पोखरा / ‘पुतली बाजे’ भनेर चिनिने कोलिन स्मिथको गएराती निधन भएको छ । ८७ वर्षका कोलिन स्मिथको उपचारका क्रममा पोखराको हरियोखर्क अस्पतालमा गएराति निधन भएको हो । उनले साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका थिए ।
नेपालमा पुतलीको अध्ययन र संरक्षणमा उनको योगदान छ । पुतलीको अनुसन्धानमा उनको योगदानको स्मरण गर्दै शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत समवेदना दिइरहेका छन् ।
स्मिथ वि.सं. २०२२ मा बेलायतबाट नेपालमा आएका हुन् । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर गोरखाको अमरज्योति स्कुलमा पुगेका थिए । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई उनका विद्यार्थी हुन् ।

उनको अन्त्येष्टि पर्सि कार्तिक २० गते पोखरा गाईघाट (आईएनएफ पछाडि) मा गरिनेछ । कार्तिक २० गते बिहान ८ बजे अस्पतालबाट उनको शव नयाँ गाउँको चर्चमा केही समय श्रद्धाञ्जलीको लागि राखिनेछ । त्यसपछि नदीपुर चर्चमा श्रद्धाञ्जलीका लागि लगिने अभियन्ता सुनिल उलकले फेसबुक मार्फत जानकारी दिएका छन् ।





