बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

समानुपातिकतर्फको मत गणना सकियो, सत्ता गठबन्धनको पुगेन बहुमत

समानुपातिकतर्फको मत गणना सकियो, सत्ता गठबन्धनको पुगेन बहुमत


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७९, मंगलबार

पोखरा / निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको छ। एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको समानुपातिक प्रणालीतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले २६.९४ प्रतिशत मत ल्याएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २५.७१ प्रतिशत मत ल्याएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार, समानुपातिक निर्वाचन प्रणालीतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत पाउने दल मात्र समानुपातिकतर्फको ११० सीट बाँडफाँडका लागि योग्य हुन्छन्। यो सीमा पार गर्ने मत नल्याउने दलको समानुपातिकतर्फको मत खेर जान्छ अर्थात सीट पाउँदैन।

जसअनुसार, एमाले, कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टीले ३ प्रतिशतको सीमा कटाएर समानुपातिक सीट सुनिश्चित गरेका छन्।

मत परिणाम विभाजक सूत्र गणना गरेर गरिएको अनुमानअनुसार, एमालेले ३४ सीट पाउने देखिएको छ। कांग्रेसले एमालेको भन्दा दुई सीट कम अर्थात ३२ सीट पाउनेछ। एमालेको भन्दा कांग्रेसको मत करीब एक लाख ३० हजार कम छ।

माओवादीले समानुपातिकतर्फ १४ सीट पाउनेछ। पहिलो पटक निर्वाचनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सीट पाउनेछ।

त्यसैगरी, समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी र जनमत पार्टीले पाँच–पाँच सीट पाउनेछन्। यद्यपि, आयोगले निर्वाचनको अन्तिम परिणाम औपचारिक घोषणा गर्न बाँकी छ।

पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले समानुपातिकतर्फको ३ प्रतिशतको सीमा पार नगरेका कारण सीटमा भाग पाएन। एकीकृत समाजवादीले थप १८ हजार ४११ मत पाएको भए समानुपातिकतर्फको सीटमा भाग पाउँथ्यो।

पहिलो हुने निर्वाचन प्रणालीतर्फ कांग्रेसले ५७ स्थानमा जितेको छ। अबको प्रतिनिधि सभामा कांग्रेस ८९ सीटसहित सबैभन्दा ठूलो दल बनेको छ। प्रतक्ष्यतर्फ ४४ स्थान जितेको एमाले जम्मा ७८ सीटसहित दोस्रो स्थानमा रहनेछ।

प्रतक्ष्य र समानुपातिक गरी माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ सप्ट हुनेछ। त्यसैगरी, प्रतक्ष्यतर्फ सात सीट जितेको जनता समाजवादी पार्टी नेपालको समानुपातिकसहित जम्मा १२ सीट हुनेछ। प्रतक्ष्यतर्फ एक स्थानमा जितेको जनमत पार्टीको पनि समानुपातिकतर्फ पाँच गरी जम्मा ६ सीट हुनेछ।

समानुपातिकतर्फ सीट नपाए पनि एकीकृत समाजवादीले प्रतक्ष्यतर्फ १० सीट जितेको छ।

पाँच दलीय सत्ता गठबन्धनले निर्वाचनमा कुल १३६ सीट जितेको छ। कांग्रेसको ८९, माओवादीको ३२, एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादी पार्टीको चार र राष्ट्रिय जनमोर्चाको एकसहित सत्ता गठबन्धनको १३६ सीट पुग्ने भएको छ। संसद्मा बहुमतका लागि १३८ सीट चाहिन्छ। आगामी संसद्बाट नयाँ सरकार बनाउन सत्ता गठबन्धनले अन्य दल वा स्वतन्त्र सांसदको समर्थन लिनुपर्नेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->