पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले तथ्य पत्ता लगाएमा थप १ हजार डलर बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने बताएका छन् ।
पोखरामा सोमवार आयोजना गरिएको पार्टीको प्रदेशस्तरीय विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि त्यस्ता गलत आरोपहरु लगाइरहने बताए । कम्बोडियामा आफूले लगानी गरेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने उनले बताए ।
‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने । धेरै नाफाको बिजनेस म बताइदिन्छु उहाँहरुलाई । त्यो पत्ता लगाउन जानुहोस्, पत्ता लगाउनुहोस्, त्यसमा एकहजार रुपैयाँ थपेर त्यो पनि तपाईंकै नाउँमा गरिदिन्छु,’ एमाले अध्यक्ष ओलीले भने ।
ओलीले कम्बोडियामा लगानी गरेको विषयमा केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आरोप लगाएका थिए । सोही आरोपलाई लिएर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रसाईँलाई पक्राउ गर्न माग गरेको समाचार बाहिरिएका थिए । ओलीले त्यसको पनि खण्डन गरेका छन् ।
‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ, काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन,’ उनले भने ।
उनले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा जारी भएपछि नै भारतीय मिडियाहरुले आफ्नोबारेमा अनर्गल प्रचार गरेको बताए । ‘यथार्थ के हो भने, त्यो हाम्रो जमिन हो । हामीले हाम्रो नक्सामा सामेल गरेर छाप्यौँ । त्यसपछि भारतीय सञ्चारमाध्यमले तथानाम, जथाभावी बोल्न थाले । त्यसै सिलसिलामा उनीहरुले बोलेका अनेक अनर्गल कुराहरु, एउटा जी न्यूज भन्ने छ, त्यसले बोलेका अनेक अनर्गल कुराहरुमध्ये एउटा यो पनि थियो कि, कम्बोडियाको दूरसञ्चारमा केपी ओलीले तीन हजार करोड लगानी गरेको छ रे । त्यो पनि एउटा थियो,’ ओलीले भने ।
एमाले अध्यक्ष ओलीले थपे ‘अहिले आएर तीन वर्षभन्दा अघि एउटा मिडियाले प्रचार गरेर, गलत भयो भनेर सच्याइसकेर छाडिसकेको कुरो, अहिले नेपालमा हल्ला फिँजाएका छन् । हुँदाहुँदा अस्ति एकजनाले केपी ओलीले सिमरामा २७ बिघा जग्गा लिएर लुकाएको छ भन्ने पनि हल्ला चलाएछन् । गट्ठाघरमा ३७ रोपनीदेखि काठमाडौंका विभिन्न ठाउँमा विशाल भवन बनाएको हल्ला चलाए । उनले भने, “हल्ला चलाउँदा चलाउँदा अलिक थाकेका थिए, अहिले फुर्ती आएछ कि फेरि तातेका छन् । त्यो भनेको नेकपा (एमाले) लाई कसरी बद्नाम गर्ने त्यतिका लागि हो ।’
आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्नेसमेत कार्यकर्तालाई जानकारी गराए । उनले विगतमा आफ्नो पार्टीको विरोधमा ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन् भन्ने आरोप लगाएको पनि स्मरण सुनाए ।
उनले भुस्याहा कुकुर र मान्छेको प्रसंग झिक्दै पेट सबैको हुने तर के खाने के नखाने भन्ने कुरामा प्रष्ट हुनपर्ने भन्दै राज्यको ढुकुटीबाट गलत ढंगले एक पैसा पनि नखाएको पनि बताए।
‘मुख सबैको हुन्छ तर के खाने के नखाने भन्ने हुन्छ। राज्यको ढुकुटीबाट एक पैसा खाँदैन एमाले, केपी ओली भ्रष्ट छ भनेपछि नेकपा एमालेको नेतृत्व भष्टाचारी हुन सक्दैन,’ उनले थपे, ‘म मरेर बाँचेको मान्छे हुँ। मैले सम्पत्ति कमाएर थुपार्नुपर्ने कोही छैन। मेरी श्रीमतीले आफ्नो सम्पत्ति राज्यलाई दिएका छौं। मैले भ्रष्टाचार गरेर, अपराध गरेर सन्तानलाई हुर्काउन पर्छ भन्ने पनि छैन। भगवानका कृपाले मेरा छोराछोरी छैनन्।’
एमाले अध्यक्ष ओलीले देश संस्थागत भ्रष्टाचारको चंगुलमा फसेको र राज्यसत्ताबाटै दिनदहाडै डकैटी गरिएको आरोप पनि लगाए।‘देशको अवस्था गम्भीर छ। बनाउन धेरै समय लाग्छ तर बिगार्न छोटो समयमा सकिँदो रहेछ। आज राजनीतिक अस्थिरता छ। अनुशासनहीनता छ, अराजकता छ। आर्थिक रुपले देश टाट पल्टिने अवस्थामा छ। जम्माजम्मी बाहिर गएका हाम्रा भाइबहिनी, दाजुभाइले पठाएको रेमिट्यान्सबाट देश चलेको छ,’ उनले भने।
‘भन्सारबाट ३५ प्रतिशत कर उठ्दैन,तस्करी हुन्छ। एयरपोर्टबाट तस्करी हुन्छ, क्विन्टलका क्विन्टल तस्करी हुन्छ। बिजुलीको सिग्रेट भन्ने हुँदो रहेछ एयरपोर्टबाट पक्राउ गरियो साढे ९ किलोग्राम सुन निस्कियो,’ उनले भने, ‘डकैटी भएको छ देशमा देशमा डकैटी भएको छ। एयरपोर्टबाट साढे ९ किलो सुन पक्राउ गरियो। अहिले २ किलो बाँकी रहेको छ। त्यो त्यहीबाट बाँडे, त्यहीबाट खाए, कहाँ पुर्याउने हो त्यहाँ पुर्याए।’
प्यानल बनाएकोप्रति असन्तुष्टि तर परिणाम स्वीकार
अध्यक्ष ओलीले एमाले गण्डकीको चुनावमा प्यानलसहित भएको प्रतिस्पर्धाप्रति पनि असन्तुष्टि जनाए। ‘प्यानल बनाएर चुनाव लड्नु भो। केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भयो। तपाईंले त्यो गर्न सक्नुभएन चुनाव लड्नु हो। मेरो सुझाव के हो भने यो विचारबीच प्रतिस्पर्धा हैन, यो उदेश्यको लडाइँ हो,’ उनले भने, ‘हामीले भनेको त्यस गन्तव्यमा पुग्न नदिने शक्तिसँग मुकाबिला गर्ने हो त्यसलाई पराजय गर्ने हो। यस क्रममा तपाईंको प्रतिस्पर्धामा स्वच्छता कमी भएको जनस्तरको टिप्पणी छ। त्यसमा तपाईं सचेत हुनुपर्छ। किनकि घाटा आफैंलाई हुन्छ। मुख्य कुरा भनेको एकता हो।’
उनले पार्टीले भनेको मिसन ८४ भनेको एमालेको एकलौटी बहुमत हुने अवस्था भएको पनि बताए। ‘पार्टीले लुकाएर कुरा गरेको छैन, मिसन ८४ भनेको एकढंगले भन्ने हो भने एकलौटी गर्छ एमालेले। बुथ लुटेर हैन, जनमत जितेर एमलोले आफ्ना उम्मेदवारलाई जिताउँछ, हरेक वडामा एमालेको ५१ प्रशितशभन्दा माथि मत आउनुपर्छ त्यति मतदाता पु¥याउनुपर्छ’, उनले भने, ‘त्यसका लागि एमाले,इमान्दार,अनुशासित र सक्रियतासाथ लाग्नुपर्छ। इमान्दारितासाथ लागिएन भने पूरा हुँदैन।’
उनले अगाडि थपे, ‘हाम्रा कमरेडलाई सुझाव दिन चाहन्छु, एकतामा जोड दिनुहोस्। पहिलो कुरा घमण्ड हुनुहुँदैन। घमण्ड भयो भने विनम्रता, शालिनता घमण्ड दिमागमा पस्यो भने त्यसले मान्छेलाई सिध्याउँछ।’
प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष राम वहादुर थापा वादल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य खगराज अधिकारी र थममाया थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव धनञ्जय दवाडीले र स्वागत मन्तब्य उपाध्यक्ष मिन प्रसाद गुरुङले गरेका थिए ।
सो अवसरमा प्रथम अधिवेशनबाट निर्वाचित प्रदेश कमिटीका सदस्यहरुलाई अध्यक्ष शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने निर्वाचन समपन्न गरेकोमा निर्वाचन समितिका सदस्य तथा कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।





