पोखरा/चार वर्ष अगाडि २०७६ कात्तिकमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमण गरेका थिए । उनले फेवातालमा डुंगा शयर गरे, रुपाकोट रिसोर्टबाट हिमाल र पोखरालाई हेरे । त्यतिबेला उनी पोखराको प्राकृतिक सुन्दरतासँग मोहित भएर आफ्नो देश फर्के । उनको भ्रमणलाई पोखराका पर्यटन व्यवसायीले निकै आशातीत तरिकाले लिए ।
भिभिआइपीका रुपमा बंगलादेशी राष्ट्रपति पोखरा आएको चार वर्षपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेस सोमबार पोखरा आउँदैछन । उनको कार्यतालिका तय भइसकेको छ भने सुरक्षाका चारै निकायले उनको भ्रमण तालिकालाई सफल बनाउन सक्रियताका साथ लागिपरेका छन । नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने जनाइएको छ । राष्ट्रसङ्घका महासचिवको झन्डै १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सोमबार महासचिव गुटरेस पोखरामा नै रहनेछन । सोमबार उनले पोखराकै फिस्टेल लजमा रात बिताउनेछन । मङ्गलवार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था मजबुत पारिएको प्रजिअ घिमिरेले जानकारी दिए ।
महासचिव गुटरेस अन्नपूर्ण आधार शिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रूपमा चर्चा कमाएको अन्नपूर्ण हिमालको आधार शिविरमा संयुक्त राष्ट्र सङ्घका महासचिव स्वयम् आउन लागेको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताए ।
स्थानीयले गुटेरेसको स्वागतको भव्य तयारी गरेका छन् । जनप्रतिनिधि लगायत अगुवाहरूको टोली सोमबार दिउँसोसम्म एविसी पुग्ने तयारीमा छन् । केही हिँडिसकेका छन् भने केही जाने तर्खरमा छन् । एविसीमा सबै व्यवस्थापनको जिम्मा छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।
गुटेरेस केही समय बेसक्याम्पमा रहनेछन् । स्थानीयसँग भलाकुसारी गर्ने कार्यक्रम छ । उनलाई अन्नपूर्ण बेसक्याम्पको फोटो फ्रेममा हालेर कोसेली स्वरूप दिन लागिएको गुरुङले बताए ।
त्यहाँबाट पोखराको पुरानो विमानस्थलमा फर्किने र पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ ।





