बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राजा महेन्द्रले शंकरपोखरीबासीलाई किन पानी खुवाउन सकेनन् ?

राजा महेन्द्रले शंकरपोखरीबासीलाई किन पानी खुवाउन सकेनन् ?


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८०, मंगलबार

पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २४० वर्षसम्म शासन गरेका राजाहरूबाट देशले विकास पाउन नसकेको बताएका छन् ।
दश वर्षे जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी) बाट हत्या गरिएका पर्वतका सहिद हरिदत्त तिवारीको स्मृतिमा आयोजित सभामा बोल्दै उनले लामो समयसम्म शासन गरेका राजाहरूबाट अहिलेको रफ्तारमा जस्तो विकास हुन नसकेको तर्क गरे ।

कार्यक्रममा बोल्दै शहीद पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले अहिले पनि फलेवास नगरपालिका–३ शंकरपोखरी पिउने पानीकै अभावमा छटपटाइरहेको बताउँदै तत्कालीन राजा महेन्द्रलाई आफ्ना बुबाले शंकरपोखरीमा पानीको व्यवस्था मिलाइदिन अनुरोध गरेका कुराहरू सुनाए ।
त्यसपछि आफ्ना भनाई राख्दै मुख्यमन्त्री पाण्डेले वर्षौँ अगाडि राजा महेन्द्रकासामु राखिएको पिउने पानी जस्तो गम्भीर समस्याको समाधान अहिलेसम्म पनि हुन नसकेको भन्दै राजाहरूले गरेको विकासमाथि प्रश्न गरे ।

‘हरिदत्तजीले उ बेलामा राजा महेन्द्रलाई शंकरपोखरीमा पिउने पानी भएन, यसको व्यवस्था मिलाइदिनुप¥यो भन्नुभएको रहेछ । तर, यहाँका जनताले अहिलेसम्म पनि पानीकै चुनौती भोगिरहेका छन् । अनि राजाले यहाँका नागरिकलाई पानी खुवाउनुपर्ने होइन ? उ बेला गरेको अनुरोधले अहिलेसम्म पनि जनताले पानी पाएनन् भनेपछि राजाले के गरे ?’ उनले भने, ‘अहिले पनि केहीले धर्म, संघीयता, लोकतन्त्रको विरोधमा टाउको उठाउन खोजिरहेका छन् । लोकतन्त्र र संविधानमाथि नै धावा बोल्ने प्रयास गरिरहेका छन् । पुराना राजावादीहरूले अहिले विभिन्न तरीकाले टाउको उठाउन खोजेको देखिन्छ ।’

राजाहरूको शासनकालको तुलनामा अहिलेको विकास निकै राम्रो भएको भए पनि आर्थिक सम्पन्नताको बाटो समात्न भने नसक्दा देश आर्थिक रूपमा बलियो हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए । अन्य पूर्वाधारहरूको विकास राम्रो भएको भए पनि आर्थिक विकास कमजोर नै रहेकोले गण्डकी प्रदेश सरकारले आफ्ना योजनामा आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । आर्थिक चहलपहल बढाउनको लागि युवालाई गाउँमा नै बस्ने वातावरण बनाएर कृषिमा लगाउनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले पश्चिमा शैलीको जीवन शैलीको लागि रहरले अमेरिका र अस्ट्रेलियाको जानेहरूको भन्दा परिवार पाल्नको लागि बाध्यताले खाडी मुलुकमा पुगेका युवाहरूको बारेमा चिन्तन गर्नुपर्ने तर्क गरे ।

शंकरपोखरीबासीहरुले वर्षौँदेखि भोग्दै आएको पानीको समस्याबारे आफूले थाहा पाएको भन्दै उनले नगरपालिकाका प्रमुख तिवारीलाई पानीका स्रोतको सुनिश्चितता गर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले स्व. तिवारी जनताको अधिकारको पक्षमा लड्दा लड्दै शहीद बनेको बताए । स
१९८७ सालको पुसमा जन्मिएका हरिदत्तको २०६० सालको माघ एक गते राति तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । माघे सङ्क्रान्तिको दिन घरका परिवारसँग बसिरहेको अवस्थामा घरमा प्रवेश गरेका उनीहरूले त्यहीँ खाना खाएर तिवारीसँग केही सोधपुछ रहेको भन्दै घरबाट लिएर गएका थिए ।

त्यो बेलामा नेपाली काँग्रेस पर्वतको क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका तिवारी घरबाट करिब पाँच सय मिटर टाढा रहेको जङ्गलमा लगेर राति करिब १० बजेको समयमा खुट्टा भाँचेर छाडेको अवस्थामा तिवारी भेटिएका थिए । कर्फ्युकैबीचमा पनि उपचारका लागि सदरमुकाम लैजाँदै गर्दा हालको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साइकल चोकमा पु¥याउँदा तिवारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->