बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा बाढीले जिप बगाउँदा एक जनाको मृत्यु दुई जना बेपत्ता

पर्वतमा बाढीले जिप बगाउँदा एक जनाको मृत्यु दुई जना बेपत्ता


  • संजय रेग्मी
  • असोज १४ २०८०, आइतबार

पर्वत / शनिवार साँझ भएको भीषण वर्षासँगै आएको बाढीले जिप बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

भीषण वर्षापछि मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका ७ र ८ को सिमानाका रूपमा रहेको तमादी खोलामा आएको ठुलो बाढीमा पर्दा बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप नै बगाएको थियो । जिपमा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाका गोपाल बस्यालको शव फेला परेको छ भने अन्य दुई जनाको अवस्था अज्ञात छ । मृत भेटिएका गोपालको शव पर्वत अस्पतालमा राखिएको छ भने उनका आफन्तहरू रुपन्देहीबाट पर्वत आउँदै छन् ।

बेपत्ता दुई जनाको अझैसम्म पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए । घटना लगत्तै पुगेको सुरक्षाकर्मीहरूको टोलीले तमादी खोला र उक्त खोला मिसिने मोदी खोलासम्म नै खोजी गरेको भए पनि तत्कालै जिप र त्यसमा सवार यात्रुहरूको बारेमा पत्ता लाग्न सकेन । पछि भने जिप करिब चार सय मिटर तल मोदी खोलाको किनार नजिकै भेटिएको डि.एस.पी भुसालले बताए ।

‘खोलामा अचानक ठुलो बाढी आएपछि जिप बगाएको हो । घटना लगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जिपको खोजी गर्दा करिब चार सय मिटर तल जिप भेटियो’, उनले भने, ‘बेपत्ता रहेका तीन जनामध्ये एक जनाको शव भेटिएको भए पनि अरू दुई जनाको अवस्था अज्ञात छ । उनीहरूको खोजी कार्य जारी नै छ ।’

बाढीले जिप नै बगाएर मानिस नै बेपत्ता बनाएको यो नै पहिलो घटना भने होइन। दीर्घकालीन असरको मूल्याङ्कन नगरी खनिएका मोटरबाटोहरुबाट एकोहोरिएर आउने बाढीका कारण वर्षा यामको समयमा साना खोलाहरूमा पनि अनियन्त्रित बाढी आउने गरेको छ । यस अघि २०७८ सालको असार २२ गते साँझमा तमादी खोलापछि आउने दोबिल्लामा रहेको सुन्दरे खोलामा यसै गरी आएको बाढीले मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित तीन जनालाई गाडी सहित बगाएको थियो । त्यो बेलाको बाढीले पनि जिपलाई करिब पाँच सय मिटर तल मोदी खोलाको किनारमा पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->