पोखरा/ गण्डकी प्रदेशसभा बैठक चल्नको लागि आफ्नै भवन छैन । नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद भवनको रुपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ । कोरोनाकालमा सामाजिक दूरी कायम गर्न भनेर पोखरा सभागृहलाई पनि संसद बैठक भवनको रुपमा प्रयोग गरियो ।
तर, गण्डकीको संसद भवन भनेकै त्यही प्रशिक्षण केन्द्रको पानी चुहिने भवन नै हो । प्रदेश सरकारले नै नयाँ संसद भवन बनाउने भनेर प्रक्रिया थालनी गरेको थियो । तर, उक्त प्रक्रिया अहिलेसम्म अलपत्र हुँदा पुरानै भवनमा संसद चल्नेछ ।
०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपथ देखि ०७९ भदौ ८ गतेसम्म प्रदेशसभाको पहिलो कार्यकाल चल्यो । यही पुरानो भवनले नै प्रदेशको नाम गण्डकी र राजधानी पोखरा पनि तोक्यो ।
पहिलो कार्यकालका सांसदहरुको बिदाइपश्चात शून्य बनेको यो भवनले फेरि नयाँ रंगरोगन पाएको छ । यो भवनमा वर्षेनी वर्षातको पानी चुहिन्छ । बैठककक्षभित्र पानीका धर्का नदेखिउन भनेर प्रदेशसभा सचिवालयले नयाँ रंग लगाएको छ ।
टायलले छाएको भवनको बाहिरपट्टि पनि देखिने गरि नयाँ रंगरोगन गरिएको छ । प्रदेशसभा भवनको माथिपट्टि राखिएको ‘प्रदेशसभा भवन’ लेखिएको फ्लेक्स भने फेरिएको छैन ।
संसद भवन परिसर बाहिरको चौरको घाँस काटिएको छ । कम्पाउन्ड मर्मतसँगै सरसफाइ गर्ने कार्य नियमित भइरहेको छ । रंगरोगन पश्चात भवनको सिधा माथिपट्टि माछापुच्छ«े हिमाल आकर्षक देखिन्छ । आगामी पाँच वर्षे कार्यकालका लागि जनमतबाट निर्वाचित भएर प्रदेशसभामा आउने सदस्यहरुको स्वागतको लागि सचिवालयले सरसफाइ, मर्मतलगायतका कामलाई तदारुकताका साथ अगाडि बढाएको छ ।
सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले भवनलाई मर्मत र रंगरोगन गरिएको बताए । बैठककक्षको एरिया सानो भएकै कारण कुर्सी भने पुरानै हुनेछन । तीनै कुर्चीलाई सरसफाई गरेर प्रयोग गरिने उनले जानकारी दिए ।
सचिवालयले यसवर्ष नयाँ प्रिफ्याब भवन थप्दैछ ।अघिल्लो पटक गण्डकीमा एमाले, कांग्रेस, माओवादी, नयाँशक्ति पार्टी र जनमोर्चाले चुनाव जितेर संसदीय दलको कार्यालय पाएका थिए । यसपटक भने तीन ठुला दलसहित गण्डकीमा राप्रपाले समानुपातिकमार्फत प्रवेश गर्दैछ । संसदीय दलको लागि कार्यालय भने पर्याप्त नै हुनेछन ।
अघिल्ले कार्यकालमा सांसदहरुको लागि काठको पिजन हलको व्यवस्था गरिएकोमा यसपटक भने युएनडिपीले लकर सहितको पिजन हल उपलब्ध गराएको छ ।सचिवालयमा हालसम्म पुस्तकालयको व्यवस्थापन भने भइसकेको छैन । नयाँ बन्ने प्रिफ्याब भवन वा खाली रहेका कुनै कोठालाई सचिवालयले पुस्तकालय बनाउने तयारी गरिरहेको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट गण्डकीमा ३६ जना प्रत्यक्षमा ३६ जना प्रदेशसभा सदस्य निर्वाचित हुन्छन । ४० प्रतिशतका दरले २४ जना चाहिँ समानुपातिकबाट आउनेछन । कुल ६० सदस्यिय गण्डकी प्रदेशसभामा समानुपातिकबाट निर्वाचित हुने सांसदको टुंगो पनि लगभग लागिसकेको छ ।निर्वाचन आयोगले अन्तिम टुंगो लगाइसकेपछि मात्रै सांसदहरुको सपथग्रहणको तयारी सुरु हुनेछ ।प्रदेश प्रमुखले ज्येष्ठ प्रदेशसभा सदस्यलाई सपथ खुवाउनेछन भने ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ खुवाउनेछन । औपचारिक रुपमा सपथग्रहण गरिसकेपछि नै सभामुख÷उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुन्छ । सरकार गठनको प्रक्रिया पनि सपथग्रहण पश्चात नै सुरु हुनेछ ।





