पोखरा / पोखराका शम्भु थापाको निर्देशनमा नेपाली फिल्म ‘हुक्का’ फिल्म आगामी चैत्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माताको अनुभव बटुली सकेका थापाको यो डेब्यु निर्देशन हो । डेब्यु निर्देशन भएपनि सोचे भन्दा सहज भएको उनको भनाई छ । फिल्ममा प्रकाश घिमिरे, सन्तोष कुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा वि.क.आदी कलाकारको अभिनय हेर्न पाइनेछ ।
फिल्मको कार्यकारी निर्मातामा कमल बहादुर भुजेल, किरण कुमार आत्रेय रहेका छन् । निर्माता पार्वती थापा, सुशिला गुरुङ, सागर गोदार थापा हुन् । फिल्मको कथा सन्तोष कुमार आत्रेयले लेखेका हुन् भने पटकथा लेखनमा आत्रेयलाई भगवान पौडेलले साथ दिए । फिल्ममा पैसाको महत्व तथा पैसाको कारण जीवनमा आएका विभिन्न उतारचढावलाई आर्कषक ढंगले पस्किएको लेखक आत्रेयले खुलाए । ‘फिल्म सामाजिक कथामा बनेको छ, फिल्ममा पैसाको महत्व, जीवनमा आएका विभिन्न उतार चढावलाई समावेश गरिएको छ । आशा छ फिल्मले दर्शकको माया र साथ पाउनेछ’ उनले भने । फिल्ममार्फत् गाउँघरमा हुने घटनालाई जस्ताको तस्तै पस्कन खोजेको निर्माण टिमको दावी छ ।
दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा सिनेमेट्रोग्राफरको जिम्मा कृष्ण बहादुर थापाले र रंग संयोजनको जिम्मा राजेन्द्र मोक्तानले पूरा गरेका हुन् । सहायक निर्देशकमा भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री, सुयोग आत्रेय र मुख्य सहायक निर्देशकमा भगवान पौडेल(मीठो कम्पन) रहेका छन् । १ करोड १० लाख भन्दा बढीको लगानीमा निर्माण भएको फिल्मको छायाकंन पोखरा आसपासका ग्रामिण भेगमा गरिएको हो ।
स्पाइनी बाबलर क्रियसनले ह्यास ट्याग नेपालसँगको सहकार्यमा फिल्म निमार्ण भएको हो । फिल्मको फस्ट लुक समेत हालै सार्वजनिक भएको छ । पोखराबाटनै वर्षको एउटा फिल्म निर्माण गर्ने योे टिमको योजना रहेको छ ।
निर्देशक थापाको यात्रा
हुक्काबाट निर्देशनमा डेब्यु गरेका शम्भु थापाको कलाकारीता क्षेत्रको यात्रा नाटकबाट भएको हो । २०५२ सालमा मञ्चन भएको यो नाटकको नाम ‘कठोर’ थियो । सञ्जय लामाको निर्देशनमा तयार भएको यो नाटक पोखरा सभागृह हलमा मञ्चन भएको थियो । नाटकमा गाउँले पात्रको रुपमा उनले अभिनय गरेका थिए । विभिन्न सडक नाटकमा काम गरें ।
थापाले पोखराको गोल्डेन आइ टेलिभिजनबाट प्रसारित भएको टेलिसिरियल ‘कञ्जुस बुढो’मा कलाकार र निर्माताको रुपमा काम गरें । यसका अलावा अन्य वृत्तचित्र निर्माण समेत सक्रिय बनें । उनले निर्देशन गरेको ‘जीवनको दोबाटो’ टेलिसिरियल गण्डकी टेलिभिजनबाट प्रसारण भएको थियो । म्युजिक भिडियो निर्देशन मात्र नभएर फिल्म तथा टेलिफिल्ममा कलाकारको रुपमा समेत आफ्नो प्रतिभा बाहिर ल्याए ।
यसरी काम गर्दा पनि उनी पूर्ण सन्तुष्ट हुन सकेनन् । पोखराबाटनै केही गर्नुपर्छ भन्ने रहर मनबाट पलायो । एउटा राम्रो टिममार्फत् काम गर्ने योजना बन्यो । त्यसपछि स्पाइनि बाबलर क्रियसन कम्पनी दर्ता भयो । शम्भु थापासहित सन्तोष कुमार आत्रेय, किरण कुमार आत्रेय, मिलेर कम्पनी स्थापना भएको हो । सोही कम्पनी मार्फत नेपाली फिल्म ‘धौली’ निर्माण गरियो । धौलीमा अर्जुन गोदारले समेत उनीहरुलाई साथ दिए । घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्ममा निर्माता र कलाकारको रुपमा थापाले जिम्मेवारी पुरा गरें ।
फिल्मले योे टिमलाई परिचित गरायो । फिल्म निमार्ण गर्न काठमाडौं नै बस्नु पर्दैन पोखराबाट समेत राम्रा फिल्म निर्माण गर्न सकिन्छ भन्ने सन्देश यो टिमले छ¥यो । ‘फिल्म धौली पछाडि अब कसरी गर्ने भनेर टिममा छलफल भयो । धौली–२ गर्ने कुरा थियो । सन्तोषकुमार आत्रेयले स्क्रिप्ट बनाए । गाउँले परिवेशको सामाजिक कथा सबैलाई राम्रो लाग्यो । र, हुक्का निर्माण गर्न कस्सियौं’, थापाले भने ।
थापासहितको टिमले लामाचौरमा हिमाज सिनेमाहल सञ्चालन समेत गरेको छ । यो ७५ सिटको हल हो । यसमा थापा सहितका व्यवसायी समूहको लगानी छ । यो समूहले नेपालका विभिन्न ठाउँमा हल सञ्चालन गर्ने योजना बनाएपनि कोरोनाका कारण सो योजनामा बाधा पुग्यो ।
त्यसो त निर्देशक थापाको जन्म पोखरा महानगरपालिका वडा नम्बर १८ ग्यारजातिमा भएको हो । बाल्यकालमा मिजासिलो स्वभावका उनको अभिनय तर्फ समेत रुचि थियो । झण्डै १० वर्ष शिक्षण पेशा गरेका थापा पर्यटन व्यवसायमासमेत क्रियाशिल छन् ।





