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत कसुरमा उजुरी दर्ता गरेका थिए । प्रहरीले अनुसन्धानका क्रममा आरोपित तीनै जनालाई पक्राउ गरेपछि बाटुलेचौरका स्थानीय जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन गरेका थिए ।
जातीय छुवाछुतका आरोपितलाई रिहा गर्न माग गर्दै बाटुलेचौरका स्थानीय कोभिड–१९ महामारीका बेला प्रदर्शनमा उत्रिदा प्रहरीसँग झडपसमेत भएको थियो । त्यतिबेला गण्डकी प्रदेश सांसदसमेत रहेका एमाले नेता कृष्णबहादुर थापाले पीडकका पक्षमा विज्ञप्ति निकालेर साथ दिएपछि उक्त घटना प्रदेशसभामा प्रवेश गरेको थियो ।
गण्डकी प्रदेश सभामा जातीय विभेद र छुवाछुतमा संलग्न व्यक्तिलाई बचाउन खोजेको भन्दै सांसदहरुले थापाको आलोचना गरेका थिए । गत वैशाख ३० को स्थानीय निर्वाचनमा उनै थापालाई एमालेले सांसदबाट राजिनामा गराएर पोखरा महानगरको मेयरको टिकट दिएका थियो । एमालेबाट पूर्व मेयरसमेत रहेका थापालाई एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीका नेता धनराज आचार्यले हराएका थिए । निर्वाचनका बेलासमेत थापामाथि जातीय विभेदका आरोपितलाई जोगाउन खोजेको भन्दै आलोचना भएको थियो ।
अहिले थापा एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज छन् । जातीय विभेद तथा छुवाछुत पीडित मोहन पनि उक्त घटनाअघि एमालेकै जिल्ला सदस्य थिए । उक्त घटनामा तत्कालीन एमाले जिल्ला अध्यक्षसमेत रहेका थापाले पीडक पक्षलाई साथ दिएपछि मोहन चाहिँ पार्टी परित्याग गरेर बसेका छन् ।





