ललितपुर / आफ्नै घरमा काम गर्ने १४ वर्षीया नाबालिगमाथिको बलात्कारमा व्यापारी सुशील चटौतलाई १८ वर्ष १ महिनाको कैद सजाय भएको छ । जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले चटौतलाई जेल सजायका अतिरिक्त पीडितलाई ८ लाख क्षतिपूर्ति भराउन फैसला गरेको हो।
आफ्नै संरक्षणमा रहेकी नाबालिगमाथि बलात्कार गरेको पुष्टि भएपछि चटौतलाई १८ वर्ष लामो कैद सजायको फैसला भएको हो । लामो समयदेखि आफ्नै घरधनीबाट बलात्कारमा परे पनि बालिका न्यायिक प्रणालीको ढिलाइको सिकार र परिवारकै सदस्यको चर्को दबाबमा परेकी थिइन् ।
अनुसन्धान नसकिँदै पीडितलाई अस्पतालबाट उठाई होस्टाइल बनाएर कसुरबाट उम्किन खोजे पनि सुशीललाई न्यायाधीश अधिकारीको इजलासले चैत १५ मा कसुरदार ठहर्याएको हो। कसुर निर्धारणका लागि आज पेशी तोकिएको थियो।
३८ वर्षीय सुशीलले १४ वर्षीया बालिका (०७८/०७९ सातदोबाटो (९८) लाई जबर्जस्ती करणी गरेको अभियोग लागेको थियो। राजनीतिक शक्ति प्रयोग गरेर सुशीलको परिवारले आरोपबाट उम्किने प्रयत्न गरेको थियो ।
शुरूमा प्रहरीले जाहेरी लिन नमाने पनि राष्ट्रिय बाल अधिकार परिषद्को दबाबमा २०७८ चैतमा सुशीललाई प्रहरीले पक्राउ गरेको थियो। ललितपुर इमाडोलको ग्रिनहिल सिटीमा रहेको उनको घरमा बालिका पढ्दै घरेलु कामदारको रुपमा बसेकी थिइन्।
झोक्राउने, पढाइमा ध्यान नदिई टोलाइरहेपछि महालक्ष्मी नगरपालिकामा अवस्थित महेन्द्र आदर्श माविकी एक शिक्षिकाले बालिकामा गम्भीर समस्या भएको आकलनसहित इमाडोल प्रहरी प्रभागमा बुझाइदिएकी थिइन्। तर, बालिकाले केही नखुलाएपछि प्रहरीले राष्ट्रिय बालअधिकार परिषद् मातहतको बाल हेल्पलाइनलाई बुझाएको थियो।
वेला वेला बेहोस् बनेकी बालिकालिाई हेल्पलाइनले उपचारका लागि महाराजगञ्जस्थित मेट्रो अस्पताल भर्ना गरेको थियो। तर, अस्पतालबाटै बालिकालाई अभिभावकले अनुसन्धानरत प्रहरी र संरक्षक परिषद्लाई जानकारी नदिई लगेका थिए।





