बागलुङ/ राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङको प्रथम जिल्ला अधिवेशन शुक्रबार पञ्चकोटमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले लोकसंस्कृति र नेपाली मौलिकता जोगाउन लोकभजनको संरक्षण र जगेर्ना गर्नुपर्ने बताए । लोकभजन चुट्काको माध्यमबाट धर्म संस्कृति र संस्कारको संरक्षण तथा विकास गर्नुपर्नेमा पराजुलीको जोड थियो ।
कार्यक्रमा पञ्चकोट धामका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले लोकभजन मनोरञ्जनको लागि नभै धर्म संस्कृति संस्कारसंग जोडिएको बताए । उनले संस्कृतिमा पनि बिकृति मौलाउदै गएको भन्दै भजन मानवजीवनलाई सहि मार्गतर्फ डो¥याउँदै मुक्तिमार्गसम्म पु¥याउने माध्यम भएको प्रपन्नाचार्यले चर्चा गरे ।
सो अवसरमा लोकभजन चुट्का संरक्षण समितिका केन्द्रिय महासचिव तुलसी प्रवास खनाल, सचिव खगेन्द्र पराजुली, विश्व हिन्दु महासघंका केन्द्रिय सदस्य जगन्नाथ आचार्य, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष सरस्वती खड्का परियार, लोकभजन चुट्का संरक्षण समितिका प्रदेश सदस्य झपेन्द्र क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय लोकभजन चुट्का संरक्षण तदर्श समितिका संयोजक टेक बहादुर केसी संगमको अध्यक्षता र सदस्य भिम पौडेलको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो । कार्यक्रमको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।





