बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतको तमादी खोलाबाट बेपत्ता भएका माधवको शव स्याङ्जाको मिर्मीमा भेटियो

पर्वतको तमादी खोलाबाट बेपत्ता भएका माधवको शव स्याङ्जाको मिर्मीमा भेटियो


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८०, मंगलबार

पर्वत/ गत शनिबार आएको बाढीले जिप सहित तीन जनालाई बगाउँदा बेपत्ता बनेका थप एक जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का विजय भनिने २७ वर्षीय माधव पौडेलको शव बेपत्ता भएको चौथो दिनमा स्याङ्जाको मिर्मि स्थित कालीगण्डकी नदीमा फेला परेको हो ।

गत असोज १३ गते साँझ करिब साढे छ बजेको समयमा तमादी खोलामा अचानक आएको बाढीले जिप नै क्षत विक्षत बनाउँदै बगाएको थियो । करिब चार सय मिटर तलसम्म जिप बगाएकोले बेपत्ता रहेका दुई जनाको खोजी बाढी आएको क्षेत्रमा नै बढी केन्द्रित गरिएको थियो । तर शव कालीगण्डकीमा भेटिनुको अर्थ तमादी खोला मोदी खोलामा मिसिन्छ भने मोदी खोला मोदीबेणीधाममा पुगेर कालीगण्डकी नदीमा मिसिन्छ । मिर्मीमा विद्युत् निकाल्नको लागि कालीगण्डकी नदी थुन्दा ताल जस्तै बन्छ । यही कारण पौडेलको शव पर्वतबाट स्याङ्जा पुगेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहित बेपत्ता भएकाहरूका आफन्तहरूले तमादीसहित मोदी खोला र कालीगण्डकी नदीमा पनि खोजी जारी राखेका थिए। सोही क्रममा मङ्गलवार बिहान स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गत मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाका बाँधमा युवकको शव भेटिएपछि प्रहरीले फोटोमार्फत पहिचानका लागि परिवारलाई पठाएको थियो । फोटोको आधारमा परिवारले शव माधवकै रहेको बताएको र थप पहिचानको लागि आफन्तहरू सहित परिवारका सदस्यहरू पनि मिर्मि जाँदै छन् । उनीहरूले शव माधवको नै भएको यकिन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइने छ ।

जिपमा सवार पौडेलकै साथी रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ बर्षिय गोपाल बस्यालको शव भने सोही राती नै उद्धारकर्मीहरूले फेला पारेका थिए । जिपसँगै बगेका दुई जनाको शव भेटिए पनि बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा भने अझै पनि बेपत्ता नै छन् ।

गत शनिबार बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा रोकिएको बेलामा अचानक आएको बाढीले बगाएको थियो । बाटो पार गर्ने क्रममा लेदोमा जिप फसेपछि चालक वसन्तबहादुर थापा जिपबाट ओर्लिएर ‘टायर’ मा लागेको अवरोध हटाउन पुगे । त्यही बेलामा बाढी आएपछि थापाले ज्यान बचाउन सके तर जिपभित्रै रहेका तीन जना यात्रु भने जिपसँगै बगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->