पोखरा / जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ चालक तथा परिचालकलाई ट्राफिक प्रशिक्षण दिएको छ । पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना बढ्न थालेपछि त्यसको न्युनिकरण गर्नकालागि चालक तथा परिचालकलाई सचेतना तथा प्रशिक्षण गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए ।
उनका अनुसार मंगलबार देखी आजसम्म ट्राफिक प्रहरी कार्यालयकै प्राङ्गणमा प्रशिक्षण दिइएको हो । उक्त प्रशिक्षणमा पोखरा यातायात प्रा.लि.मा आबद्ध ४ सय ७० चालक तथा परिचालक, बेगनास पोखरा यातायात प्रा.लिं. आबद्ध एक सय ८०, पृथ्बीराजमार्ग यातायात कम्पनी प्रा.लि.मा आबद्द १ सय ४३ जना,फेवा यातायात प्रालिमा आबद्द ७० जना ,पोखरेली ट्याक्सी सेवा प्रा.लि.मा आबद्द ४५ जना चालक गरी कुल ९ सय ८ जना चालक तथा परिचालहरुलाई सडक सुरक्षा सम्बन्धमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम दिएको उनले बताए ।
कार्यक्रममा प्रहरी बरिष्ठ नायब निरीक्षक तथा प्रवक्ता शिब प्रसाद पाठक, प्रहरी बरिष्ठ नायब निरीक्षक प्रबिण आचार्य, प्रहरी बरिष्ठ नायब निरीक्षक होत बहादुर रोका, नागरिक समाजका संयोजक राम बहादुर पौडेल र सम्बन्धित यातायात कम्पनिका संचालक प्रतिनिधिहरुले आफ्नो भनाइ राखेका थिए ।
ट्राफिक नियम, सवारी दुर्घटना कारण, सवारी दुर्घटनाबाट हुने क्षति, ट्राफिक नियम सम्बन्धित कानुनी ब्यबस्था, लागु पदार्थ दुर्ब्यसनी, बोली व्यवहार लगायत चालक परिचालकहरुको जिम्मेवारी र कर्तव्य सम्बन्धमा प्रशिक्षण दिइएको थियो।





