बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्रोतसाधन अभावकैबीच छ महिनामा ५२ गर्भवतीको शल्यक्रिया

स्रोतसाधन अभावकैबीच छ महिनामा ५२ गर्भवतीको शल्यक्रिया


  • संजय रेग्मी
  • माघ २ २०८०, मंगलबार

पर्वत/ जिल्लाको सबैभन्दा ठुलो अस्पताल भनेको पर्वत अस्पताल नै हो । सदरमुकाम कुश्मामा रहेको यो अस्पतालको भवन संरचना निकै गज्जब बनेको भए पनि आवश्यक जनशक्तिको भने अभाव छ । तर, पनि जिल्लावासीहरूलाई सकेसम्म सेवा लिन बाहिर जान बाध्यता नपरोस् भनेर गर्भवतीको शल्यक्रिया समेत गर्ने गरिएको छ ।

अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्यायका अनुसार चालु आर्थिक वर्षको छ महिनामा मात्रै ५२ वटा शल्यक्रिया गरेर बच्चा जन्माइएको छ । चालु आर्थिक वर्षको साउनमा छवटा, भदौमा १३ वटा, असोजमा १४ वटा, कार्त्तितकमा तीनवटा, मङ्सिरमा नौवटा र पुसमा सातवटा गरी कुल ५२ वटा शल्यक्रिया भएका छन् ।

‘यी सबै शल्यक्रिया गरिएका आमा र बच्चाहरूको स्वास्थ्य अवस्था राम्रो रहेको छ’, सूचना अधिकारी आचार्यले भने, ‘हामीसँग आवश्यकता अनुसारको जनशक्ति छैन । शल्यक्रियाको लागि हुनुपर्ने प्रविधि, जनशक्तिलगायतका अभावकैबीच पनि हामीले धेरै संख्यामा शल्यक्रिया गरिरहेका छौँ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले पर्वत अस्पतालमा गर्ने गरिएका शल्यक्रियाहरू आकस्मिक खालका भएको बताए । चिकित्सकलाई मन लागेरभन्दा पनि आमा र बच्चाको स्वास्थ्यमा खतरा उत्पन्न नहोस् भन्नका लागि शल्यक्रियाहरू गरिएको उनको भनाइ छ । ‘गर्भवतीको ज्यान बचाउनको लागि स्रोत र साधनको अभावमा पनि हामीले यी शल्यक्रियाहरू पूरा गरेका छौँ । यसलाई कम्प्रीहेन्सीभ इमर्जेन्सी अब्स्टेट्रीक एन्ड न्यूबोर्न केयर भनिन्छ । हामीलाई मन लागेर यहाँ शल्यक्रिया हुँदैन, हामीले निकै सीमित स्रोत र साधनमा यहाँ शल्यक्रिया गरिरहेका छौँ,’उनले भने ।

अस्पतालमा शल्यक्रियाको लागि तीन जना चिकित्सकहरू रहेको भए पनि विज्ञको रूपमा मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोला मात्रै रहेका छन् । अस्पतालमा आकस्मिक अवस्थाका गर्भवतीहरूको शल्यक्रिया हुँदै आएको भए पनि एनेस्थेसियोलोजिस्ट र आइसियु नहुँदा शल्यक्रिया र त्यसपश्चात्को अवस्थाको लागि भने चुनौती रहेको डा. बास्तोलाले बताए । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले एनेस्थेसियाको तालिम गरेर आएपछि गर्भवतीको ढाडमा सुइ लगाएर आवश्यक परेको शरीरको भागलाई बेहोस बनाउने गरिएको छ । तर, एकै व्यक्तिलाई दोस्रोपटक पनि शल्यक्रिया गर्नुपर्ने भएमा एनेस्थेसियोलोजिस्ट र आईसीयु नै आवश्यक पर्ने डा. बास्तोलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->