पोखरा/ कास्की प्रहरीले विभिन्न खालका लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । आइतबार साँझ करिब ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ८ इन्द्रपुरी टोलबाट ३७ वर्षीय दिक्षित तुलाचन लागुऔषध सहित पक्राउ गरेको हो ।
उनको कोठा खानतलासी गर्दा ८ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, ब्रुफिन ८७ एम्पुल, डाइजापाम ७० एम्पुल, फेनारगन ६७ एम्पुल गरी कुल २०४ एम्पुल, गाँजा ४७० ग्राम, नाइट्रोभ्याट ३०५ ट्याब्लेट, डिजिटल तराजु दुई थान र मोबाइल एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्र्यालय कास्कीको समन्वयमा तुलाचनलाई पक्राउ गरेको हो ।
तुलाचनलाई प्रहरीले पटकपटक पक्राउ गरेपनि पक्राउ पर्ने वित्तिकै छुटाउने गरेको थियो । उनलाई तुलाचन फेन्सीबाट पटक पटक पक्राउ गरिएपनि शक्तिको आडमा छाड्ने गरेका थिए । उनी तत्कालै छुट्दा स्थानीयहरु नै अचम्ममा पर्ने गरेका थिए । २०७७ भदौ २६ गते शुक्रबार अपरान्ह ४ वजे आफ्नै पसल तुलाचन फेन्सी पृथ्वीचोकबाट पक्राउ परेका दिक्षित तुलाचन डेढ घण्टामै छुटेर पसल पुगेका थिए ।
करिव ४ वजे सादा पोसाकका प्रहरीले स्क्रिनिङ गर्दै पछ्याएर पक्राउ परेका तुलाचन र उनका कर्मचारीलाई वैदाम प्रहरीको भ्यानमा हत्कडी लगाएर ठूलै अपराधीलाईझैँ पक्राउ गरिएको थियो । तर,तुलाचनलाई छुटाउन प्रहरी निकै हतारिएको थियो ।
वैदाम प्रहरीमा डिएसपी यादव ढकाल हुँदा लागुऔषध कारोवार गर्ने गरेको सुराकीपछि उनी पक्राउ परेका थिए । त्यतिबेला तुलाचनको पसलबाट झण्डै एक मिटर लामो तरवार समेत प्रहरीले वरामद गरेको थियो । तुलाचन गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनको नातेदारसमेत हुन । स्रोतका अनुसार तुलाचनलाई लागुऔषधसहित पक्राउ गरे पनि फोनको भरमा यसअघि छाडिँदै आएको थियो । उनी नेकपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका गोपी तुलाचनका छोरा हुन् । पटकपटक पक्राउ परेको विषयमा कास्कीका प्रवक्ता विकसँग जानकारी लिँदा अनुसन्धान भइराखेको जानकारी दिए । ‘यो विषयमा अनुन्धान भइरहेको छ,’ उनले भने । दिक्षितविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको विकले जानकारी दिए ।





