सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

हरित यातायात प्रणाली सिक्न महानगरको टोली कोरियातिर

हरित यातायात प्रणाली सिक्न महानगरको टोली कोरियातिर


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

पोखरा/हरित यातायात प्रणाली विकास परियोजनाबारे कोरियाली रेलमार्ग अनुसन्धान संस्थान (केआरआरआई) द्वारा कोरियामा आयोजित हरित यातायातसम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको नेतृत्वमा जनप्रतिनिधि सहित ९ सदस्यीय प्राविधिकहरूको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

टोलीमा प्रमुख प्रशासकीय अधिकृत थापा सहित कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, महानगरपालिकाको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सिना, ई.सुरेन्द्र पौडेल, ई.ध्रुवराज भट्टराई, लेखा अधिकृत अर्जुन बराल, योजना अनुगमन महाशाखा प्रमुख कृष्ण तिवारी, ई.सुदीप दवाडी र सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना रहेका छन् ।

टोली अक्टोबर ३० देखि नोभेम्बर ०४ सम्म केआरआरआई र सम्बन्धित सरकारी संस्थाहरूद्वारा कोरियामा आयोजित कोरियाली सहरहरूमा हरित यातायात व्यवस्थापन र यस सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछ । हरित यातायात प्रणालीको विकास र व्यवस्थापनका विषयमा टोलीले कोरियाली विज्ञहरूसँग छलफल तथा अन्तरक्रिया पनि गर्नेछ । पोखरेली प्रतिनिधि मण्डलले कोरियाको सहरी यातायात प्रणालीमा नवीन विकासको वास्तविक क्षेत्रहरूको अनुभव र अवलोकन पनि गर्नेछ ।

पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्न सम्भावित उपायहरूको खोजी गरिने टोली प्रमुख थापाले बताए । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।

तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियाले विश्वास दिलाएको छ ।

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोकदेखि बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।

यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेडसहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->