बागलुङ/ कुश्माको तमादीखोला बाढीले जिप बगाउँदा बेपत्ता भएका दुईजना अझै फेला परेका छैनन् । गत शनिबार बेलुकीको वर्षात्पछिको बाढीमा तीन यात्री बगेका थिए । तीमध्ये एकको शव भेटिएको दुई जना अझै बेपत्ता हुन् ।
बेपत्ताको खोजी गर्न बागलुङ र कुश्मा नगरपालिकाका उपकरण, जनशक्ति सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । बागलुङ नगरपालिकाको दमकल र नगर प्रहरी बेपत्ताको खोजीमा परिचालन गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
दमकलको फोहोराबाट पहिरोको माटो र ढुंगा पन्छ्याउने काम गरिएको हो । खनीखोस्री मात्र गर्दा भेटाउने संभावना कम भएपछि कुश्मा नगरपालिकाको आग्रहमा बागलुङ नगरपालिकाले जनशक्तिसहित दमकल पठाएको हो । दुई नगरपालिकाका दुई दमकलले खोलाको पुरिएको स्थानमा माटो र ढुंगा पन्छ्याउने काम भैरहेको हो ।
खोजी तथा उद्धार कार्यमा बागलुङ पोखरा सडकअन्र्तगत कुश्माको तमादी खोलामा एक सयबढी सुरक्षाकर्मीहरु निरन्तर परिचालन गरिएको पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले जानकारी दिए । गत शनिबार बेलुकी अचानक आएको वर्षातपछि तमादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्बरको जिप बगाएको थियो । शनिबार बेलुकी ७ बजे कुश्मा नगरपालिका वडा नंं. ७ र ८ को सीमानामा पर्ने तमादीखोलाले बगाएको जानकारी पाउनासाथ प्रहरी र सेनाले खोजी थालिसकेको थियो । शनिबार राति नै एक जनाको शव भेटिए पनि तीन दिनसम्म बाँकीको पत्ता नलागेको हो ।
खोलामा पुलसमेत बन्दैछ । हाल संचालनमा रहेको कजवे तर्न नसकेपछि जिप चालक बसन्त थापाले झरेर ढुंगा पन्छ्याउन खोज्दा एक्कासी बाढी उर्लेर आएको र त्यसले जिप बगाएको पर्वत प्रहरीको भनाइ छ । बाढीले जिपलाई झण्डै ७ सय मिटर तल पु¥याएको थियो । जिप टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का गोपाल बस्यालको मात्रै शव फेला परेको छ । बागलुङको ताराखोलाका ५१ वर्षीय डम्बर थापा र पोखराका ३४ वर्षीय माधव पौडेल बेपत्ता छन् ।
दुवै नगरपालिकको बिपत शाखाको टिम, नगर प्रहरी र दमकल परिचालन गरिए पनि पत्ता लाग्ने संभावना भने कमजोर भइसकेको टोलीले बताएका छन् । शवलाई बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको हुन सक्ने खोजी टोलीले बताए ।
घटनास्थलमा बेपत्ताका आफन्त पनि पुगेका छन् । शव भेटिने संभावना कम भएको भन्दै पीडितहरु निराश छन् । बाढीले एक किलोमिटर परको मोदी खोला सम्मको दायाँबायाँ ठूलो क्षति पु¥याएको छ । बाढी पसेर पूर्वतर्फको ३ सय मिटर सडक पनि हिलाम्मे छ ।
सडकको माथिल्लो भागमा धेरै गिटीढुंगा थुप्रेको छ । जसका कारण पानी पर्नासाथ फेरि बाढीको रुप देखिन सक्ने खतरा छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले पहिरो पन्छ्याउन र हाल खोजीमा सहयोग गर्न डोजर राखेर संचालन गरिरहेको छ । बिपत भएकोले सबै क्षेत्रले साथ दिएकोले खोजीमा कमजोरी भने नभएको पौडेलले बताए ।





