पोखरा/ समानुपातिकमा एक÷एक सिट पाएर गण्डकीमा सांसद बनेका दुई दल राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी (तत्कालीन नयाँ शक्ति पार्टी नेपाल) प्रदेशसभाको दोश्रो निर्वाचनमा भने बाहिरिएका छन । चित्रबहादुर केसी उनृतउत्वको राजमो र बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट अघिल्लो निर्वाचनमा एक÷एक जना समानुपातिक सांसद बनेका थिए ।
तर, पाँच वर्षमा नै जनमोर्चा बाहिरियो । बाबुराम भट्टराइको पार्टीले चाहिँ माओवादीलाई समर्थन ग¥यो । माओवादीलाई समर्थन गर्दा अघिल्लो निर्वाचनमा समानुपातिकमा ३ सिट पाएको माओवादीको समानुपातिक मत बढ्दा चार सांसद आउने आँकलन थियो । तर, त्यसो हुन सकेन ।
यी दुई दल आउट हुँदा राप्रपाले भने गण्डकीमा दुई सिट पाएको छ । प्रत्यक्षमा एक सिट नजितेतापनि राप्रपाले समानुपातिकमा दुई सिट पाएको छ । यो पार्टीबाट को सांसद बन्छन भन्ने चाहिँ टुंगो लागिसकेको छैन ।
ठुला दल, एमाले, कांग्रेस र माअोवादीको समानुपातिकमा अघिल्ले निर्वाचनको तुलनामा मत घटेतापनि सिट संख्या भने कायमै राख्न सफल भएका छन ।
गण्डकीका २४ समानुपातिक सिटमध्ये एमालेले १०, कांग्रेसले ९ र माओवादीले ३ सिट जितेका हुन ।
समग्रमा एमालेले ३ लाख ६७ हजार ९८९, कांग्रेसले ३ लाख ४९ हजार ६२८, माओवादीले १ लाख १६ हजार ९४५ मत पाए ।
चौथो बनेको राप्रपाले ५९ हजार ४८३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३७, नेकपा एस ले १५ हजार ७६ र जनमोर्चाले १४ हजार ९४० मत पाएको निर्वाचन आयोगको वेवसाइटमा उल्लेख छ ।
गण्डकीमा कुल खसेको मत मध्ये ९ लाख ८५ हजार ८०२ मत सदर भएको थियो । प्रदेशसभामा १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ । यो भनेको १४ हजार ७८७ मत हुन आउँछ । थ्रेसहोल्ड कटाएतापनि हाम्रो नेपाली पार्टी, नेकपा एस र जनमोर्चाले भने सांसद पाएनन ।
समग्रमा एमाले पहिलो
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा दलहरुले पाएको समानुुपातिक मतको बाँडफाँट गरेको छ । ११० प्रतिनिधीसभा र २२० प्रदेशसभा समानुपातिक सिटतर्फ एमाले पहिलो छ भने कांग्रेसले पछ्याएको छ ।
आयोगले बुधबार जारी गरेको अन्तिम विवरणअनुसार एमाले संघ र ४ प्रदेशमा पहिलो दल बनेको छ ।
आयोगका अनुसार संघमा ३४ सिट पाएको एमालेले प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, वाग्मतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिमा ७ सिट एमालेले समानुपातिकमा पाएको छ ।
यस्तै मधेस प्रदेशमा पहिलो दल बनेको कांग्रेस समग्रमा दोस्रो दलमा बन्न पुग्यो ।
केन्द्रमा ३२ सिट पाएको कांग्रेसले प्रदेश १ मा १२, मधेशमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सिट पाएको छ ।
यस्तै माओवादी केन्द्रले संघमा १४, प्रदेश १ मा ४ मधेशमा ४ र वाग्मती प्रदेशमा ७ सिट पाएके छ । गण्डकीमा ३, लुम्बिनी ४ , कर्णालीमा ४ र सुदुरपश्चिममा ३ सिट पाएको छ ।
समानुपातिक मततर्फ जम्मा एक करोड पाँच लाख ६० हजार ८२ मत गणना भएको थियो ।
जसमध्ये नेकपा एमालेले सबैभन्दा धेरै ल्याएको थियो । एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको थियो भने कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो ।
राप्रपाले पाँच लाख ८८ हजार ८४९ मत प्राप्त गर्दा जसपा छैठौं स्थानमा थियो उसले चार लाख २१ हजार ३१४ मत प्राप्त गरेको छ ।
जनमत पार्टी सम्म राष्ट्रिय पार्टी कायम भएको छ । राष्ट्रिय पार्टीको संख्या सात कायम भएको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेको थियो ।
नेकपा एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय पार्टी बन्न सकेन । उसले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको थियो ।
नेकपा एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीले पछ्याएको थियो । उसले २ लाख ७१ हजार ७२२ मत ल्याएको थियो ।





